लकडाउनको मोडल, प्रभाव एवं निरन्तरता बारे प्रा.डा.भगवान कोइराला यसो भन्नुहुन्छ
काठमाडौं,१३ वैशाख । कोरोना भाइरस रोगको संक्रमणलाई न्यूनिकरण गर्न भौतिक दुरी कायम राख्नुपर्छ यसका लागि लकडाउन भन्दा अर्काे विकल्प छैन । लामो समयदेखिको लकडाउनले जनजीवन प्रभावित त भएको छ तर लकडाउनका खराब असरलाई न्युनिकरण गर्दै राम्रा असरलाई संस्थागत गर्दै जानुपर्छ ।
लकडाउनले के राम्रो गर्यो, कस्तो दुःख दियो समिक्षा गरि अप्ठेरो अभ्यासलाई कम गर्दै त्यसलाई कसरी सामान्यकरण गर्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्छ ।
लकडाउन जस्ताको तस्तै कायम गर्न सकिदैन तर लकडाउनले फाइदा पुर्याएको छ यसको परिणाम देखियो । कोरोनाको बिउ त भित्रिसकेको रहेछ,यदि लकडाउन थिएन भने त्यो बिउ धेरैतिर फैलनसक्थ्यो । लकडाउनकै कारण अहिलेसम्म धेरैतिर फैलन पाएको छैन तर सधै यसरी लकडाउन गरिरहन सकिदैन । त्यसैले अब लकडाउनको मोडल फेरिनुपर्छ ।
रेड,एल्लो र ग्रिन जोन
रेड,एल्लो र ग्रिन जोन छुट्याई त्यही अनुसार अगाडि बढ्दा जनजीवन सहज हुन्छ । विदेशबाट आएका मानिस को कहाँ बसिरहेका छन्,उनीहरुको जानकारी पनि छ, सरकारले ४० हजार भन्दा वढि परीक्षण पनि गरिसक्यो र परीक्षणको क्रम जारी नै छ,कन्ट्रयाक्ट ट्रेसिङ पनि भइरहेको छ । परीक्षणले कहाँँ ¬कहाँ संक्रमण छ भन्ने पनि थाहा भइसक्यो ।
घर वा क्वारेनटाइनमा बसेकाहरु कति अनुशासित छन् भन्ने पनि देखायो । हालसम्म प्राप्त जानकारीहरुलाई सदुपयोग गर्दै अबका दिनमा जुन जुन ठाउँमा खतराको घण्टी बजेको छ ती क्षेत्रलाई अझै कडाइ गरि अन्यत्र सावधानी पूर्वक लकडाउन खुकुलो बनाउन सकिन्छ । फेरि पनि म भनिरहेको छु निकै नै सावधानी अपनाउनुपर्छ । एकै पटक देशभर नै लकडाउन खुल्ला गरि आवतजावत गरियो भयो भने त्यसले इटालीको जस्तो अवस्था नल्याउला भन्न सकिन्न । त्यसैले चरणवद्ध रुपमा लकडाउन व्यवस्थित गर्दै लानुपर्दछ ।
अहिले काठमाडौमा कोरोना संक्रमणको खतरा कम छ । एकदुई वटा केश देखिएको पनि एक्टिभ भएन, कसैलाई सर्न पाएन यो लडाउनको सकारात्मक पक्ष हो । धेरै भर्ना भएका पनि छैनन, संक्रमित पनि उपचार गरि घर गइसकेका छन् अहिले काठमाडौका अस्पतालहरुमा एक जना पनि संक्रमित छैनन् । हालसम्म कोरोनाले नेपालमा मानिसको मृत्यु पनि भएको छैन ।
सजग रहौं,ढुक्क हुने अवस्था छैन
यसो भन्दैमा काठमाडौमा एकै पटक लकडाउन खोल्न हुँदैन । काठमाडौभित्र २० बुँदे फेहरिस्त लागू गर्नुपर्छ । मास्क नलगाइ निस्कन नपाउने, ६ फिट भन्दा नजिक उभिन नपाउने, मिटिङ गर्न नपाउने, बाहिरबाट आउने अत्यावश्यक सामग्रीहरु पत्रपत्रिका, तरकारी,खाद्यन्न ल्याउदा बिचार गर्नुपर्छ ।
स्कुल तथा अस्पताल व्यवस्थापन
अस्पतालको सेवाहरु बिस्तारै सुचारु गर्ने तर भिड नियन्त्रणको उपाय अपनाउनुपर्छ । यसका लागि चिकित्सकसंग पूर्व स्वीकृती लिएर मात्रै अस्पताल आउने व्यवस्था मिलाउनुपर्छ । अनलाइन प्रणाली लागू गरि वा फोनबाट जानकारी गराएर दिईएको समयमा मात्र अस्पताल आइपुग्ने व्यवस्था गरिनुपर्छ । पहिला कोरोनाको संकट शत प्रतिशत निवारण गरेपछि मात्रै स्कुल, कलेज सूचारु गर्नुपर्छ । स्कूल एक वर्ष ढिलो भएर पर्ने असर भन्दा कोरोनाको असर भयावह हुन्छ त्यसैले स्वास्थ्य र शिक्षामा अनलाईन व्यवस्था लागू गर्नुपर्छ ।
ओपिडीमा आउने बिरामीलाई भिडियो कन्फरेन्स मार्फत उपचार गर्न सकिन्छ । एम्बुलेन्स सेवा व्यवस्थित एवं चुस्त दुरुस्त बनाउनुपर्छ । एक कल फोनमा एम्बुलेन्स घर पुग्ने व्यवस्था मिलाउनुपर्छ । बाहिरबाट आउनेको खोजी गरेरै सबैलाई आइसोलेट गरि परीक्षण गर्नुपर्छ । परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनलाई अझै बढाउनुपर्छ । अहिलेसम्मको परीक्षणमा केही स्थानमा मात्रै खतरा देखिएको छ । ती स्थानलाई विशेष निगरानीमा राख्नुपर्छ ।
सामाजिक जनजीवन व्यवस्थापन
नीजि सवारी साधनलाई अति जरुरी भएको अवस्थामा मात्रै सञ्चालनको अनुमति दिनुपर्छ । व्यक्तिगत सवारी साधनलाई चल्न दिने हो भने जोर बिजोर प्रणाली लागू गर्न सकिन्छ । यहि मौकामा चुरोटलाई बन्द गराउन सकिन्छ । सार्वजनिक यातायात खोल्न हतार गर्नुहुदैन । चेकपोष्टलाई कडाइ गरिनुपर्छ । अत्यावश्यक दैनिक उपभोग्य सामग्री बिक्रि वितरण गर्ने पसलहरु खोल्न दिनपर्छ तर नियन्त्रित रुपमा, सामाजिक दूरी कायम गरेर मात्र ।
उद्योग तथा कलकारखानामा काम गर्नेहरुलाई कार्यक्षेत्रमै बसोबासको व्यवस्था मिलाएर उद्योग कलकारखाना सूचारु गर्न सकिन्छ । सिनेमाहल पार्क,पार्टी प्यालेस,होटल, रेष्टुरेन्ट तथा मनोरञ्जनका लागि गरिने भीडभाड बन्द गरिनुपर्छ । पब्लिक ट्रान्सपोर्ट बन्द हुनुपर्छ । सामाजिक दुरीलाई पुर्णरुपमा पालना गर्नुपर्छ । संक्रमण पुर्ण रुपमा नियन्त्रणमा नआएसम्म अन्तराष्ट्रिय यात्रा पुर्ण रुपमा बन्द गर्नुपर्छ ।
प्रदेश- प्रदेश लाई सिल गर्न सकिन्छ । पूर्व पश्चिम उत्तर दक्षिण नाकाहरुमा कडाइका साथ चेक गर्नुपर्छ । बोर्डरलाई पूर्ण रुपमा सिल गर्नुपर्छ । त्यति गर्दै गर्दागर्दै खाद्यान्न लगायत अत्यावश्यक बस्तुको आयातमा निरन्तरता दिनुपर्छ । ढुवानी गर्ने सवारी साधनलाई निर्मलीकरण गर्नुका साथै ढुवानीमा संलग्न व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्नुपर्छ । उनीहरुलाई आइसोलेट गरि राख्ने व्यवस्था मिलाउनुपर्दछ । सिधै परिवार तथा समुदायसंग सम्पर्कमा आउन दिनुहुदैन ।हामी आफैं सजग एवं संयम भई नियमको पालना गर्याैं भने कोरोना संक्रमण छिटो नियन्त्रणमा आउँछ नत्र भने अहिलेको स्थिति एक वर्ष सम्म पनि रहन सक्छ । (नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालासँग गरिएको कुराकानीमा आधारित) ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत