जंगबहादुर राणाले भित्र्याएको खोपले ९९ प्रतिशत बालबालिका सुरक्षित
प्रधानमन्त्री हुँदा सन्तानका लागि बेलायतबाट खोप झिकाएका थिए
दुई हजार वर्ष पहिला नै संसार बिफर रोगबाट आक्रान्त थियो । सन् १७९६ मा बेलायती वैज्ञानिक इडबार्ड जेनरले बिफर रोगबाट बचाउने उपाय स्वरुप गाईबस्तुमा रोग लगाउने उस्तै प्रकारको भाइरसलाई सफलतापूर्वक मानिसमा सारेर बचाएपछि विश्वमा नै आधुनिक खोपको सुरु भएको इतिहास छ ।
सन् १९०० सम्म आइपुग्दा भाइरस बिरुद्ध दुई र ब्याक्टेरिया बिरुद्धका तीनवटा खोपको विकास भयो । सन् १९७९मा विश्व स्वास्थ्य संगठनले खोपकै कारण संसारबाट बिफर उन्मूलन भएको घोषणा गर्यो । खोप विकासको दसौँ वर्षपछि भएको बिफर उन्मूलन, संसारकै जन–स्वास्थ्यमा एक उच्चतम उपलब्धि थियो । यो उपलब्धिपछि खोप विभिन्न रोगहरूका रोकथामको सबैभन्दा शक्तिशाली, सुरक्षित र लागत प्रभावकारी उपाय हो भन्ने निष्कर्ष निकालेर विभिन्न राष्ट्रहरूले खोपलाई प्राथमिकतामा राख्न थाले ।
नेपालको इतिहासमा डेढ सय वर्ष पहिले खोपको सुरुवात भएको मानिन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतवाट दरबारिया बालबालिकाका लागि बिफरको खोप ल्याएर खोपको थालनी गरेको इतिहास छ । यद्यपि, सबै बालबालिकाको प्राथमिकतामा पर्न भने एक शताब्दीभन्दा बढि समय कुर्न पर्यो । नेपालले विं.सं. २०३४ सालमा धनुषा, सिन्धुपाल्चोक र नवलपरासी जिल्लाबाट राष्ट्रिय खोप कार्यक्रमको सुरुवात गरेको हो । सुरुमा यी तीन जिल्लामा जन्मिएको ४ महिना उमेरसम्मका शिशुहरूलाई क्षयरोग विरुद्ध बि.सि.जि. खोप र भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार विरुद्ध डि.पि.टी. खोप लगाइएको थियो । आर्थिक वर्ष २०३६/०३७ मा यी तीन जिल्लामा पोलियो र दादुरा विरुद्धको खोप थप गरियो । २०४५ सालदेखि देशभर प्रत्येक वर्ष जन्मेका ९ महिना बालबालिकाहरूलाई क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, पोलियो र दादुरा रोग विरुद्ध खोप दिन थालियो ।
आर्थिक वर्ष २०६०/६१ देखि १५ महिना मुनिका बालबालिकाहरूलाई ११ वटा सरुवा रोगहरू क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस बिरुद्धको खोपलाई नियमित कार्यक्रममा राखियो । मातृमृत्युदर घटाउन सरकारले गर्भवती महिलाहरूका लागि टी.डी.खोप पनि नियमित कार्यक्रममा राख्यो । विभिन्न समयमा गरिएका सर्वेक्षणले खोपले बालमृत्युदर घटाएको पुष्टि गरिसकेको छ ।
सन् १९९६ मा प्रतिहजार ५० नवजात शिशु (जन्मेको एक महिना उमेरका बच्चा)को मृत्यु हुने गरेकामा २०१६ मा आपुग्दा २१ मा झरेको छ । सोही समयमा प्रतिहजार ७८ शिशु (एक वर्ष उमेर मुनिका बच्चा)को मृत्यु हुने गरेकोमा २०१६ मा आइपुग्दा आधाभन्दा बढिले घटेर ३२ मा झरेको छ । सन् १९९६ मा नै प्रतिहजार १ सय १८ बालबालिका (५ वर्ष उमेर मुनिका)को मृत्यु हुने गरेकामा २०१६ मा ३९ जनामा झरेको छ । खोपका कारण बालबालिकाको मृत्युदरमा कमी आएपछि नेपालीको औसत आयु पनि बढेको छ । सन् १९६० मा नेपालीको औसत आयु ४६ वर्ष रहेकोमा सन् २०७२ मा आइपुग्दा ७० वर्ष पुगेको छ । खोपले विभिन्न रोगबाट हुने मृत्युमा कमी आएपछि बच्चा जन्माउने दर पनि घटेको छ । जसले परिवारमा आर्थिक समृद्धि भित्र्याएको छ । नेपालमा भर्खर–भर्खर खोप भित्रिँदा, छिमेकी राष्ट्र भारत र चीनमा यसको प्रयोग भएको झण्डै २ हजार वर्ष पुगिसकेको थियो । यसरी छिमेकी राष्ट्रहरूमा हजारौँ वर्ष पहिला नै खोपको प्रयोग भएको तुलनामा नेपालले सुरुवातीको छोटो समयमा नै खोप कार्यक्रम मार्फत मातृशिशु मृत्युदरमा कमी ल्याएर विश्वमा आफूलाई खोप कार्यक्रममा सफल राष्ट्रको रुपमा चिनाउन सक्यो ।
खोप कार्यक्रमबाट भएका उपलब्धिहरू
सन् १९७७ माविफर उन्मूलन ।
सन् २०१० मा अगष्टदेखि पोलियो शून्य अवस्थाका कायम र सन २०१४मा
पोलियो फ्रि प्रमाण पत्र प्राप्त ।
सन् २००५ मा मातृ तथा नवशिशु धनुष्टंकारको निवारण ।
सन् २००६ मा जापानीज इन्सेफलाइटिस्को खोप शुरुवात ।
सन् २०१० मा दादुरा र रुवेला नियन्त्रण ।
सन् २०१८ मा दादुरा र रुवेला नियन्त्रण भएकोमा प्रमाणपत्र प्राप्त ।
सन् २०१२ देखि पूर्णखोप घोषणा तथा दिगोपना कार्यक्रम शरुवात (हाल ५८ जिल्ला घोषणा)।
सन् २०१६ मा खोप ऐन जारी (दक्षिण एसियामा नै पहिलो देश) ।
सन् २०१६ मा दिगो वित्तीय ब्यवस्थापनको लागि खोप कोषको स्थापना ।
सन् २०१९ मा नियमित खोप मार्फत ५ वर्ष मुनिका बालबालिकामा हेपाटाईटिस बि नियन्त्रणको अवस्था रहेको प्रमाणीकरण ।
सन् २०२३ सम्म पोलियो र रुवेला रोग उन्मुलन गर्ने खोप कार्यक्रमको लक्ष्य छ ।
दादुरा रुवेला रोगविरुद्धको खोप अभियान
सरकारले दादुरा रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि फागुन महिनाभर प्रदेश नम्वर १,२ र ५ मा खोप अभियान सञ्चालन हुन लागेको हो । चैत महिनाभर प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यो अभियान हुनेछ । यो अभियानमा ३० लाख बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाउने सरकारको तयारी छ । विश्व स्वास्थ्य संगठन अन्तर्गत नेपाल सहित दक्षिण पूर्वी एसियाली राष्ट्रले सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्नेे प्रतिबद्धता जनाएका छन् ।
दादुरा रुबेला भाइरसबाट हुने अति संक्रामक रोग हो । दादुरा रुबेला एक विरामीबाट एकैपटक वरपरका १० जनासम्म संक्रमण हुन सक्दछन् । यो रोग विशेषगरि ५ वर्ष मुनिका बालबालिकामा संक्रमण हुने गर्दछ । यो रोग विशेष गरि न्यून आय भएका विकासोन्मुख देशहरूमा धेरै हुन्छ र त्यस्ता देशहरूमा बालमृत्यु गराउने कारणहरू दादुरा रुबेला प्रमुख कारण हो । नेपाल पनि त्यो जोखिमबाट टाढा हुन सकेको छैन । त्यसैले यसबाट बच्ने एक मात्र उपाय नियमित खोपमा दादुरा रुवेला खोप दिनु हो ।
तपाईँको अभिमत