सूर्तिजन्य पदार्थ सेवनले दैनिक ७० नेपालीको मृत्यु
विश्वव्यापी सूर्तिजन्य पदार्थको प्रयोग दर घट्यो
सूर्तिजन्य पदार्थको प्रयोगबाट नेपालमा वर्षेनी २५ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेकोे तथ्यांक छ । मुटु, फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगको प्रमुख कारक धुमपान रहेको अध्ययनहरूले देखाएका छन् ।
काठमाडौं । हरेक वर्षको मे ३१ मा विभिन्न चेतनामुलक कार्यक्रमहरु गरि विश्व धुमपान रहित दिवस मनाइने गरिन्छ । तर यसपटक कोरोना कारण कुनै औपचारीक कार्यक्रमको आयोजना हुन सकेन । सूर्तिजन्य पदार्थ खानाले क्यान्सर लगायत अन्य २५ किसिमका रोग लाग्न सक्छ । सूर्तिजन्य पदार्थले फोक्सो, स्वासनली, मुख, मष्तिष्क, आँखा, मुटु, कलेजोमा नराम्रो असर गर्दछ । सूर्तिजन्य पदार्थको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याका कारण दिनमा ७० जना नेपालीको मृत्यु हुने गरेकोे छ ।
सूर्तिजन्य पदार्थको प्रयोगबाट नेपालमा वर्षेनी २५ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेकोे सरकारी तथ्यांक छ । मुटु, फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगको प्रमुख कारक धुमपान रहेको अध्ययनहरूले देखाएका छन् ।
बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.प्रकासराज न्यौपानेका अनुसार विभिन्न रोगका कारण भइरहेको मृत्युमा ७० प्रतिशत हिस्सा धुमपानको रहेको छ र त्यसमा क्यान्सरको कारणमा ३० प्रतिशत धुमपान रहेको छ । धुमपानका कारण क्यान्सर भई वर्षमा ७०० नेपालीको मृत्यु हुने गरेको छ । उहाँ भन्नुहुन्छ धुमपान सुस्त विष हो जसले सुरुमा असर गरेको थाहै हुँदैन तर कालान्तरमा भित्रभित्रै शरीरका अंगहरुलाई खोक्रो बनाइसकेको हुन्छ र मानिसको मृत्यु गराउँछ ।
सूर्तीजन्य पदार्थमा लगाइदै आएका करलाई अझै बढाउनुपर्ने उहाँको भनाई छ । सरकारले सार्वजनिक गरेको बजेटमा सूर्ति,खैनी,गुट्खा र पान मसलामा लाग्दै आएको करलाई प्रतिकिलो २५ रुपिया बाट बढाएर ४० रुपिया पुर्याएको छ । स्वास्थ्य संगठन र बिश्व बैंकले सुर्तिजन्य पर्दाथमा ६६ प्रतिशत कर लगाउनुपर्ने बताउदै आएपनि नेपालले करीब ३० प्रतिशत मात्र कर लगाउदै आएको छ।
उहाँ भन्नुहुन्छ, सूर्तिजन्य पदार्थको लतबाट आफुलाई टाढा राख्नुपर्छ र यसलाई सजिलै त्याग्न पनि सकिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । किताब पढ्ने,टिभी हेर्ने लगायतका क्रियाकलापमा आफुलाई व्यस्त राख्नुपर्दछ । अध्ययनहरूका अनुसार एक खिली चुरोट खानाले ७ मिनेट आयु घट्नेछ । अरुको तुलनामा धुमपान गर्ने पुरुषको आयु १३ र महिलाको आयु १४ वर्ष कम हुने अनुसन्धानले देखाएको छ ।
विश्वव्यापी सूर्तिजन्य पदार्थको प्रयोग दर घट्यो पहिलो पटक पुरुषको संख्यामा कमी
बर्षाैंदेखि सूर्तिजन्य पदार्थको प्रयोग गर्नेमा पुरुष अगाडि रहेकोमा पहिलो पटक यो संख्यामा कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले करिव ४ महिना अगाडि सार्वजनिक गरेको तथ्याङ्कमा विश्वमा पहिलो पटक सूर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको दर घटेको छ । सूर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको संख्या घटेको यो तथ्याङ्कले सूर्तिजन्य महामारी नियन्त्रणमा ठूलो फड्को मारेको निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको छ ।
सूर्तिजन्य पदार्थ प्रयोग विरुद्ध सञ्चालित सरकारको कार्यक्रमले समुदायमा कत्तिको प्रभाव पारिरहेको छ भन्ने विषयमा गरिएको सर्वेक्षणले यसको प्रयोगमा पुरुषको संख्या घटेको देखाएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोमले पुरुषहरू सूर्तीजन्य पदार्थबाट टाढिँदै जानुले सूर्तिजन्य पदार्थ बिरुद्ध थप लड्न सक्ने संकेत मिलेकोे बताउनुभयो ।
विगत २० वर्षमा ६ करोड मानिसले सूर्तिजन्य पदार्थ छाडेका छन् । सन् २००० मा झण्डै एक अर्व ४० करोड सूर्तिजन्य पदार्थको प्रयोगकर्ता रहेकोमा सन् २०१८ मा एक अर्व ३४ करोडमा झरेको छ ।
उहाँले भन्नुभयो –घातक सूर्तीजन्य पदार्थ प्रयोग गर्ने पुरुषहरूको संख्यामा वर्षाैदेखि कमी नआएको देखेका हामीले पहिलो पटक कमी आएको देख्न सफल भयौँ । सरकारले तम्बाकु उद्योगमा कडा गर्दै लगेकाले यस्तो परिणाम निकाल्न सफल भएको निष्कर्ष निकाल्दै उहाँले यो दरलाई अझै घटाउन काम गरिरहने प्रतिवद्धता जनाउनु भयो । विश्वमा प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण हुने गर्दछ । १० लाख मानिसको मृत्यु सूर्तिजन्य पदार्थ प्रयोगकर्ताको नजिक बस्दा उत्पन्न स्वास्थ्य समस्याका कारण हुने गरेको छ ।
विगत २० वर्षमा ६ करोड मानिसले सूर्तिजन्य पदार्थ छाडेका छन् । सन् २००० मा झण्डै एक अर्व ४० करोड सूर्तिजन्य पदार्थको प्रयोगकर्ता रहेकोमा सन् २०१८ मा एक अर्व ३४ करोडमा झरेको छ । सोही अवधिमा १० करोड महिलाले सूर्तिजन्य पदार्थ छाडेका छन् भने त्यही समयमा ४ करोड नयाँ पुरुषले सूर्तिजन्य पदार्थको प्रयोग गर्न थाले । तर पुरुषको यो संख्या २० वर्ष पहिलेको भन्दा कम हो । अवको ५ वर्षमा अरु थप ५ करोड पुरुषले सूर्तिजन्य पदार्थ त्याग्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२५ सम्म सूर्तिजन्य पदार्थको प्रयोगमा ३० प्रतिशतले कमी ल्याउने विश्व स्वास्थ्य संगठनको लक्ष्य रहेकोमा २३ प्रतिशत मात्र सीमित हुने अनुमान गरिएको छ ।
नेपालमा पुरुष अमलीकाे संख्या बढ्दाे
अन्य देशमा पुरुष अम्मलीको संख्या घटिरहेका बेला नेपालमा भने सुर्तिजन्य पदार्थको अम्मलीमा महिला भन्दा पुरुष धेरै छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को हालैको सर्वेक्षणले महिलाको तुलनामा ५ गुणा बढी पुरुष अम्मली रहेको देखाएको छ । सर्वेक्षणका अनुसार नेपालका २८ दशमलव ९ प्रतिशत मानिसले चुरोट तथा सूर्तिजन्य पदार्थको प्रयोग गरिरहेका छन् जसमा ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिला रहेका छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत