महेन्द्र श्रेष्ठको अहेवदेखि महानिर्देशक सम्मको ४० वर्षे यात्रा
काठमाडौं, १३ फागुन । २०३७ असार ५ गते रोल्पाको गजुर हेल्थपोष्टमा अहेवबाट स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका महेन्द्रप्रसाद श्रेष्ठ १२ औं तहसम्म पुग्नुभएको छ । कुनै बेला स्वास्थ्य सेवा विभागको महानिर्देशकको नीजि सचिव (पीए) समेत रहनुभएका उहाँ पाँच दिनअघि मात्र विभागकै महानिर्देशकमा नियुक्त हुनुभएको छ ।
दुर्गम गाँउको स्वास्थ्य चौकीमा अहेवदेखि विभिन्न जिल्ला अस्पताल इन्चार्ज, केन्द्र, क्षेत्र प्रमख हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता सम्मको जिम्मेवारी सम्हाल्ने मौका उहाँले पाउनुभयो । उहाँलाई पूर्वदेखि सुदूरपश्चिमसम्म पुगेर स्वास्थ्य सेवा गर्ने अवसर मिल्यो ।
१० वर्षसम्म अहेवमा काम गर्नुभएका उहाँ २०४७ सालमा जनस्वास्थ्य अधिकृत हुनुभयो । २०५४ सालमा स्वास्थ्य सेवा विभागको महानिर्देशको नीजि सचिव हुनुभयो । २०५४ सालबाट नै विभागलाई नजिकबाट नियाल्नुभएका श्रेष्ठ विभागमा हुने गरेका समस्याबाट धेरै परिचित हुनुहुन्छ । त्यति बेला स्वास्थ्यमा सरुवा, बढुवा लगायतका महत्वपूर्ण अधिकार पाएको विभाग देश संघीयतामा गएपछि खुम्चिएको छ ।
यसैगरी २०५९/६० सालमा स्वास्थ्यमन्त्रीको नीजि सचिव समेत रहनुभएका नवनियुक्त महानिर्देशक श्रेष्ठले यसअघि मन्त्रालय छँदा कर्मचारी समायोजनको जिम्मा पाउनुभयो । मन्त्रालयमा कर्मचारी समायोजनको जिम्मा पाउनुभएका उहाँले कर्मचारीको समस्या राम्रोसँग बुझ्नुभएको छ । विभागमा बहाली हुने बित्तिकै मातहत रहेका कर्मचारीको रोकिएको स्तरवृद्दि प्रक्रिया सुरु गरिहाल्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई चौथोदेखि सातौँ तहसम्मकाे स्तरवृद्दि गर्ने अधिकार दिइसकेको छ । २ वर्षदेखि स्तरवृद्दि नहुँदा स्वास्थ्यमा ५ हजारभन्दा बढि कर्मचारी मर्कामा परेका छन् । स्वास्थ्य सेवा ऐन अनुसार प्रत्येक ६ महिनामा योग्यता पुगेका कर्मचारीको स्वतः स्तरवृद्धि हुने व्यवस्था छ ।

उहाँले भन्नुभयो– आफू मातहतमा रहेका सबै निकायसँग समन्वय गरेर स्वास्थ्य सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन लागिपर्नेछु । मैले सहकर्मी साथीहरुको समस्या बुझेको छु । यसका लागि आवश्यक पद्दती बनाई अड्किएका निर्णयहरु कार्यान्वयन गर्नेछु ।
अहेवदेखि विशिष्ट श्रेणीसम्म आइपुग्न ४० वर्ष लागेको छ, तल्लो तहदेखि यहाँसम्म आइपुग्दा म हरेक तहमा काम गरेर आएको व्यक्ति हुँ तलदेखि माथिसम्मको समस्या मैले बुझेको छु, सकेसम्म म मातहतका साथीहरुको समस्या सम्वोधन गर्न प्रयत्न गर्नेछु । चिकित्सक र गैरचिकित्सक वा विभिन्न सेवा समूह भनेर भेदभावपूर्ण व्यवहार गर्नेछैन । हामी सबैजना शरीरका अंगहरु हौँ । सम्पूर्ण अंग मिलेर शरीर पूर्ण भएजस्तै स्वास्थ्यका सबै कर्मचारी, चिकित्सक मिल्न सकेमा मात्र स्वास्थ्य सेवा चुस्त हुनेछ । आफू त्यही बाटोमा अघि बढ्नेछु श्रेष्ठले भन्नुभयो ।
तुलसा घिमिरे
तपाईँको अभिमत