कोरियामा नेपालीहरुले यसरी सुरक्षा अपनाइरहेका छन्
अवैधानिक रुपमा बसेकाहरुलाई पनि स्वास्थ्य परीक्षण गराउन आउन निर्देशन
काठमाडौं १३ फागुन । दक्षिण कोरियामा करिव ९० हजार नेपाली रहेका छन् । थेगु र चेङ्दु कोरियाको अति प्रभावित क्षेत्र हो । त्यस क्षेत्रमा करिव १० हजार जति नेपाली रहेको अनुमान गरिएको छ । हाल ईपीएस मार्फत कोरिया पुगेका नेपालीको संख्या ७० हजार जति रहेको आँकलन गरिएको छ । ईपीएस मार्फत कोरिया पुगेका नेपालीहरु मासुजन्य सामग्री उत्पादन कार्यमा संलग्न छन् । करिव १३ हजार नेपाली विभिन्नि विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् ।
छोटो समयमा नै संक्रमण तिब्र देखिएपछि कोरियाले एक दशकपछि उच्च सतर्कताको संकेत चिह्न रातो रंगको प्रयोग गरेको छ । थेगु र चेङ्दुमा यातायातका साधन बन्द गरिएको छ । सम्पूर्ण विद्यालय बन्द छन् भने बाहिर ननिस्कन भनिएको छ । कतिपय कम्पनीले केही समयका लागि काम बन्द गरेका छन् ।
धेरै नेपाली रहेका देश मध्ये कोरिया पनि एक हो । त्यहाँ रहेका नेपालीहरु कसरी आफ्नो स्वास्थ्य सुरक्षा गरिरहेका छन् ? थेगुस्थित दिपेन्द्र मल्लका अनुसार त्यहाँका केही कम्पनीहरु बन्द भएका छन् । उनीहरुलाई बाहिर निस्कन रोक लगाइएको छ । कोरियाको फोन सेवा प्रदायक संस्थाले उनीहरुको मोबाइलमा बारम्बार कोरोनाका सम्बन्धमा सन्देश पठाउने गर्दछ । कोरियामा नेपालीले त्यहाँका सम्वद्ध निकायले जारी गरेको उपायलाई अवलम्वन गरि आफ्नो सुरक्षा गरिरहेका छन् ।
- रुघाखोकी, ज्वरो आएमा तुरुन्तै १३३९ मा डायल गर्न सूचना जारी गरिएको छ ।
- लक्षण देखिएमा फोन गरेको १० मिनेटभित्र एम्बुलेन्स लिन आउने व्यवस्था गरिएको छ ।
- केही कम्पनीहरुले शरीरको तापक्रम मापन सुरु गरेका छन् ।
- सबैलाई मोबाइलमा समाचार एप डाउनलोड गर्न लगाइएको छ जसबाट पछिल्लो घटनाक्रम,सूचनाका बारेमा सजिलै जानकारी लिन सकिन्छ ।
- अवैधानिक रुपमा बसेकाहरुलाई पनि स्वास्थ्य परीक्षण गराउन आउन निर्देशन दिइएको छ ।
- अनिवार्य मास्क लगाउन भनिएको छ ।
- साथीभाइसँग भेटघाट नगर्न भनिएको छ ।
- बारम्बार हात धुन भनिएको छ भने अनावश्यक काममा बाहिर निस्कन दिइएको छैन ।
- राजधानी सियोलमा प्रदर्शनमा रोक लगाइएको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत