युद्ध नयाँ चरणमा प्रवेश गर्यो, हतियार व्यवस्थापनमा लागौं

फरक-फरक उद्देश्यकासाथ दौडधुपमा रहेका विश्वभरका मानव जाति अहिले एउटै साङ्लोमा बाँधिएका छन्। सबैको पहिलो लक्ष्य यस भाइरसको महामारीबाट मुक्ति पाउनु मात्रै बन्न पुगेको छ।
विज्ञान प्रविधिको विकास गरी ठूला-ठूला चमत्कार गर्न सफल भएको मावन दुनियाँ अहिले अति शुक्ष्म एउटा भाइरसको त्रासले पीडित बनेको। कोभिड-१९ नाम दिइएको एक कोराना भाइरसले संसारलाई गतिहीन र लक्ष्यहीन बनाई दिएको छ। फरक-फरक उद्देश्यकासाथ दौडधुपमा रहेका विश्वभरका मानव जाति अहिले एउटै साङ्लोमा बाँधिएका छन्। सबैको पहिलो लक्ष्य यस भाइरसको महामारीबाट मुक्ति पाउनु मात्रै बन्न पुगेको छ।
कोभिड-१९ भाइरस संक्रमणको स्थायी समाधान विश्व मानव जातिको साझा समस्या बनेको छ। गत डिसेम्बरमा चीनको वुहान शहरमा पत्ता लागेको भाइरस यति चाँडै संसारभर फैलिएर सारा मानव गतिविधिलाई ठप्प बनाउला भन्ने कसैले कल्पना नगरेको कुरा हो। प्रकृतिका अनेकौं कहरहरुलाई जित्दै विज्ञान-प्रविधिको अध्याधुनिक युगमा प्रवेश गरेको मावन जातिलाई एक सानो परजिवी भाइरसले आच्छु-आच्छु पारिरहेको छ यतिबेला।
पृथ्वीलाई छाडेर खोज अनुसन्धानका लागि ब्रह्माण्डतर्फ लम्किएका शक्तिशाली मुलुकहरु नै कोभिड-१९ भाइरसका अगाडी घुँडा टेकिरहेका छन्। यसबाट मुक्ती पाउने उपाय नभेटेर बिलखबन्दमा परिरहेका छन्।
यसको निकास कसरी हुन्छ ? यस भाइरसको त्रासबाट संसारले कहिले मुक्ति पाउँछ ? पहिले जस्तै सामान्य अवस्थामा विश्व कहिले फर्कन्छ ? अहिले यसको ठोस उत्तर कसैसँग छैन।
अति खतरनाक नदेखिएको तर संसारलाई भयभीत बनाएको यस भाइरसको स्थायी समाधान नभेटिएको खण्डमा नयाँ तरिकाबाट मानव जीवनलाई चलायमान बनाउनुको विकल्प छैन। यो महामारी फरक तरिकाको विश्वयुद्धको रुपमा परिणत भइसकेको छ। नेपाल पनि यो युद्धमा होमिन वाध्य भइसकेको छ। यसअघि सामान्यै तरिकाबाट युद्ध पार लाग्लाकी भन्ने देखिएको थियो। संक्रमितको संख्या निरन्तर बढिरहने र यसबाट मृत्यु हुनसमेत शुरु भइसकेको छ। यस युद्धमा हामी डटेर लड्नुको विकल्प पनि छैन। युद्धले नयाँ रुप लिइसकेको छ। अब पुरानै तौर तरिकाले कोभिडविरुद्धको युद्ध जित्न सम्भव नहुने देखिँदैछ।
अब युद्धको तयारी यसरी गरौँ
-भौतिक विकासभन्दा मानवीय सुरक्षालाई प्रधानता दिउँ। खान पाउँने र बाच्न पाउँने आत्मनिर्भर शिक्षाको ज्योति बाल्ने योजना बनाऔं।
-स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकको मनोबल उठाऔँ उनीहरुहरूको स्वास्थ्य सुरक्षा र खाने बस्ने लगायतका समस्याको व्यवस्थापन गरौं।
-थप दक्ष जनशक्तिको पहिचान र व्यवस्थापनको कार्यादेश बनाऔं।
-पालिकाभित्रका मापदण्ड पुग्ने सबै सार्वजनिक भवनहरूलाई क्वारेन्टाइन घोषणा गर्दै आवश्यकताका आधारमा क्वारेन्टाइन संरचना निर्माण गरौं। सम्पूर्ण वडालाई क्वारेन्टाइन आत्मनिर्भर बनाऔं।
-तत्काललाई पालिकामा रहेका अस्पतालको अगुवाइमा पालिकाभित्रका सबै स्वास्थ्य संरचनालाई आइसोलेसनको रूपमा परिणत गरौ ! नयाँ संरचनाको तयारीमा लागौं।
-क्वारेन्टाइनमा रहेकाहरूमध्ये खान पुग्नेलाई घरबाटै खानाको व्यवस्थापन गर्न अनुरोध गरौं, सकेसम्म खान र बस्नमा कोष खर्च नगरौं।
-मुख्य सडक केन्द्रीत कार्यक्रम, राजमार्गसँग जोडिएका बस्ती, पसल र सार्वजनिक स्थलहरूलाई स्वास्थ्य सतर्कताको विशेष अपिलसहित निगरानीमा राखौं।
-स्थानीय स्तरमा आर्थिक कोष खडा गरौँ। संकटकाल मोडलकै कार्यविधि निर्माण गरौँ। यस संकटलाई अवसरका रुपमा उपयोग गर्दै आगामी दिनमा आम जनताको स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र प्रभावकारी बनाउन नमुना-कोषको विकास गरी यसलाई प्रभावकारी पारौँ।
-मेडिकल सामग्रीहरु प्रशस्त भण्डारण गरौँ। यो एक रोगरुद्धको लडाइँ हो। स्वास्थ्य सामग्री हाम्रा हतियार हुन् त्यसैले स्वास्थ्य सामग्रीहरु जस्तै पीपीई, मास्क र औषधिलाई मुख्य स्वास्थ्य केन्द्रमा एक प्रभावकारी संयन्त्र बनाएर भण्डारण गरौँ।
-हतियारको सदुपयोग गर्न नजान्ने टुकडीले कुनै लडाइँ जित्दैन। हतियारको प्रयोग लडाइँ सुरु भएपछि योजनावद्ध तरिकाले हुन आवश्यक छ।
-समस्या परेको छ भने अर्कै कुरा तर झोली थाप्ने प्रवृत्ति दरिद्र प्रवृत्ति हो। दरिद्रता अभावले भन्दा धेरै सोँचले पैदा गर्छ। जसले जे-जति सक्छ सक्नेहरुलाई सहयोगका लागि संस्थागत अनुरोध गरौँ।
-खाद्यान्नलाई कुनै सुरक्षित भण्डार निर्माण गरी भण्डारण गरौँ। खाद्यान्न अभाव भएर कोही भोकै नपरोस्। समस्या नपर्नेहरुले एकबोरा चामलमा र्याल नचुहाऔँ।
-राजनीतिक पार्टीको तर्फबाट काम गर्ने हो भने मुख्य पार्टीको संगठन सबै गाउँमा छ। प्रत्येक टोलमा राजनीतिक पार्टीहरुको संयुक्त अनुशासित, चुस्त र सानो स्वयंसेवक टिम बनाऔँ।
-स्थानीय सरकारको नेतृत्वमा स-साना टोलहरु विभाजन गरेर सानो संख्यामा सचेतना र जनसहयोगी भूमिका निर्वाह गर्ने संरचना तयार पारौं।
-हतियार र घाइतेको पारावहनको बिशेष व्यवस्था गरौं। मतलब प्रत्येक टोलका गल्लीमा चालकसहित कम्तीमा एउटा गाडी (एम्बुलेंस) तयारी अवस्थामा राखौं
-आफु बच्ने र अरूलाई पनि बचाउने जुक्तिसहितको स्वास्थ्य शिक्षालाई आम जनताको जीवन व्यावहारमा लागु गरौं।
-मनोमानीपूर्ण आग्रह, पूर्वाग्रह त्यागेर कोरोना महामारीविरुद्धको विश्वयुद्धमा नेपाललाई जिताऔं
तपाईँको अभिमत