थापाथली अस्पतालमा २६ बर्षे महिलाले जन्माइन् तिम्ल्याहा शिशु
२८ दिनपछि डिस्चार्ज

सात दिनको भेन्टिलेटरको उपचार सफल भएपछि दुई शिशुलाई सुपरीवेक्षण विशेष वार्डमा सारीयो
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा २६ वर्षकी महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । धादिङकी २६ वर्षकी सबिता तामाङले तिन छोरी जन्माएकी हुन् । तामाङको यो पहिलो डेलिभरी हो । गर्भ रहेको ३५ हप्ता एक दिन (२४६) का दिन सिजेरीयन विधिबाट जन्माइएका तीन शिशु नै स्वस्थ रहेका छन् ।
सबिता तामाङले बैशाख २० गते राती १० बजेर ५४ मिनेटमा पहिलो शिशु, १०:५५ मा दोस्रो १० : ५६ मा तेस्रो शिशु जन्माएकी थिइन् । पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो । पहिलो र दोस्रो शिशुको फोक्सो पूर्णरुपमा विकास नभएकाले उनीहरुलाई जन्मने बित्तिकै सास फेर्न गाहे भयो । एनआइसीयूमा भर्ना गरियो ।
जन्मेको २८ दिनभित्रको गम्भिर अवस्थाका शिशुलाई एनआइसीयूमा राखी उपचार गरिन्छ । ती दुई शिशुलाई एक हप्तासम्म भेन्टिलेटरमा राखी उपचार गरियो । भेन्टिलेटरमा छँदा सात दिनसम्म उनीहरुलाई एन्टीबायोटिक तथा क्रिटिकल आइसीयू औषधि औषधिहरु चढाइयो ।
जन्मिएको सात दिनसम्म शिशुलाई नसाबाट पोषण तत्व दिइयो त्यसपछि शिशुको तौल अनुसार पेटमा पाईप जोडी मुखबाट आमाको दुध खुवाइयो । सात दिनको भेन्टिलेटरको उपचार सफल भएपछि दुई शिशुलाई सुपरीवेक्षण विशेष वार्डमा सारीयो । उक्त वार्डमा सारीएपछि ती शिशुहरुलाई प्रत्येक २÷२ घण्टामा आमाको दुध खुवाईयो ।
पहिलो र दोस्रोको तुलनामा तौल बढी भएको र स्वास्थ्यमा कुनै समस्या नभएपछि तेस्रो शिशुलाई भने सुरुदेखि नै सुपरीवेक्षण वार्डमा राखी हेरचाह गरिएको थियो । उसलाई ७ दिनपछि नै आमासंगै राखी नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८ औं दिनमा आमाको साथमा राखियो ।
तौल कम भएका र सास फेर्न अप्ठेरो भई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुका फोक्सो लगायत अन्य अंगहरु विकास हुँदै गई स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि प्रसूती अस्पतालले शिशु जन्मिएको २८ औं दिन अर्थात् आजै डिस्चार्ज गरेको छ । तिनै जना शिशु आमाको दुध राम्रोसंग चुस्न सक्ने भएका छन् ।
शिशुहरुको तौल बढेर पहिलो शिशुको तौल १२४५ ग्राम,दोस्रोको १३१५ ग्राम र तेस्रो शिशुको तौल १९५० ग्राम पुग्यो । २८ दिनसम्म अस्पतलमा राखी आमा र शिशुको उपचार र हेरचाह गरेका डाक्टर, नर्स स्वास्थ्यकर्मी सरसफाईकर्मी सहित हामी सबै आमा र शिशुलाई स्वस्थ बनाइ घर पठाउन पाउँदा निकै खुशी भएका छौं ।
निर्देशक प्रा.डा जागेश्वर गौतम
परोपकार प्रसुती अस्पताल नेपालमा नै धेरै प्रसुती हुने अस्पताल हो । धेरै सुत्केरी गराउने अस्पतालमध्ये यो विश्वमा पाँचौं स्थानमा पर्दछ । यस अस्पतालमा वार्षिक २२ हजार भन्दा बढी सुत्केरी हुने गर्छन् । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमका अनुसार यो अस्पतालमा वार्षिक ५ देखि ७ जना गर्भवतीले तिम्ल्याहा शिशु जन्माउँछन् । गर्भमा एक भन्दा बढी शिशु भएमा समय अगावै जन्माइन्छ । एक शिशु हुँदा साधारणतया ४० हप्तामा जन्मन्छन् भने जुम्ल्याहा ३७ र तिन ÷चार शिशु हँदा ३४ देखि ३५ हप्तामा नै जन्माइन्छ । समय अगावै जन्मने भएकाले शिशुहरु कम तौलका हुन्छन् त्यसैले उनीहरुलाई विशेष उपचार र हेरचाह चाहिन्छ ।
जोखिमको सम्भावना उच्च हुन्छ
गर्भमा एक भन्दा धेरै शिशु हुँदा गर्भपतन हुने सम्भावना अधिक हुन्छ भने आमाको रक्तचाप बढ्न जान्छ । तिम्ल्याहा शिशु सिजेरियन मार्फत जन्माइने भएकाले रक्तस्रावको सम्भावना पनि उत्तिकै हुन्छ । यसको मतलव आमा र शिशुको अवस्था जटिल भई उनीहरुको मृत्यु समेत हुन सक्छ । त्यसैले गर्भ छदाँ देखिनै आमाले विशेष ख्याल गर्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ । एक भन्दा धेरै शिशु गर्भमा हुने आमालाई रक्तअल्पता हुनसक्ने भएकाले अगाडि देखिनै आइरन र क्याल्सियम औषधि खानुपर्छ शिशु जन्मिएपछि सरसफाइदेखि खानपान तथा आराममा ध्यान दिनुपर्दछ ।
बिरलै हुने तिम्ल्याहा जन्म त्यसमा पनि सबै शिशु स्वस्थ बनाई आमाको जिम्मा लगाउन पाउँदा स्वास्थ्यकर्मीहरुलाई संसार नै जितेको महसुस भएको छ । एनआइसीयूमा शिशुको हेरचाह गरेकी अस्पतालका एक जना नर्स सुजाता गीरि रोकायाकाको अनुभव यस्तो रह्यो ।
सुजाता गीरि रोकाया (एनआइसीयू नर्स)
मैले प्रसूती अस्पतालमा एनआइसीयू वार्डमा शिशुहरुको हेरचाह गर्न थालेको २ वर्ष पुरा भयो । भनिन्छ नि बच्चा र फुलमा निःस्वार्थ माया हुन्छ । मलाई बच्चा एकदमै मनपर्छ । अरु मानिसलाई बच्चा रोएमा दिक्क लागेको जस्तो व्यवहार देखाउछन् तर मलाई चाँही वार्डमा बच्चा रोएनन् भने उनीहरुलाई केही भयो कि जस्तो लाग्छ । घरीघरी बच्चाको नजिक जान मन लाग्छ । बच्चाहरुको त्यो कोमल अनुहार हेर्दा म सबै तनावलाई भुल्छु ।
मेरो पहिलो अनुभव
२ वर्षको बीचमा मैले जुल्ल्याहा धेरै शिशुहरुको हेरचाह गरेँ । जसमा केही शिशुलाई बचाउन सकिदैन थियो । आमाको रोदनले मन बिछिप्त बनाउथ्यो । तर तिम्ल्याहा शिशुको हेरचाहको अनुभव यो मेरो पहिलो हो । भेन्टिलेटरमा अक्सिजन दिई राखिएका शिशुलाई स्वस्थ अवस्थामा डिस्चार्ज गर्न पाउँदा त आज मेरो भुँइमा खुट्टो छैन । यति धेरै खुशी लागिरहेको छ कि म यसलाई शब्दमा बर्णन गर्न सक्दिन । मेरो आँखामा झलझली ती शिशुहरु आइरहन्छन् । उपचारमा संलग्न हामी सबै टिम हर्षित छौं ।
तपाईँको अभिमत