निजी अस्पताललाई कोरोना उपचार अनुमति, शुल्क कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचार गर्न निजी अस्पतालको लागि शुल्क तोकेको छ । मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्नका लागि सूचीकृत र सूचीकृतमा नपरेका दुबै खालको निजी अस्पतालमा अब उपचार गर्न पाइनेछ ।
प्रवक्ता प्रा.डा जागेश्वर गौतमले संक्रमित व्यक्ति र अस्पतालकोसमेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा सूचीकृत लेभल १, २ र ३ अस्पतालले प्रतिदिनको शुल्क तोकेको छ । जसअनुसार सामान्य लक्षण भएका संक्रमितसँग दैनिक ३ हजार ५ सय, मध्यम खालको अवस्था भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाका बिरामीका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै कोरोना उपचारका लागि सूचीकृत नभएका तर शंकास्पद बिरामीहरुको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा तोकिएको शुल्कमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको छ । न्यूनतम शुल्क ५ हजार ५ सय तोकिएको छ जसअनुसार सूचीकृत नभएका निजी अस्पतालले ६ हजार ५० रुपैयाँ भन्दा बढी लिन नपाउने गौतमले बताउनुभयो ।
यस्ता निजी अस्पतालमा संकलित नमुना मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका प्रयोगशाला र अस्पतालमा मात्रै परीक्षण गर्नुपर्नेछ । यसैगरी पीसीआर परीक्षणको अनुमति पाएका केही प्रयोगशालाहरुबाट मन्त्रालयले सार्वजनिक गर्नुअघि नतिजा बाहिर आउँदा संक्रमितहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नआउने समस्या भएकाले संक्रमितको व्यक्तिगत विवरण बाहिर नल्याउन आग्रह गर्दै गौतमले यदि यसो नगरे पीसीआर परीक्षणको स्विकृति खारेज हुने चेतावनी दिनुभयो ।
केही दिनयता भारतबाट आउनेको संख्यामा कमी आएको र अबका दिनमा आउनेहरु अनिवार्य नाकामा रहेको स्थानिय क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था भएको पनि गौतमले जानकारी दिनुभयो ।
आज देशभर २७४ जनालाई कोरोना पुष्टि भएपछि देशभर संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । हालसम्म ५२ कोरोना संक्रमितको मृत्यु भएको छ भने १४ हजार २४८ संक्रमित निको भएका छन् ।
तपाईँको अभिमत