पहिलो कोरोना संक्रमित नर्स के भन्छिन् ?, कसरी भयो संक्रमण ?
नर्सिङ दिवसकै दिन नर्सलाई कोरोना पुष्टि
कोरोना संक्रमितलाई हेर्ने नजर बदलौं
काठमाडौं । नेपालमा कोरोना भाइरस रोगको संक्रमणको संख्या बढेको बढ्यै छ । बैशाख मध्यतिरबाट संक्रमित बढिरहेका छन् । हालसम्म नेपालमा ३७६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमा ४ जना नर्स पनि छन् । नेपालमा स्वास्थ्यकर्मीमा पहिलो पटक कपिलवस्तुकी नर्समा कोरोना संक्रमणको पुष्टि भएको थियो । अहिले ६ दिनदेखि उहाँ कपिलवस्तु, जिल्ला अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । कोरोनाविरुद्धको लडाँइ चलिरहेको बेला जोखिम मोल्दै बिरामीको उपचारमा अहोरात्र खटिरहेका छन् स्वास्थ्यकर्मीहरू ।
हेल्थपाटी डटकमका लागि संक्रमित नर्स र उहाँकाे बुवासँग जगन्नाथ ढकालले कुराकानी गर्नुभएको छ । उहाँहरूकाे नाम (आपसि सहमतिमा गोप्य राखिएको ) हेराै उहाँहरूकाे अनुभव उहाँकै शब्दमा :
कोरोना संक्रमणको कल्पना गरेको थिइँन :
म कपिलवस्तु, जिल्ला अस्पतालमा कार्यरत छु । ५ वर्ष भयो नर्सिङ पेशामा संलग्न भएको । मेरो शरीरमा कोरोना भाइरसले प्रवेश गरिसकेको छ भन्ने त कल्पना पनि गरेको थिइँन । किनभन्दा मैले कोरोना पोजेटिभ बिरामी हेरेको थिँइन र आइसोलेसन वार्डमा पनि जानुपर्ने थिएन । मेरो ड्युटी प्रसुती कक्ष र वार्डमा हो। अस्पतालमा दैनिक सयाैं विभिन्न प्रकारका बिरामी आउने भएकोले कोरोना सम्बन्धी संक्रमण अस्पतालमा कस्तो छ भनेर बिरामीको धेरै सम्पर्कमा आउने ४ ओटा फाँट बाट १ / १ जनाको कोरोना परीक्षण गराउँदा मलाई कोरोना पोजिटिभ भएकाे पुष्टि भयाे ।
'नर्सिङ डे'को दिनमै कोरोना पुष्टि
शनिबार स्वाब संकलन भएको थियाे रिपोर्ट भने बैशाख ३० गते मंगलबार मात्रै आयो, त्यो दिन मेरो ड्युटी थियो, नर्सिङ दिवस पनि । रिपोर्ट पोजेटिभ आएकाे थाहा पाउने बित्तिकै आफू कार्यरत अस्पतालकै आइसोलेसनमा बसेँ । सँगै परीक्षण गरिएकामध्ये मेरो मात्रै रिपोर्ट पोजेटिभ आयो । सुन्ने बित्तिकै पत्याउनै गाह्रो भयो, म त कहीँ कतै गएकै थिइन । अस्पतालबाट घर र घरबाट अस्पताल मात्रै जाने आउने गर्थें तर पनि संक्रमण भइसकेको रहेछ ।
कुनै लक्षण छैन, कुनै औषधि पनि खाएकी छैन
अस्पतालको आइसोलेसनमा बसेको आज ६ दिनभयो, अहिलेसम्म मलाई कुनैपनि लक्षण देखिएको छैन र कुनै औषधि खाएकी पनि छैन, म एकदम ठीक छु । मलाई कत्तिपनि डर लागेको छैन । मेरो पुनः परीक्षणका लागि स्वाब लिइसकेको छ रिपोर्ट भने आउन बाँकी छ । यहाँ खान, बस्न सबै राम्रो व्यवस्था छ, इन्टरनेटको पनि सुविधा छ। अस्पतालकाे मेडिकल सुपरिटेन्डेण्ट सरलगायत टिमले राम्रो हेरचाह गर्नुभएको छ । म इन्टरनेटमार्फत नै विभिन्न विषय वस्तुको जानकारी लिइरहेको छु ।
कसरी भयो संक्रमण ?
कसरी संक्रमण भयो भन्ने अझै सोचिरहेको छु । म कार्यरत अस्पतालमा कोरोनाका बिरामी पनि थिएनन्, म क्वारेन्टाइनमा पनि गएको छैन, दिनहुँ अस्पताल जान पनि पर्ने थिएन, हप्ताको ३ / ४ दिन मात्र ड्युटी जानु पर्थ्याे । अस्पतालमा पनि बिरामीको उपचार गर्दा पीपीई लगाएकै हुन्थे । म आफैँ अचम्मित छु, संक्रमितको सम्पर्कबिना मलाई कोरोना पुष्टि कसरी भयो ?
मेरो परिवारकाे १६ जना मध्ये कसैलाई पनि कोरोना संक्रमण भएको छैन र मेरो घरमा नयाँ व्यक्ति कोही पनि आउनु भएको छैन । मेरो सम्पर्कमा आएका अस्पतालका बिरामी,साथी परिवार गरि ११२ जनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आइसक्यो त्यसैले म आफै उत्तर खोजीरहेको छु मलाई कोरोना भाइरसले समात्यो कसरी ?
कोरोनाबाट नआत्तिनुस् तर सावधानी अपनाउनुहोस् :
सारा विश्व नै कोरोना भाइरसले ग्रसित अनि त्रसित छ । यसअघि नआएको, थाहा नपाएको, सामना पनि गर्न नपरेको अनि बिल्कुलै नयाँ खालको भाइरस भएकाले डर लाग्नु स्वभाविक हो तर अब हामीले यसलाई सामान्य रुपमा लिंदै सावधानी अपनाउँदै आफ्नो जीवनलाई सामान्यीकरणतर्फ लैजानुपर्छ । कोरोनाबाट मृत्यु भइहाल्दैन, समयमा सही उपचार पाउनुपर्छ, क्वारेन्टाइन व्यवस्थित हुनुपर्छ ।
परिवार–परिवारमामा सजगता अपनाउनुपर्छ । म पनि घरमा क्वारेन्टाइनमा नै बसेकाले मबाट अन्य सदस्यमा संक्रमण फैलन पाएन। संक्रमणबाट बच्नका लागि निर्देशित सावधानी अपनाएर अनात्तिकन बसौँ ।
कोरोना संक्रमितलाई हेर्ने नजर बदलौं
म २५ वर्षको भएँ । मलाई कोरोना निको भएपछि धेरै बिरामीको उपचार गर्नु छ । म त छिट्टै निको हुनेछु, तर समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । कोरोना लाग्नु पाप गरे जसरी कतिपय स्थानमा दुर्व्यवहार भयो भन्ने पनि सुनेको छु । कोरोना त एउटा भाइरस न हो रुघा लागेको जस्तै समयमा उपचार हुन सकेमा निको भइहाल्छ । जसरी अरु रोग निको हुन्छ त्यस्तै ।
संक्रमितहरूको आत्मबल बढाउने काम गरौं :
समाजबाट अपहेलित हुने डरले संक्रमितहरूको आत्मबल घट्दै जान्छ । छिटो निको गराउन र समाजमा पहिलाको जसरी जीवनयापन गराउने र्फ समाजले ध्यान दिन जरुरी छ, लाग्नुपर्दछ । एउटा निश्चित समयसम्म पो बिरामी हो । सधैंको लागि बिरामी भए जसरी सोच्न भएन । यस्तो सोच राखेमा मानिसहरू झन–झन विचलित हुन्छन्, आत्तिन्छन् । त्यसैले सबैले कोरोना संक्रमितलाई समान व्यवहार गरौं ।
संक्रमितको आत्मबल बढाउने काम गरौं। सामाजिक सञ्जालतिर आएका र विभिन्न झुठा तथा काल्पनिक भनाइ र समाचारले मानसिक असर परेको र मनोबल गिरेको छ । भौतिक रुपमा पूरै ठीक छु म । संक्रमितलाई आत्मबलको आवश्यकता पर्छ भन्ने कुरा हाम्रो समाजले बुझ्न जरुरी छ ।
नेपाल नर्सिङ संघ, स्वास्थ्यकर्मी संघलगायत सम्पूर्ण संघ, संस्था र महानुभावप्रति आभारी छु । तपाँइहरुको साथ सहयोग र हौसलाले मलाई कोरोनासँग लड्न आत्मबल मिलेको छ ।
संक्रमित नर्सका बाबुको भनाई :
म सामाजिक अभियन्ता भएकाले छोरीलाई पोजेटिभ आएको थाहा पाउने बित्तिकै अस्पताल पठाएँ । हामी ४ जना दाजुभाईको लस्करै घर छ जहाँ हामी १६ जना बस्छौ । मेरो छोरी र हाम्रो परिवार कसैलाई पनि कुनै लक्षण देखिएको थिएन छैन पनि ।
छोरीको भन्दा बढी पीर अनाथ बालबालिकाको लाग्यो :
मैले असहाय बालबालिकालाई सहयोग गर्दै बालगृह सञ्चालन गर्दै आएको छु । नेपाल बालसंगठन कपिलवस्तु बालगृहको सभापति पनि हुँ । म दिनहुँ बालबालिकालाई भेट्न जान्थेँ । छोरीलाई पोजेटिभ आउनेबित्तिकै मेरो ध्यान ती बच्चाहरूमा गयो । छोरीको भन्दा बढी चिन्ता ती बालबालिकाको लाग्यो । छोरी त कुरा बुझ्छे तर ती अनाथ बालबालिकालाई पनि संक्रमण देखियो भने ? चिन्ता त्यता माेडियाे ।
अहिले छाेरी अस्पतालमा छ, परिवारका १६ जना मध्ये कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन । ११२ जनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आइसक्यो, हामी पनि अहिले घरमै असाेलेसनमा बसेका छाैं, छाेरी सँगनिरन्तर सम्पर्कमा छाैँ ।
जनचेतना फैलाउन जरुरी छ
हामी सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । मेरी छोरी निडर छिन्,केही दिनमा घर आइहाल्छिन् । सुरुमा त नकारात्मक कुराहरू धेरै भयो । म सामाजिक अभियन्ता भएकाले सुरु देखिनै कोरोनाबारे सचेत गराउँदै आएको थिएँ । अब कोरोना संक्रमण नियन्त्रण, उपचारसँगै संक्रमितको पुर्नस्थापनाका विषयमा पनि समाजलाई जनचेतना फैलाउन जरुरी छ । अब त्यतातर्फ ध्यान दिनेछु । समाजलाई सकारात्मक बाटोतर्फ डोर्याउन निरन्तर लाग्नेछु।
तपाईँको अभिमत