आजदेखि ४ दिनसम्म यो वर्षकै ठूलो वर्षा हुने, सर्तक रहन आग्रह

सिन्धुपाल्चोक ड्यामसाइड स्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले गएराति(असार २४ गते) कटान गरेको राजमार्ग । तस्बिर : अनन्त प्रकाश श्रेष्ठको फेसबुकबाट
काठमाडौं । आजदेखि ४ दिनसम्म यो वर्षकू ठूलो वर्षा हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले असार २५ गतेदेखि असार २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको जानकारी दिएको छ ।
प्राधिकरणले विज्ञप्ति निकालेर यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेको सन्दर्भमा यो भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाएकाले सर्तक रहन सबैलाई आग्रह गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । खासगरि १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुपा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकाले बेलैमा सचेत रहन भनिएको छ ।
ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं. ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ मा फोन गर्न सकिने जानकारी प्राधिकरणले दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत