नेपालमा कोरोनाबाट ३४ जनाकाे मृत्यु, काे-कहाँ ? (विवरणसहित)

प्रतिकारात्मक तस्बिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सम्म नेपालमा कुल कोरोना संक्रमितकाे संख्या १५ हजार ४९१ पुगेको छ । ३४ जना संक्रमित को मृत्यु भइसकेको छ । जसमा २७ पुरुष, ५ महिला, एक २ वर्षे बालिका र एक ४९ दिने शिशु रहेका छन् ।
हालसम्म नेपालमा मृत्यु भएका संक्रमितहरुको विवरण यसप्रकार छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ३४ जनाकाे विवरण
१. सिन्धुपाल्चोक राम्चेकी १० दिने सुत्केरी २९ वर्षीया महिला । जेठ २ गते उहाँको मृत्यु भएकोमा जेठ ३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
२. वैशाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरमा २५ वर्षिय युवकको जेठ ४ गते मृत्यु भयो । उहाँको पनि मृत्यु पश्चात नै कोरोना पुष्टि भएको थियो ।
३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भएको थियो । उहाँलाई जन्डिसको समस्या पनि थियो ।
४. जेठ १२ गते मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि भएको थियो । मृतकको उमेर ७० वर्ष थियो क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भएका बाराका ती बृद्दको जेठ ४ गते मृत्यु भएको थियो ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको थियो । १२ जेठ १२ गते किष्ट अस्पताल भर्ना भएकोमा मृत्यु भएको भोलिपल्ट उहाँमा कोरोना पुष्टि भएको थियो ।
६. भारतबाट फर्किदै गर्दा जेठ १० गते बाटैमा मृत्यु भएका अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुषलाई मृत्यु भएको ६ दिनपछि कोरोना पुष्टि भयो ।
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । उहाँको पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब परीक्षण गर्दा जेठ १७ गते कोरोना पुष्टि भएको थियो ।
८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेककी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो । जेठ १० गते बालिकाको आमा बाबुसहित भारतबाट नेपाल आएका थिए ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, जेठ १३ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरेपछि जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उहाँको जेठ २१ गते शिक्षण अस्पतालको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएकोमा उपचारका क्रममा उहाँको जेठ २० गते मृत्यु भएको थियो तर कोरोना पुष्टि भने जेठ २२ गते भयो ।
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेको र कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा जेठ २३ गते कोरोना पुष्टि भयो ।
१२. डोल्पाका जगदुल्ला गाउँपालिका ३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्य भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भयो ।
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौलाको समस्या भएकी उहाँकी सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो । तर जेठ २४ गते मात्रै कोरोना पुष्टि भयो ।
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । उहाँको मृत्यु पछि जेठ २६ गते कोरोना पुष्टि भएको थियो ।
१५. चितवन भरतपुर ११ का पुरुषको जेठ २७ गते मृत्यु भयो । निमोनियाको समस्या रहेको उहाँलाई जेठ २६ गते कोरोना संक्रमण भएको पत्ता लागेको थियो ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २८ गते मृत्यु भयो । जेठ १६ गते मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको अवस्थामा स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा मृत्यु भएको थियो । जेठ २९ गते संक्रमण पुष्टि भयो ।
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसे लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएको थियो र उहाँलाई आइशोलेशनमा राखी उपचार गरिएको थियो । पीसीआर परीक्षण गर्दा जेठ ३० गते कोरोना पोजेटिभ भएको । प्रयोगशालाको नतिजा नआउँदै जेठ ३० गते नै मृत्यु भएको थियो ।
१९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गामा आइशोलेशनमा जेठ ३१ गते मृत्यु भएको थियो । भारतबाट फर्किएपछि आइशोलेशनमा रहनुभएको थियो ।
२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भयो । फोक्सो, मृगौला र प्यारालाइसिलकी समस्या थियो । कोरोना पुष्टि भने असार ३ गते भएको थियो ।
२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष । सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको । धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो ।
२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको । असार २ गते शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको असार ३ गते कोरोनाको पुष्टि भएको थियो ।
२३. गुल्मीका छत्रकोट गाउँपालिका ५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएकोमा जेठ २५ मा स्वदेश फर्किई होम क्वारेन्टाइनमा बसिरहेको अवस्थामा असार ५ गते मृत्यु भएको थियो । सोही दिन नमूना संकलन गरी पठाइएको असार ६ गते कोरोना पुष्टि भयो ।
२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भयो । क्षयरोग तथा दमको बिरामी रहनुभएका उहाँ असार ३ गते अस्पताल भर्ना हुनुभएको थियो ।
२५. स्याङ्जाको आँधीखोलाका किराना पसल गर्दै आएका घर भएका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भयो । ज्वरो आएपछि असार ७ गते फेवा सिटी अस्पतालमा लगिएकोमा कोरोना शंका लागी उपचार गर्न नमानेपछि गण्डकी अस्पताल लगिएको थियो । असार ८ गते कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा १० गते मृत्यु भएको थियो । असार ११ गते कोरोनाको पुष्टि भयो ।
२६. ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएका चितवनका ४९ वर्षका पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भयो । उहाँलाई कोरोनाको पुष्टि मृत्यु अगावै भएको थियो ।
२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भयो । असार १२ गते नतिजा पोजेटिभ आएको थियो ।
२८. कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उहाँको असार १३ गते मृत्यु भयो । फोक्सोको क्यान्सरको उपचार गर्दै आएका उहाँ भारतबाट फर्कनुभएको थियो र असार ११ गते नै कोरोना पुष्टि भएको थियो ।
२९. रौतहटका ३० वर्षीय पुरुष । असार १३ गते स्वासप्रस्वासमा कठिनाई भएपछि स्टार हस्पिटल सानेपामा उपचारका लागि लगिएको थियो । उहाँलाई कहिकतै उपचार गर्न नमानेपछि अन्तिममा स्टार अस्पताल पुग्नुभएको थियो तर अस्पताल पुगि उपचार सुरु भएको १० मिनेटमा नै उहाँको मृत्यु भएको थियो । असार १४ गते कोरोना पुष्टि भयो ।
३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो । मृत्यु हुनु अघिल्लो दिन स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । मधुमेहको विरामी उहाँको मृत्युपछि नमुना परीक्षण गरेपछि १६ असारमा कोरोना संक्रमण पुष्टि ।
३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका ४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भयो । सोही अस्पतलामा जन्मिएका शिशुमा सुरुदेखिनै विभिन्न समस्या भएका कारण ४९ दिनदेखि अस्पतलामा थिए । शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो ।
३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका विरामी रहेका ८५ वर्षीय बृद्दको असार १७ गते मृत्यु भयो । छातिको समस्या हुनुका साथै पिसाब कम भई ह््याम्स अस्पतालमा उपचारका लागि लगिएको थियो । असार १९ गते कोरोना पुष्टि भएको जानकारी दिइएको थियो ।
३३. गोरखा पालुङटार ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो । असार १९ गते कोरोना पुष्टि भएको थियो । उहाँलाई कतारबाट नेपाल फर्कि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो ।
३४. रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । असार १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका उहाँको असार १७ गते मृत्यु भयो । उहाँ क्षयरोगको बिरामी हुनुहन्थ्यो । असार २० गते कोरोना पुष्टि भएको थियो ।
तुलसा घिमिरे
तपाईँको अभिमत