कोरोना पत्ता लगाउन खटिने हामीलाई ‘फ्रन्टलाइनर’ भनेर कसैले चिन्दैन
२४ सै घण्टा काम गर्नु पर्यो,बिरामीको संख्या कहिले ६०, कहिले १०० पुग्न थाले तर कुनै पनि दिन मलाई रिस उठेन, दिक्दारी लागेन
हामी प्रयोगशालाकर्मीको काम निरन्तर भइरहेको थियो । यसै क्रममा कोरोना भाइरस रोग (कोभिड– १९) ले संसारलाई नै त्रसित बनाउन थाल्यो । सबै क्षेत्र, वर्ग, समुदायलाई संसारभर यो महामारीले छुन लागेका बेला भक्तपुर अस्पतालमा प्रयोगशालाको नेतृत्व कसले लिएर महामारीविरुद्ध अघि बढ्ने भन्ने प्रश्न उठ्न थाल्यो ।
सबै सहकर्मीबाट आ–आफ्नो तर्क आयो । यस विषम परिस्थितिमा राष्ट्रका लागि जनताका लागि अनि बिरामीका लागि अगाडि बढेर आफ्नो स्थान, क्षेत्रबाट योगदान दिनुपर्छ भन्ने तर्क मेरो थियो । त्यसपछि सुरु भयो मेरो फोकल पर्सनको जिम्मेवारी ।
बिहानीको झिसमिस, घर, पानी, साँझ ,अधेँरी ,नयाँवर्ष, सार्वजनिक विदा, शनिबार, केहीले पनि मलाई काम गर्न रोकेन । २४ सै घण्टा काम गर्नु पर्यो,बिरामीको संख्या कहिले ६०, कहिले १०० पुग्न थाले तर कुनै पनि दिन मलाई रिस उठेन, दिक्दारी लागेन । निरन्तर लडिरहेँ, डटिरहेँ । चैत महिनाबाट सुरु भएको कोरोनाविरुद्धको मेरो यस यात्रा आजका दिनसम्म निरन्तर जारी छ ।
मेरो मन भारी हुन्छ जब पत्र–पत्रिका, टेलिभिजन, अनलाइनसहित विभिन्न सञ्चार माध्यममा डाक्टर, नर्स सुरक्षाकर्मी आदिलाई फ्रन्टलाइनर भनेर उपनाम दिइन्छ
अन्य स्वास्थ्यकर्मी साथीले २ मिटर टाढा रही बिरामीलाई सोधपुछ गरिरहँदा म भने बिरामीको हात र शीरमा स्पर्श गर्दै नजिकैबाट नाँक र घाँटी भित्रबाट र्याल(स्वाब) निकालिरहेको हुन्छु । बिरामीको स्वाब लिनेमा मात्र सीमित नभई बिरामीको विस्तृत विवरण, दर्ता, स्याम्पल लेबलिङ गरी भण्डारण गर्ने र ल्याबसम्म लिएर आउन र मैले गहन र विशेष भूमिका निर्वाह गर्नुपर्दछ ।
अन्य आवश्यक सामग्रीजस्तै टेस्टिङ किट, भिटिएम आदि के–कति छन् चेकजाँच गरी आवश्यक पर्दा मगाउने, हरेक बिरामीलाई फोन गरी कोरोना रिपोर्ट जानकारी गराउने, कन्ट्याक्ट ट्रेसिङमा विभिन्न समुदाय स्तरमा जाने र स्वाब संकलन गर्ने मेरा असीमित जिम्मेवारीहरु आजका दिनमा पनि उत्तिकै छन् ।
म यी सबै जिम्मेवारी पाएकोमा निकै खुसी छु । यो मेरा लागि ठूलो अवसर भन्ने ठानेको छु । मैले धेरै व्यक्तिको सेवा गर्न पाइरहेको छु । तर चुनौती पनि थुप्रै छन् । मेरो मन भारी हुन्छ जब पत्र–पत्रिका, टेलिभिजन, अनलाइनसहित विभिन्न सञ्चार माध्यममा डाक्टर, नर्स सुरक्षाकर्मी आदिलाई फ्रन्टलाइनर भनेर उपनाम दिइन्छ तर कहीँकतै प्रयोगशालाकर्मीको नाम आउँदैन । खै कहाँ गयो प्रयोगशाला र म जस्तो प्रयोगशालाकर्मीको काम ?
एक विवाहित महिलालाई प्रत्येक क्षण र हरेक काममा परिवारको साथ र सहयोग महत्वपूर्ण हुन्छ र तीमहिलाको सफलतामा परिवारको ठूलो हात रहन्छ
सबैको नजरमा अवमूल्यन भएको मेरो काम र पेशा हेर्दा जति सामान्य देखिन्छ त्यति नै जटिल र जोखिमपूर्ण छ । अझ, नेपाली समाजले मलगायतका स्वास्थ्यकर्मीलाई गरिरहेको दुर्व्यवहारले कताकता मेरो बिरामीप्रतिको त्याग र सेवाको भावनालाई हतोत्साही गर्ने पो होकी भन्ने डर आफैँभित्र पलाउँछ । तपाईहरुले प्रयोगशालाकर्मीलाई अगाडि नदेख्न सक्नुहुन्छ तर संसारभरि उनीहरुको सम्पूर्ण शक्ति र मेहनत कोभिड–१९ पत्ता लगाउन प्रयोग भइरहेको छ ।
अनेक उत्तरचढाव तथा कठिन परिस्थितिका बाबजुद मलाई हरदम साथ, सहयोग र प्रेरणाको स्रोत बनि अभिभावकत्व प्रदान गर्नुहुने मेसू डा.सुमित्रा गौतमलगायत अन्य स्वास्थ्यकर्मीहरु र विशेषगरी मेरो श्रीमान् सुवास सुवेदीलाई हार्दिक आभार व्यक्त गर्दछु ।
एक विवाहित महिलालाई प्रत्येक क्षण र हरेक काममा परिवारको साथ र सहयोग महत्वपूर्ण हुन्छ र तीमहिलाको सफलतामा परिवारको ठूलो हात रहन्छ मेरो अहिलेको लडाँइमा पनि मलाई परिवारले सहयोग गर्नुभएको छ ।
लेखक भक्तपुर अस्पतालकाे (कोभिड–१९ फोकल पर्सन ) मेडिकल ल्याब टेक्नोलोजिष्ट हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत