भिडियो : कसरी सम्भव भयो छोटो समयमा व्यवस्थित क्वारेन्टाइन ?
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइका कर्मचारी अहोरात्र खट्दै
काठमाडौं, ५ फागुन । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा चीनबाट उद्दार गरिएका १ सय ७५ जना नेपाली मनोरञ्जनात्मक गतिविधिमा रमाउदै समय बिताइरहेका छन् ।
खरिपाटी क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी गरी करिव २ सय ५० जनाको टोली अहोरात्र खटिरहेकाे छ । क्वारेन्टाइन स्थल नेपाल विद्युत प्राधिकरणको भवनको गेटमा सुरक्षाकर्मीहरु क्वारेन्टाइन प्रवेश गर्ने सम्पूर्ण आगन्तुकका लागि मास्क र सजिर्कल ग्लोप्स वितरण गर्छन् । क्वारेन्टाइन भवन परिसर दिनको ४ पटक निर्मलीकरण र सरसफाई गरिन्छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यवस्थापनमा आफूहरु अहोरात्र खटिरहेको बताउनुभयो ।
क्वारेन्टाइनमा विशेषज्ञ चिकित्सक सहितको १९ जना स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा खटिएका छन् । स्वास्थ्य व्यवस्थापनको जिम्मा पाउनुभएका नेपाली सेनाका मेजर डा.नवीन फुँयालले महामारी नियन्त्रणमा पहिलो पटक ठूलो संख्यामा भएको नेपालीको उद्दार ऐतिहासिक भएको बताउनुभयो ।
क्वारेन्टाइनमा महिला, पुरुष र स्वास्थ्यकर्मीहरुलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ । छोराछोरी आएको दोस्रो दिनमा क्वारेन्टाइन स्थल पुगेका अभिभावकहरुले क्वारेन्टाइनमा भएको व्यवस्थापन सोचेभन्दा उत्कृष्ट भएको बताएका छन् ।
कोरोना भाइरस संक्रमणग्रस्त चीनको हुबईमा ३ हप्तासम्म बन्द कोठामा थुनिएका नेपालीहरु स्वदेशी भूमिको खुला वातावरणमा बस्न पाउँदा तनावमुक्त देखिन्छन् ।

तुलसा घिमिरे
तपाईँको अभिमत