अति पीडामा नर्सहरू, तर पनि किन चुप ?
काठमाडौं । नेपालमा नर्सहरू आफ्नो पेशागत क्षेत्रमा जुनसुकै बेला जोसुकैबाट पीडित हुने गरेको तथ्य धेरै पुरानाे हो। नर्सहरू आफ्नै सिनियर समकक्षी र डाक्टरबाट समेत हेपिनुपर्ने गुनासो गर्छन् । यसका साथै आफू कार्यरत स्वास्थ्य संस्थाले समयमा तलब नदिने र तलब सुविधा अतिकम पाउने अर्काे समस्या हो।
यी समस्यालाई बाहिर ल्याए रोजीरोटी खोसिने हो कि भन्ने डरले पीडा लुकाएर बस्न विवश भएको पीडित नर्सहरू दुखेसो गर्छन् । कोरोनाको महामारी सुरु भएयता नर्सका समस्या झनै बढेका छन् । कतिपय निजी अस्पतालले बिरामी छैन भनी नर्सहरूलाई घरमा नै बस्न लगाएका छन् भने मेडिकल कलेजहरूले नन कोभिड अन्तर्गत पर्ने भएकाले तलब दिन नसक्ने भन्दै महिनौदेखि नर्सलाई तलबबाट बञ्चित गराइएको पाइएको छ ।
सिनियरहरूबाट आफ्ना समस्या समाधान हुने आशामा बसिरहेका जुनियर नर्सहरू सिनियरबाट नै पीडित भइरहेको पत्तो समेत नपाउने गरेको एक पीडित नर्सले गुनासो गरिन् । हामी सिनियरहरूको भर पर्छाै तर कतिपय अवस्थामा हामी उहाँहरूबाट नै पीडित हुनुपरेको छ ।
देशभर केही मेडिकल कलेज, निजी अस्पतालहरूमा नेपाल नर्सिङ संघले गरेको अनुगमनबाट यस्तै तथ्य फेला परेको नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक रमेश सुब्बाले बताउनुभयो। कोरोना महामारी सुरुभएपछि देशका विभिन्न स्थानका मेडिकल कलेज र निजी अस्पताल गरी २८ स्वास्थ्य संस्थाको अनुगमन गर्दा नर्सहरू आफू पीडित भइरहेको नै थाहा नपाउने अवस्थामा रहेको पाइयो सुब्बाले भन्नुभयो।
नाम चलेका निजी अस्पतालमा मासिक ८ हजार ५ सय मात्रै तलब पाउँदासमेत उनीहरू केही भन्दैनन्, बोल्न डराउँछन् । उनीहरूलाई थाहा छैन आफ्नो समस्या कसलाई भन्ने ? यस्तो दयनीय अवस्थामा छ नेपालको नर्सिङ पेशा ।
उहाँका अनुसार २८ वटा स्वास्थ्य संस्थामध्ये करिव ८० प्रतिशत संस्थाका नर्सहरू पीडित भेटियो तर पनि उनीहरू चुपचाप बसिरहेका छन् ।
सुब्बाले कोरोना महामारी सुरुभएपछि नर्सलाई जागिरबाट निकालेको तथा तलब नदिएको केसहरू थुप्रै सुन्नमा आएपछि संघले आफ्ना समस्याबारे निवेदन दिन आह्वान गरे पनि जम्मा ४ वटा स्वास्थ्य संस्थाबाट मात्रै उजुरी आएको जानकारी दिनुभयो।
‘हामीलाई मानव अंग प्रत्यारोपण केन्द्र, बी एण्ड बी र २ मेडिकल कलेजका पीडित नर्सहरूबाट निवेदन आएकोमा सबैको समाधान प्रक्रिया अघि बढेको छ’ सुब्बाले भन्नुभयो, ‘समस्या बाहिर आए न समाधान हुने हो। पीडित नर्सहरूलाई आफ्ना समस्या खुलेर राखी निवेदन दिन उहाँले आग्रह गर्नुभयो।
अनुगमन गरिएका स्वास्थ्य संस्थाहरूमा नर्सको तलब न्यूनतम ८ हजार ५ सय र अधिकतम १३ हजार रहेको पाइएको उहाँले जानकारी दिनुभयो । कोरोना महामारी सुरु भए पनि नर्सको पेशागत सुरक्षाका लागि अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष सुब्बाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको थियो ।
हाल देशभर रहेको स्वास्थ्यकर्मीमध्ये ५१ प्रतिशत हिस्सा नर्सको रहे पनि सधै उपेक्षामा रहनुपर्ने बाध्यता रहेको भन्दै सुब्बाले आफ्नो हक हितका लागि निडर भएर लड्न प्रेरित गर्नुभयो । नेपाल नर्सिङ काउन्सिलमा मार्च १२ सम्म ९५ हजार ३६३ जना नर्स दर्ता छन् । जसमा स्टाफ नर्स ६० हजार ७९५, अनमी ३३ हजार ७२४ र विदेशी नर्स ८४४ सूचीकृत छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत