काठमाडौं उपत्यकाका अस्पताल 'कोरोना केन्द्र' बन्दै
समुदायमा फैलने खतरा
काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा देखिएका कोरोना संक्रमितहरुको विवरण हेर्दा काठमाडौंका अस्पतालहरु कोरोनाको केन्द्र बन्ने सम्भावना देखिएको छ । पछिल्ला केही दिनमा मात्रै काठमाडौं उपत्यकाका ११ अस्पतालमा कोरोना संक्रमित देखिएका छन् । अस्पतालमा उपचारत बिरामी र अस्पतालका स्वास्थ्यकमीहरुमा कोरोना संक्रमण देखिएको हो ।
-ललितपुर भैंसेपाटी मेडिसिटी अस्पतालमा उपचारत एक बालकमा यही असार १६ गते कोरोना संक्रमण रहेको पुष्टि भयो।
-बयोधा अस्पताल बल्खुका कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको १८ गते पुष्टि भयो ।
-नेपाल क्यान्सर अस्पताल ललतिपुर हातिवनमा एक नर्स र एक बिरामीमा १७ गते
-अल्का अस्पताल जावलाखेलमा २ नर्समा १७ गते कोरोना पुष्टि भएको थियो
-सैनिक अस्पताल छाउनीमा उपचाररत ३ बिरामीमा कोरोना संक्रमण रहेको १८ गते पुष्टि भयो तीनै जना अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
-काठमाडौं मण्डिखाटारस्थित ह्याम्स अस्पतालका २ जना स्वास्थ्यकर्मी र एक जना बिरामीमा १८ गते कोरोना पुष्टि भयो।
-त्रिवि शिक्षण अस्पतालमा खुट्टा भाँचिएर आएका बिरामीमा कोरोना संक्रमण रहेको पुष्टि भयो १८ गते
- महाराजगन्जस्थित मनमहोहन कार्डियो सेन्टरमा मुटुको समस्या भइ सर्जरी गर्न आएकी हेटौंडाकी एक महिला १८ गते कोरोना रहेको पुष्टि भयो।
-नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा पनि १७ गते कोरोना रहेको पुष्टि भएको छ ।
-राजधानी अस्पताल, बल्खुमा काठमाडौं बाहिरबाट आएका एक बिरामीमा कोरोना देखिएको छ ।
-काठमाडौं मेडिकल कलेज, अस्पताल सिनामंगलमा सुत्केरी भएकी एक महिलामा पनि कोरोना संक्रमण रहेको १८ गते पुष्टि भएको छ ।
बुधबार मात्रै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित शिशुको मृत्यु भयो । त्यसै अस्पतालमा जन्मिएका र ४५ दिनसम्म अस्पतालमै रहेका शिशुमा अस्पतालबाटै कोरोना सरेको देखिन्छ । उपचारका लागि तथा शल्याक्रियाका लागि आवश्यक भएका बिरामीको पीसीआर परीक्षण गरिने गरेको छ । अनि कोरोनासँग मिल्दा लक्षण देखिएमा वा कोरोना संक्रमणको जोखिम रहेका शंकास्पदको पनि परीक्षण गरिन्छ । हरेकदिन अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण देखिँदा काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत अन्य बिरामीमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने र त्यसबाट समुदाय स्तरमासमेत पुगेको आशंका उब्जिएको छ ।
देशकै कोरोना प्रभावित क्षेत्रबाट उपचारका लागि उपत्यकामा बिरामीहरु आएको र विदेशबाट आएकाहरुको परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे जानकारी दिनुभयो ।‘अहिले नै राजधानीमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न मिल्दैन पछिल्ला दिनमा विदेशबाट पनि धेरै आउनु भएको छ’ पाण्डेले भन्नुभयो‘उहाँहरुको परीक्षण गरिएकाले पनि राजधानीमा धेरै संक्रमित देखिएका हुन।’ काठमाडौं उपत्यकामा संक्रमण जोखिम भने धेरै बढेको उहाँ बताउनुहुन्छ ।
उपत्यकाको कोरोना संक्रमित देखिएका शंकास्पद १० स्थानका स्थानीयको पीसीआर परीक्षणको तयारी भइरहेको पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्ला ४ दिनमा मात्रै काठमाडौं, ललितपुर र भक्तपुरमा ७१ जना कोरोना संक्रमित देखिएका छन् । अहिले काठमाडौं उपत्यकाका अस्पतालका आइसोलेसनमा करिब १५० कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । लकडाउन खुकुलो पारिएकाले शहरका पसल, कार्यालय, व्यवसायहरु सञ्चालनमा आएका छन् । सवारी चाप र भीडभाड बढिरहेको छ । यसले पनि उपत्यकामा संक्रमण फैलने खतरा बढ्दै गएको देखिन्छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत