पूर्वाञ्चल क्यान्सर अस्पतालमा १५ शल्यक्रिया र २४ रेडियोथेरापी सफल
भारत र बंगलादेशबाट पनि बिरामी आउन थाले
काठमाडौं, २४ फागुन । पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा सुरु गरेको दुई महिनामा १५ जनाको सफल शल्यक्रिया गरेको छ । झापाको बिर्तामोडमा रहेको अस्पतालले ५ जनाको स्तन, ३ जनाको पाठेघर, ४ जनाको मलद्वार र ५ जनाको घाँटी तथा टाउकोको सफल शल्यक्रिया गरिएको अस्पतालका मेडिकल निर्देशक डा.विरेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले २४ जनाको रेडियोथेरापी सकिएको बताउनुभयो ।
जागरणका लागि स्वास्थ्य शिविरहरु भइरहेको जानकारी दिँदै भारत र बंगलादेशबाट समेत बिरामीहरू आउने गरेको डा.यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक २० जनाले किमोथेरापी, १५ जनाले रेडियोथेरापी सेवा लिइरहेका छन् भने करिव ३५ जना ओपिडीमा जाँच गर्न आउँछन् ।
‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा छ’ डा.वीरेन्द्र यादवले भन्नुभयो, ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता हटेको छ । चार अर्ब रुपैयाँ खर्चेर स्थापना गरिएको क्यान्सर अस्पतालमा नेपालमै पहिलो पटक ‘ट्यू बिम लिनियर एक्सेलेरेटर’ मेसिनबाट रेडियसन सेवा लिन सकिन्छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले आफूलाई क्यान्सर हुँदा विदेशमा गइ उपचार गर्न बाध्य भएको स्मरण गर्दै क्यान्सरको उपचार गर्न विदेशमा जान पर्ने झण्झटबाट मुक्त गराउन आफूले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत