संक्रमित नर्सको मार्मिक स्टाटस् भाइरल, कुन मुखले बाबालाई भनुँ....
“म र मेरो परिवार तिरस्कृत हुनु परेको छ”
काठमाडौं । देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।
संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी र उनीहरुकाे परिवारलाई समाजले तिरस्कार गर्दा थप मानसिक तनाव झेल्नुपरिरहेको छ । संक्रमित भएरभन्दा पनि समाजबाट अपहेलित हुनुपर्दा बिरामी हुनुपरेको पीडा छ स्वास्थ्यकर्मीलाई । समाजबाट हुने यस्ता घृणित गतिविधिले आफूहरुको मनोबल गिरिरहेको बारम्बार स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।
भरतपुरमा संक्रमित स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दोहोरिएको छ । चितवन, भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफू सहित परिवारले भोग्नुपरेको समस्या हेल्थपाटीलाई सुनाउनुभयो । हेल्थपाटीका लागि जगन्नाथ ढकालले थापासँग कुरा गर्नुभएको छ ।
संक्रमित थापाले भोग्नुपरेको समस्या उहाँकै शब्दमा :
म भरतपुरको सेन्ट्रल अस्पतालमा कार्यरत छु । यस अस्पतलामा आएका एक बिरामीलाई संक्रमण पुष्टि भएपछि हामी सबै स्वास्थ्यकर्मीको पीसीआर परीक्षण भयो । म लगायत ५ जनालाई संक्रमण पुष्टि भयो । मंगलबार कोरोना पुष्टि भएपछि हामी यही अस्पतालको आइसोलेसनमा छौँ । मेरो अवस्था सामान्य छ । औषधि समेत लिनुपर्दैन । तर अहिले मैले मानसिक तनाव खेपिरहेकी छु ।
जब मलाई कोरोना पुष्टि भयो, मेरो बाबा– ममीलाई छर–छिमेक तथा आफन्तले समेत गालीगलौज गरे । छोरीलाई किन अस्पताल पठाइस् भन्दै छरछिमेकले हप्कीदप्की गरिरहेका छन् । यतिमात्रै होइन अग्रस्थानमा खटिएका प्रहरीले समेत हामीलाई दुर्व्यवहार गरे । मेरो घरमा प्रहरी आएर उल्टै मेरा बाबा ममीलाई कराउनुभएछ । उनीहरुले त समाजलाई सम्झाउनुपर्ने होइन र ? हामी कहाँ छौ ?
म घर नगएको धेरै दिन भइसकेको थियो । मलाई संक्रमण पुष्टि भएपछि बाबा, ममी, भाइ र एक जना अर्को दाइ क्वारेन्टिनमा हुनुहुन्छ । दुर्व्यवहारका कारण मेरो बाबा ममीलाई खानेकुरा ल्याउन पुर्याउन कोही नभएपछि म कार्यरत अस्पतालका दाइहरुले आवश्यक सामान पुर्याइरहनु भएको छ । मैले सोचिरहेकी छु, सबैको प्रिय थियौँ हामी तर संक्रमित भएपछि किन यस्तो पराई भयौँ । घरमा नै बस्दा किन असुरिक्षत भयौँ ।
यसअघि पनि विभिन्न स्थानमा संक्रमितले यस्तै समस्या भोगेको खबरबाट डराउनुभएको मेरो बाबाले हामीलाई पनि त्यस्तै दिन आउनेछ भनेर मलाई अस्पतालको जागिर छोड भनेर दबाब दिनुहुन्थ्यो । तर मैले यस्तो विषम् परिस्थितिमा बिरामी र त्रासबाट भाग्न सक्दिन भनेर बिरामीको उपचार गरेँ र उनीहरुको उपचार गर्दा नै म संक्रमित भएँ । तर म र मेरो परिवार तिरस्कृत हुनु परेको छ । यो मैले र मेरो परिवारले मात्रै होइन अन्य संक्रमित र उनीहरुको परिवारले भोगिरहेको तितो यथार्थ हो ।
थापाको फेसवुक स्टाटस यस्तो थियो :
मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तर पनि मैले कुनै दिन जागिर छोड्ने मनशाय राखिन । म पछि हटेँ भने कसले सेवा गर्नेछ र मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाशकाे थुप्रोमा मेरो,तपाईंको कसै न कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केहि दिनदेखि घर जान छोडिदिएँ। कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।
घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलगाएको भनेर तनाव दिइरहेका छन् । वाह समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि ? आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ ? आइसोलेसनमा आफै बसेको छु तर पनि मानसिक तनाव किन ? म कुन मुखले बाबालाई भनुँ फेरि अस्पताल जान्छु भनेर ।
तपाईँको अभिमत