सेनाले खरिद गरेको ‘पीसीआर किट’माग गरेभन्दा फरक
काठमाडौं । नेपाली सेनाले चीन सरकारको स्वामित्व रहेको चाइना सिनोफार्मसँग खरिद गरेको ‘पीसीआर किट’ का सबै सेट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले माग गरेभन्दा फरक पाइएको छ । एनपीएचएलले सेनालाई सामान खरिद गर्न उपलब्ध गराएको विवरण र सेनाले सिनोफार्मबाट प्राप्त गरेको सामग्रीबीच भिन्नता देखिएको हो ।
सेनाले भने आफूले स्वास्थ्य मन्त्रालय र सीसीएमसीले तयार पारेको राष्ट्रिय आवश्यकताको सूचीअनुसारकै सामान खरिद गरेको बताएको छ । मन्त्रालयकै स्पेसिफिकेसनअनुसार खरिद गरेको र आएपछि पनि उसैलाई प्रमाणित गराइएको सेनाको दाबी छ । सेनाले वैशाख १ मा स्वास्थ्य मन्त्रालयमार्फत एनपीएचएललाई पीसीआर ल्याबमा कस्तो सामान चाहिन्छ भनेर पत्र पठाएको थियो । एनपीएचएलले वैशाख २ मा पठाएको जवाफमा पीसीआर रिएजेन्ट, न्युक्लिक एसिड एक्स्ट्रयाक्सन किट र भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) कस्तो प्रकारको चाहिन्छ भनेर लेखिएको थियो ।
प्रयोगशालाले सेनालाई पठाएको पत्रअनुसार कोरोना भाइरसको पीसीआर परीक्षणका लागि प्रयोग हुने सामग्री ‘ओपन सिस्टम’ का (जुनसुकै पीसीआर किटमा प्रयोग हुने रिएजेन्ट, एक्स्ट्रयाक्सन किट र भीटीएम) माग गरेको देखिन्छ । तर, चीनबाट सेनाले खरिद गरेको पीसीआर किट भने पीसीआर रिएजेन्टबाहेक अन्य दुई ‘स्याम्पल रिलिज रिएजेन्ट’ (आरएनए एक्स्ट्रयाक्सन) र ‘स्याम्पल स्टोरेज रिएजेन्ट’ (भीटीएम) ‘क्लोज्ड सिस्टम’ (एउटै कम्पनीको भीटीएम र आरएनए एक्स्ट्रयाक्सन एउटै कम्पनीको भए मात्रै काम गर्ने) परेपछि विवाद भएको हो ।
त्यस्तै एनपीएचएलले स्वाब संकलन गर्न प्रयोग हुने भीटीएम २ देखि ३ एमएलको माग गरेकामा सेनाले ल्याएको १५ हजारभन्दा बढी भीटीएम १ एमएलका छन् । सेनाले पीसीआर किट, रिएजेन्ट र भीटीएम २८ हजार ३ सय ८५ सेट ल्याएको छ । ५ लाख २५ हजार १ सय २२ अमेरिकी डलर (करिब ६ करोड ४० लाख ६४ हजार रुपैयाँ) मा खरिद गरिएका यी सामग्रीमा समस्या आएपछि प्रयोगशालाहरूले प्रयोग गर्न छाडेका छन् ।
एनपीएचएलले सेनालाई लेखेको पत्रमा पीसीआर रिएजेन्ट किट कुनै पनि प्रकारको मेसिनमा प्रयोग गर्न मिल्ने, न्युक्लिक एसिड (आरएनए) एक्स्ट्रयाक्सन किट कुनै पनि प्रकारको भीटीएम प्रयोग गरेर संकलन गरिएको नमुनाबाट ‘म्यानुअली’ आरएनए निकाल्न मिल्ने खालको हुनुपर्ने उल्लेख थियो । भीटीएम भने २ देखि ३ एमएलको हुनुका साथै त्यसबाट सजिलै आरएनए निकाल्न मिल्ने हुनुपर्ने पत्रमा भनिएको थियो ।
तर, सेनाले विवरण उपलब्ध गराएपछि सिनोफार्मले बिक्री गरेको सानसियोर बायोटेक कम्पनीको पीसीआर रिएजेन्ट किट जुनसुकै मेसिनमा प्रयोग गर्न मिल्ने भए पनि न्युक्लिक एसिड एक्स्ट्रयाक्सन किट र भीटीएम भने सानसियोरकै प्रयोग गर्नुपर्ने बाध्यता छ । जसलाई चिकित्सकीय भाषामा ‘क्लोज्ड सिस्टम किट’ भन्ने गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाका अनुसार पनि सेनाले ल्याएर दिएको पीसीआर किट सबै मेसिनमा लाग्छ तर स्याम्पल रिलिज रिएजेन्ट र स्याम्पल स्टोरेज रिएजेन्ट भने सोही कम्पनीकै हुनु अनिवार्य छ । ‘यसअघि पनि हामीलाई यही कम्पनीको पीसीआर किट आएको थियो । जुन अहिले पनि प्रयोग गरिरहेका छौं । एक्स्ट्रयाक्सन किटले चाहिँ सनसियोरकै भीटीएममा स्वाब संकलन गरेको छ भने मात्रै आरएनए निकाल्छ,’ उहाँले भन्नुभयाे ।
चीन सरकारले अनुदान दिएको ३० हजार पीसीआर किटको सेट पनि सेनाले ल्याएकै सानसियोर कम्पनीकै भएको डा. झाले बताउनुभयाे । ‘भीटीएम, रिएजेन्ट र पीसीआर किटको सेट नै चलाउनुपर्ने भएकाले हामीले त्यो सामान प्रयोगमा ल्याउन सकेनौं,’ उहाँले भन्नुभयाे, ‘हामीले अनुदानको सामान पाएका बेला स्थानीय तह र प्रदेश आफैंले फरक कम्पनीको भीटीएम किनेर स्वाब संकलन गरेकाले अनुदानमा प्राप्त समान प्रयोगमा ल्याउन सकेनौं । सेनाले पनि उस्तै प्रकृतिको सामान ल्याएपछि समस्या देखिएको हो ।’
सेनाले ल्याएको किटमा के फरक छ ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग गरेको र सेनाले ल्याएको पीसीआर किटको भिन्नताबारे जान्न पहिला त सामान्यतया पीसीआर परीक्षण कसरी हुन्छ भनेर थाहा पाउनुपर्ने हुन्छ । पीसीआर परीक्षणका लागि सबैभन्दा पहिला शंकास्पद व्यक्तिको नाकबाट स्वाब (टुप्पोमा कपास भएको प्लास्टिकको सिन्का) लाई घाँटीसम्म पुर्याएर नमुना संकलन गरिन्छ ।
त्यसलाई भीटीएममा राखिन्छ । यसरी भीटीएममा राख्नुको कारण संकलित भाइरसको नमुना क्षय नहोस् भनेर हो । उक्त भीटीएममा केही रासायनिक तत्त्व राखिएको हुन्छ, जसले भाइरसको नमुनालाई जस्ताको त्यस्तै राख्छ । यसरी संकलन गरिएको भीटीएमलाई प्रयोगशालामा लगिन्छ र केही रासायनिक प्रक्रिया अपनाएर आरएनए एक्सट्रयाक्टरबाट आरएनए निकालिन्छ ।
निकालिएको आरएनएमा पीसीआर रिएजेन्ट मिक्सर राखेर पीसीआर मेसिनमा राखिन्छ । मेसिनमा राखिएको नमुना संख्यात्मक रूपमा वृद्धि हुँदै गएपछि त्यसमा कोरोना भाइरसको विभिन्न प्रकारका जीन छन् या छैनन् भनेर हेरिन्छ । त्यसको परिणाम ग्राफमा आउँछ । जसका आधारमा संक्रमण छ या छैन भनेर यकिन हुन्छ । मोलिक्युलर प्रयोगशालाका विज्ञ चिकित्सकका अनुसार सेनाले ल्याएको पीसीआर परीक्षण सेटको विवाद बुझ्न पहिला त भीटीएमबाट सुरु गर्नुपर्छ ।
नेपालमा नमुना संकलन गर्न प्राय: ३ एमएलको भीटीएम प्रयोग हुन्छ । त्यसमा पनि सेनाले ल्याएको भीटीएममा रहेको रसायन अन्य भीटीएममा हुनेभन्दा केही फरक छ । जसका कारण त्यसमा रहेको भाइरसको आरएनए निकाल्न सानसियोर कम्पनीकै ‘स्याम्पल रिलिज रिएजेन्ट’ प्रयोग गर्नुपर्ने हुन्छ । कम्पनीले उपलब्ध गराएको क्याटलगअनुसार नमुना संकलन गरिएको भीटीएमबाट परीक्षणका लागि नमुना लिई त्यसमा स्याम्पल रिलिज रिएजेन्ट राखेर लगभग २० मिनेट सेन्ट्रीफ्युज (घुमाउने) मेसिनमा राखेपछि उक्त ट्युबमाथि एउटा तह बन्छ, जुन आरएनए हो ।
स्पेसिफिकेसन नै नमिले पनि सेनाले किन लियो ?
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. झाले दिएकै पीसीआर परीक्षण सेटको विवरण चिनियाँ कम्पनीलाई उपलब्ध गराएर सामान माग गरिएको हो । ‘हामीले प्राप्त गरेको स्पेसिफिकेसन उता फरवार्ड गरिदियौं । सानसियोर बायोटेक कम्पनीको पीसीआर किटको सम्पूर्ण सेट आयो,’ उहाँले भन्नुभयाे, ‘यो सेट प्राप्त भएपछि हामीले डा. झालाई नै बोलाएर प्रमाणित गर्न भन्यौं । उहाँले पीसीआर परीक्षणमा प्रयोग हुने सामग्री भनेर प्रमाणित गरिदिनुभयो । त्यसपछि मात्रै हामीले यसलाई स्वीकार गरेका हौं ।’ ती सामग्री ठीक नभएको भनेर जानकारी दिइएको भए ५ दिनभित्र फिर्ता गर्न सकिने अवस्था रहेको समेत प्रवक्ता पाण्डेले बताउनुभयाे ।
सेनाले हवाईमार्ग हुँदै दोस्रो लटमा चीनबाट पीसीआर सेट ल्याएपछि गुणस्तर परीक्षण गर्न आफूलाई बोलाएको डा. झाले बताउनुभयाे। उहाँले सेनाको परीक्षण प्रतिवेदनमा उक्त सामग्री ‘पीसीआरमा प्रयोग गर्न मिल्ने भनेर’ मात्रै प्रमाणित गरिदिएको जानकारी दिनुभयाे । ‘मैले ती किट उपयुक्त छन्/छैनन् भनेर लेखेकै छैन । केबल पीसीआरमा काम लाग्छ भनेर हस्ताक्षर गरेकी छु,’ उहाँले भन्नुभयाे, ‘हामीले मागेजस्तो किटचाहिँ छैन । भीटीएम १ एमएलको छ । त्यसले खासै असर गर्दैन । किनभने स्वाब थोरै भए पनि पुग्छ । कल्चर गर्नुपर्ने होइन । यी सबै सामान कामै नलाग्ने होइनन् । तर, प्रयोग गर्दा पूरै सेट नै चाहिन्छ ।’
कान्तिपुरबाट
तपाईँको अभिमत