नारायणी अस्पतालका मेसू, नर्ससहित ३५० बढी स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
काठमाडौं । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र प्रदेश २ को वीरगञ्जमा रहेकाे नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिएका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको यस प्रदेशमा स्वास्थ्यकर्मीहरु पनि धेरै संक्रमित भएका छन् । नारायणी अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेकाे छ।
अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि डाक्टर, नर्ससहित ३ सय ५० भन्दा बढी कर्मचारीले सामुहिक राजीनामा दिएका हुन् । गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा स्थानियद्वारा आक्रमण भएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वास्थ्यकर्मीहरुले कुटपिट गर्नेलाई कारबाही हुनुपर्ने, आक्रमणपछि अस्पतालमा भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामुहिक राजीनामा बुझाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
अग्र स्थानमा खटिएका स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउनुपर्नेमा झनै आक्रमण गरि असुरक्षा पैदा गरेकाले काम गर्न नसक्ने स्थिति सृजना भयो र हामीले सामुहिक राजीनामा दिएका हौँ, उपाध्यायले भन्नुभयो । उहाँले यस्तो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरु ज्यानको बाजी थापेर संक्रमितको उपचारमा खटिरहनुभएकाे छ तरपनि उहाँहरुमाथि नै आक्रमण हुनु दुखद घटना हाे।
कुनै पनि डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी अन्तिम समयसम्म बिरामीको उपचारका लागि तल्लिन रहन्छन् बिना स्वार्थ अहोरात्र खटिन्छन् र पनि उनीहरुलाई पटक –पटक दुर्व्यवहार गरिन्छ उपाध्यायले भन्नुभयो, महामारीमा स्वास्थ्यकर्मीको मनोबल बढाउनु सबैको दायित्व हो ।
नारायणी अस्पतालकाे अस्थायी कोभिड अस्पतालसहित हालसम्म ११ सय भन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेको छ।
हेल्थपाटी
तपाईँको अभिमत