आफ्नै कर्मचारीको कोरोना उपचार नगर्ने ग्रान्डी अस्पतालले जनताको उपचार गर्ला ?

काठमाडौं। शनिबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमित व्यक्ति ग्राण्डी अस्पतालको प्रयोगशालामा सहयोगीको रुपमा काम गर्ने कर्मचारी हुनुहुन्छ ।
सुरुमा त्यस अस्पतालमा उपचाररत बिरामीमा संक्रमण देखिएको भन्ने सूचना आएको थियो। यसबारे शनिबार बिहान जानकारी लिन खोज्दा ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे खुल्न चहानु भएन । आफू अनविज्ञ रहेझैँ गरी पन्छिन खोज्नुभयो।
पछि संक्रमित व्यक्ति अस्पतालकै कर्मचारी रहेको खबर बाहिर आयो । यतिबेलासम्म संक्रमितलाई पाटन अस्पतालको आइसोलेसनमा लगिसकिएको थियो । यस खबरसँगै ग्रान्डी अस्पतालको सामाजिक सञ्चालमा चर्को आलोचना भइरहेको छ। आफूलाई सबैभन्दा ठूलो अस्पताल दाबी गर्ने ग्राण्डीले अस्पतालमै काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण हुँदा सरकारी अस्पतालमा पठाउनु पर्ने ? हेलिकप्टरमा बिरामी ल्याएर सिधै छतमा ल्याण्ड गर्ने सुविधा भएको अस्पताल यत्रो महामारीका बेला आफ्ना एक कर्मचारीलाई उपचार गर्ने जिम्मेवारी लिन सक्दैन ? सहज अवस्थामा बिरामीबाट चर्को शुल्क असुल्नका लागि मात्रै यत्रो सुविधासम्पन्न अस्पताल ? यस्ता तीखा प्रतिक्रियाको ओइरो लागेको छ।
यसबारे प्रतिक्रिया दिन सम्पर्क गर्न खोज्दा अस्पतालका निर्देशक पाण्डेको मोबाइल अफ छ। दक्ष जनशक्ति, ख्यातिप्राप्त चिकित्सक, सेवा सुविधाको हिसाबले एक नम्बर दावा गर्ने पाँचतारे अस्पतालले किन आफ्नै कर्मचारीको कोरोना उपचार गर्न नसकेको हो ? यो जटिल र गम्भीर प्रश्न हो।
यसअघि ज्वरो आएका बिरामीलाई सरकारी अस्पताल रिफर गर्ने र किन बिरामी नहेरेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोध्दा अटेर गर्ने अस्पताल पनि ग्राण्डी नै हो ।
कोरोनाको लागि भन्दै ग्राण्डी अस्पतालले १९ वटा आइसोलेसन बेड र १२ वटा भेन्टिलेटर सहितको बेड छुट्याएको छ । तर सबै सुविधा सम्पन्न हुँदाहुँदै पनि किन ग्राण्डीले कर्मचारीको उपचार गर्न किन पठायो पाटनमा?
पहिले तोकिएका सरकारी अस्पतालमा उपचार गराउने हो। ग्राण्डीमा गराउने होइन भन्दै सञ्चारकर्मी र चिकित्सकहरुले पनि सामाजिक सञ्चालमा लेखेको पाइयो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सरकारको कुनै निर्देशिकाले निजीमा कोरोना उपचार गर्न नपाउने भन्ने उल्लेख गरेको छैन ।
कोरोनाको उपचार गर्ने दायित्व सरकारी अस्पतालको मात्रै हो जस्तो गरिएको छ। त्यही अस्पतालमा रातदिन पसिना बगाइरहेका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिनेवित्तिकै सरकारीमा पठाइयो।अस्पतालमा कोरोना संक्रमित रहेको थाहा पाएपछि अन्य बिरामी नआउने मनसायले पनि निजीले कोरोना बिरामी राख्नबाट पन्छिन खोजिरहेको स्वास्थ्य सेवा विभागका एक चिकित्सक बताउनुहुन्छ।
त्यति मात्रै नभएर अस्पतालमा कोही संक्रमित भेटिएमा पनि त्यसलाई सकेसम्म गुपचुप राख्ने प्रयत्नमा निजी अस्पताल लागेको देखिन्छ। निजी अस्पतालहरुको नाफामूलक मानसिकता मात्रै रहेको र सेवाभाव निकै कम रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीको भनाइ छ।
अहिले सरकारले तोकेका अस्पतालमै आइसोलेसन खाली भएकाले अन्य अस्पतालहरुलाई दवाव नदिइएको र ती भरिएपछि सबै खाले अस्पताले कोरोनाका बिरामी हेर्नै पर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी बताउनुहुन्छ। 'टेकु, पाटनलगायतका अस्पताल भरिएपछि उपचार गर्ने निजी अस्पताल नै भएको उहाँको भनाइ छ।
'उनीहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्दिन भन्न पाइँदैन।' उहाँ भन्नुहुन्छ।'कोरोना क्लिनिकका रुपमा ती अस्पताललाई लिए पनि अब संक्रमित थपिदै जाँदा उपचार गर्ने तिनै ग्राण्डी र नर्भिक अस्पतालहरु हुन्।'
कुनै सरकारी नीति नियमले नरोकेको अवस्थामा आफ्नै अस्पतालका कर्मचारीलाई आइसोलेसन कक्ष हुँदाहुँदै पनि सरकारी अस्पतालमा पठाउनु आफूलाई नेपालको अब्बल अस्पताल दाबी गर्ने ग्रान्डीको गैर जिम्मेवार र लाचारीपन होइन र ?
तपाईँको अभिमत