हिमगिरी हाइजिन प्रालिद्वारा नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण
काठमाडौं, १८ चैत । हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रम बीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा हिमगिरी हाइजिन प्रालिका व्यापारिक सञ्चालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गर्नुभएको हो ।
व्यापारिक सञ्चालक बजाजले नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल प्रहरीलाई स्यानिटाइजर वितरण गरेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रवाह नगरी समाज र नागरिकको सेवामा हरपल सक्रिय रहने भएकोले नेपाल प्रहरीलाई स्यानिटाइजर आवश्यक भएको बताउनुभयो ।
महानिरिक्षक ज्ञवालीले प्रहरी कर्मचारीहरुलाई सुरक्षित राख्न सकेमात्र आमनागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत