भिडियो : डाक्टरको व्यवहारले बिरामीलाई पार्ने असर
उपचारमा, औषधीको प्रयोग भन्दा पहिले बिरामीलाई डाक्टर र स्वास्थ्यकर्मीले गर्ने व्यवहारले विशेष भूमिका खेल्दछ भने बिरामीको स्वास्थ्य अवस्थाबारे दिइने स्पष्ट जानकारी महत्वपूर्ण हुन्छ । बिरामी डाक्टर समक्ष पुगेपछि गरिने पहिलो चरणको उपचार नै परामर्श हो । सही र उचित परामर्श हुन सक्यो भने मात्र उपचारात्मक परिणाम सकारात्मक निस्किन्छ ।
नुवाकोटकी रश्मी पण्डित, सुई देख्दा समेत तर्सनुहुन्थ्यो । ग्याष्ट्रिक भयो भनेर अस्पताल जानु भएकी रश्मीको पेटमा ट्युमर देखियो । डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भन्दा रश्मिको होस हवासै उड्यो । तर डाक्टरको परामर्श र नम्र व्यवहारले रश्मीमा आत्मबल बढ्दै गयो । गत मंसिर ११ गते शिक्षण अस्पताल महाराजगञ्जमा उनको सफल अप्रेशन भयो । पण्डित आफ्नो स्वास्थ्यमा छिट्टै सुधार आउनुको श्रेय उपचारमा संलग्न डाक्टर र नर्सको प्रिय व्यवहारलाई दिनुहुन्छ ।
यस्तै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको अप्रेशन गर्नुभएका हेटौडा नेत्र कार्की पनि डाक्टरको सहयोगी र हँसिलो व्यवहारको प्रशंसा गर्नुहुन्छ । डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरू बिरामीसग नजिक रही काम गरिरहेका हुन्छन् । वीर अस्पतालका स्नायुरोग मेडिसिन विभाग प्रमुख डाक्टर सुनिल कोईराला उनीहरू बिरामीको आवश्यकता बारे हरेक मिनेट सचेत हुनुपर्ने बताउनुहुन्छ ।
बिरामीसँग सही परामर्श हुन सक्यो भने, मेडिकल त्रुटि र हतारमा हुने गरिएका गल्तिहरू समाप्त हुनेछन् । बिरामीमा डाक्टर प्रति विश्वास बढ्दै जान्छ र दु्रत गतिमा उपचार अघि बढाउन सकिन्छ ,लापर्वाही र अलमलिएर हुने औषधी प्रयोगको असर कम हुनेछ भने औषधीप्रयोग, यसको प्रयोग गर्ने तरिका तथा नकारात्मक असर बारे बिरामी र उसका आफन्तले सही जानकारी पाउनेछन् जसले स्वास्थ्यमा अर्काे समस्या निम्तने छैन ।
डाक्टर तथा स्वास्थ्यकर्मीको नम्र ब्यवहारले बिरामीमा कसरी उत्प्रेरणा दिन्छ ? जगन्नाथ ढकाल र तुलसा घिमिरेले तयार पारेको भिडियो रिपोर्ट :
तपाईँको अभिमत