कोरोना महामारीमा देशको पुरानो र ठूलो अस्पताल वीरको भूमिका खै ?
काठमाडौं । नेपालमा कोरोना भाइसरको संक्रमण देखिन थालेपछि देशभरका अधिकांश सरकारी अस्पताल यसविरुद्ध लड्नका लागि तयारीमा जुटे। भएका संरचनाहरुलाई व्यवस्थित गरे नभएका संरचनाहरु थपे । आफ्नो क्षमताले भ्याएसम्म कोरोना परीक्षण तथा सम्भावित बिरामी राख्नका लागि व्यवस्था मिलाए। यस अवस्थामा देशकै सबैभन्दा पुरानो, ठूलो, धेरै सुविधा र उपकरणहरु भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालको खासै चर्चा देखिँदैन।
कोभिड–१९ परीक्षणका लागि चाहिने आरटी पीसीआर मेसिन र त्यसका लागि चाहिने गुणस्तरीय प्रयोगशाला वीरमा पहिलेदेखि नै थियो । राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालापछि तत्काल पीसीआर परीक्षण गर्न सक्ने क्षमता वीर अस्पतालसँग मात्रै थियो।
कोरोना महामारी सुरु भइसकेपछि परीक्षणका लागि प्रयोगशाला तथा मेसिनको व्यवस्था गरेका थुप्रै अस्पतालहरुले ठूलो संख्यामा पीसीआर परीक्षण गरिसकेका छन् । वीर अस्पतालको परीक्षण संख्या यसको क्षमता र रोगको महामारीमा यसले निर्वाह गर्नुपर्ने भूमिकाको तुलनामा निकै न्यून छ । स्वास्थ मन्त्रालयले शुक्रबार जारी गरेको विवरण हेर्दा बैखाश २२ गते मात्रै प्रयोगशाला सञ्चालनमा ल्याएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामासमेत २२५४ पीसीआर परीक्षण हुँदा वीरमा जम्मा ५५८ मात्रै परीक्षण भएको छ।
मन्त्रालयले जारी गरेको कोरोना परीक्षण भइरहेका १९ प्रयोगशालाको सूचीमा कम परीक्षण गर्नेमा वीर अस्पताल ४ नम्बरमा छ । सबैभन्दा कम परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा(११३) भएको छ। यहाँको परीक्षणको गुणस्तरीयतामाथि प्रश्न उठेपछि परीक्षण रोकिएको थियो ।
त्यसपछि न्यून परीक्षण गर्नेमा पाटन अस्पताल रहेको छ। राम्रो क्षमता भएको भएपनि पाटन अस्पतालमा पनि ज्यादै न्यून पीसीआर परीक्षण भइरहेको छ । पाटन अस्पतालको आइसोलेसन वार्डमा अहिले पनि ११ संक्रमित राखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर कम परीक्षण गर्नेमा तेस्रो नम्बरमा छ । जहाँ हालसम्म ४४६ परीक्षण भएको छ। यसपछि कम परीक्षण गर्नेमा वीर अस्पताल नै पर्छ । देशको सबैभन्दा ठूलो अस्पताल र पुरानो अस्पताल देशलाई परेको स्वास्थ्य संकटमा किन पछाडी परेको हो वा सम्बन्धित निकायले नै यसप्रति खासै चासो नदिएको हो ?
यसबारे प्रश्न गर्दा वीर अस्पतालमा निर्देशक केदार सेन्चुरीबाट स्पष्ट जवाफ पाइएन ।
अहिले अन्य उपचारमै अस्पताल फोकस भएको अस्पतालमा आएका शंकास्पद बिरामीको मात्रै परीक्षण गरिरहेको सेन्चुरी बताउनु हुन्छ । वीर र ट्रमाबाहेक नर्भिक, शिक्षण अस्पतालबाट पनि कोरोना परीक्षणका लागि नमुनाहरु आउने गरेको उहाँले जानकारी दिनुभयो ।
सुरुमा परीक्षणका लागि किट आभाव भएको निर्देशक सेन्चुरीको भनाइ छ। ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट किट ल्याउने हो, जति केस आउछ त्यहि अनुसार गरिरहेकाछौँ’ सेन्चुरी भन्नुहुन्छ । आफूहरुलाइ किट पनि कम नै दिइएको बताउने उहाँले अहिले वीरमा २०० मात्रै पीसीआर परीक्षणको किट रहेका जानकारी दिनुभयो। अहिले वीरमा दैनिक १२० जनासम्म परीक्षण गर्नसक्ने क्षमता रहेको सेन्चुरी बताउनुहुन्छ।
अस्पताल कोरोना परीक्षणका लागि भनेर सरकारसँग ठूलो संख्यामा किटको मागसमेत नगरेका उहाँ स्वीकार्नु हुन्छ।
कोरोना संक्रमणको महामारीविरुद्ध लड्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने अस्पतालको यसबारे ठोस कार्य योजना केही देखिँदैन। अस्पताल व्यवस्थापनले चासो नदिएको वा माथिल्ला निकायहरुले वेवास्ता गरेको ? यो बेला दशकौँदेखि आम जनताको भरोसा बनेको देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालको भूमिका यही हो त ?

जगन्नाथ ढकाल
तपाईँको अभिमत