एउटा मास्कको ५० रुपियाँ
काठमाडौं, ८ फागुन । कोरोना भाइरस रोग (कोभिड- नाइन्टिन) संक्रमणको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । चीनमा मास्कको चरम अभाव देखिएदेखि नेपाली बजारमा मास्कको अत्याधिक मूल्यवृद्दि भएको छ । थोक बजारमा नै मास्कको मूल्य बढेपछि खुद्रा मेडिकल पसलहरुले मास्क नै बेच्न छाडेका छन् ।
कोरोना भाइरसको संक्रमण अगाडि प्रतिगोटा मास्कको थोक मूल्य एक रुपियाँ पचास पैसा पर्ने सर्जिकल मास्कको मूल्य अहिले ३० देखि ३५ रुपियाँ पुगेको छ ।काठमाडौंका एक व्यापारीले भने बजारमा मास्कको अभाव छ ।
होलसेलमा ३० देखि ३५ रुपियाँ तिरेर मास्क किनेका व्यापारीहरु खुद्रामा ५० रुपियाँसम्ममा बेच्ने गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपरका केही मेडिकल पसलहरुले एउटा मास्कको ४० देखि ५० रुपियाँसम्म लिने गरेका छन् । कोरोना भाइरस संक्रमण अगाडि खुद्रामा प्रतिगोटा ५ रुपियाँमा पाइने गरेकाे मास्कलाई अहिले सेवाग्राहीहरुले ५० रुपियाँसम्म तिर्न परिरहेको छ ।
टेकू अस्पताल, वीरअस्पताल वरपरका मेडिकलहरुले मास्क बेच्न छाडेका छन् । मेडिकल पसलहरुले नचिनेका मानिसलाई मास्क छैन भनेर पठाउने गरेका छन् भने चिनेका मानिस र उनीहरुको सिफारिसमा आउनेलाई मात्र मास्क बिक्रि वितरण गर्ने गरेका छन् । अनौपचारिक रुपमा एक परिचित व्यापारीसँग सोध्दा उनको छुट्टै दुखेसो छ, बजारमा मास्क छैन होलसेलमा मास्क किन्दा नै मुल्य ३० देखि ३५ रुपियाँ पर्छ अनि ४० मा बेच्दा कालाबजारीको आरोप लाग्छ त्यसैले मैले त मास्क बेच्न छाडिसकेँ ।
यसैगरी पहिला N95 मास्क २ सय ५० पर्ने गरेकोमा अहिले १५ सयसम्म बेचिरहेका छन् । यसैगरि पहाडी जिल्लाका ग्रामीण भेग जहाँ मास्क कम बिक्री हुन्छ त्यहाँ मास्क संकलनका लागि दलाल खटिएको पनि पाइएको छ । शहरका तुलनामा गाउँमा मास्कको मूल्य कम रहेको पाइएको छ । पहिलाको स्टक मास्कलाई प्रति गोटा १० देखि २० रुपियाँमा बेचिरहेका छन् । 
तुलसा घिमिरे
तपाईँको अभिमत