विश्वभर कोरोनाको संक्रमण तिब्र : डेढ करोड मानिस क्वारेन्टाइनमा
एजेन्सी, १३ फागुन । चीनको युहान उद्गमस्थल बनाएको कोभिड नाइन्टिन अमेरिका, अष्ट्रेलिया, अफ्रिका, युरोप हुँदै खाडी मुलुकसम्म फैलिएको छ । चीन सहित ३८ वटा देशमा कोरोनाको संक्रमणको पुष्टि भइसकेको छ ।
सोमबार सम्म विश्वभर ७९ हजार ७ सय ३७ जना मानिस संक्रमित भएका छन् । २ हजार ६ सय २८ जनाको मृत्यु कोरोनाका कारण भएको छ । सोमबार कुवेत, बहराइन, अफगानिस्तान, इराक र ओमनमा पनि कोरोना भाइरस रोगको पुष्टि भएको छ । कुवेतमा ३, बहराइन र इराकमा १–१, ओमनमा२ जनामा संक्रमण देखिएको छ ।
सोमबारसम्म कोरोना भाइरसका कारण चीनमा २ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ । इरानमा १२, दक्षिण कोरियामा ८, इटलीमा ६, जापानमा ४, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण मृत्यु धेरै भएको देशमा इरान दोस्रोमा पर्दछ ।
टर्की, पाकिस्तान, अमेरिकाले इरानसँगको सीमा बन्द गरिसकेका छन् । इरानमा १२ जनाको मृत्यु भइसकेको छ । ४३ जनामा संक्रमणको पुष्टि भएको छ । चीनमा मात्रै २ हजार ५ सय ९२ जनाको मृत्यु हुनुका साथै ७७ हजार १ सय ५० जना संक्रमित भएका छन् ।
दक्षिण कोरियामा ८ सय ३३ जनामा संक्रमण देखिएको छ भने ८ जनाको मृत्यु भएको छ । इटालीमा २ सय २० जनामा संक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ ।संक्रमण देखिएका देशहरुले अतिप्रभावित क्षेत्रका मानिसलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकेका छन् ।
इटालीको ११ शहरमा ५० हजार मानिस घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । २५ लाख जनघनत्व रहेको कोरियाको थेगु र चेङ्दुका मानिसलाई घर बाहिर ननिस्कन निर्देशन दिइएको छ । हाल विश्वभर करिव डेढ करोड मानिस घरमै क्वारेनटाइनमा बसिरहेका छन् । घरमा क्वारेन्टाइनमा बस्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
समुदायबाट टाढा रहने ।
आफूलाई सामाजिक कार्यबाट टाढा राख्ने ।
अनिवार्य रुपमा मास्क लगाउने ।
खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्ने ।
साबुन पानीले बारम्बार हात धुने ।
आफ्ना घरायसी सामान अरुलाई छुन नदिने ।
लक्षणबारे आफैले आफैलाई निगरानीमा राख्ने ।
लक्षण थाहा पाउनासाथ सम्बन्धित निकायलाई जानकारी गराउने ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत