तपाईंले पनि ५ जनालाई बचाउन सक्नुहुन्छ
जीवन र मृत्युको बीचमा दोसाँधमा रहेका मानिसलाई तत्काल घटनास्थलमै उपलब्ध मानिसहरूको सहायतामा ज्यान बचाउन सकिन्छ
डा. लक्ष्मी पन्थी

यो अभियान के हो र किन
अत्यावश्यक पाँच आपत्कालिन स्वास्थ्य अवस्थामा कुनै पनि व्यक्तिले कुनै पनि ठाउँमा जो कोहीको पनि जीवन बचाउन अपनाउनु पर्ने विधिको विशेष प्रशिक्षण हो । यो आधारभूत तथा सीपमुलक अवधारणाको बारेमा प्रशिक्षण मार्फत सबैलाई जानकारी गराई विभिन्न ५ अप्रत्याशित स्थितिमा जो कोहीको जीवन बचाउन सजिलो होस् भनेर यस जीवन बचाऊ अभियानको सुरुवात गरिएको हो । हाम्रो जस्तो पहाडी मुलुकमा दिनहुँ जस्तो अप्रत्यासित घटनाहरू भइरहन्छन् । विकट र पहाडी क्षेत्रमा आपत्कालीन नम्बर १०० डायल गरि घटनास्थलमा स्वास्थ्यकर्मी तुरुन्तै पुग्न सक्ने अवस्था पनि छैन । जसका कारण आपत्कालिन अवस्थाका मानिसलाई नजिकैको स्वास्थ्य संस्था अथवा अस्पताल पु¥याउनु अगावै कतिपय मानिसको मृत्यु समयमै उपचार पाउन नसक्दा हुने गर्दछ ।
तसर्थ त्यो जीवन र मृत्युको बीचमा दोसाँधमा रहेका मानिसलाई तत्काल घटनास्थलमै उपलब्ध मानिसहरूको सहायतामा ज्यान बचाउन सकिन्छ । आपत्कालिन अवस्थामा रहेका मानिसहरूका बारेमा केही नगरि हेरर बस्नुभन्दा केही उपाय सिकेर उनीहरूलाई बचाउनु नै बुद्धिमानी हुन्छ भन्ने निष्कर्ष निकाल्दै यो अभियान अगाडि सारिएको हो ।
यो अभियान कसरी शुरु भयो
घटना–१, मैले रामेछापको तामाकोशी सहकारी अस्पतालमा काम गर्दाको अवधिमा हरेक महिना जसो सडक दुर्घटनाका घाईतेहरूको उपचार गर्नुपर्दथ्यो । घटनास्थलबाट अस्पतालसम्म ल्याउने बाटो सहज नभएकाले अस्पतालमा ढिला आइपुग्ने र अत्याधिक रक्तश्राब भएर अर्धचेत अवस्थामा आइपुग्दा आफू र स्वास्थ्यकर्मीले अन्तिम प्रयास गर्दागर्दै पनि बचाउन नसकेको धेरै घटनाको सामना गरेँ । यस्ता घटनाले हरेक पटक मेरो मनमा एक जटिल प्रश्न आउने गर्दथ्यो । ती घाईतेहरूलाई जसले उठाएर अस्पतालसम्म ल्याइदियो उसले घटनास्थलमै तत्काल केही प्राथमिक उपचार गरिदिन सकेको भए उसको जीवन बँच्ने थियो कि ? बाह्य रक्तश्राव भइरहेको घाइतेलाई ट्याक्सी वा एम्वुलेन्समा हालेर अस्पताल पठाउँदैमा बिरामीको जीवन बँच्दैन । दुर्घटनामा परेका वा अन्य कारणबाट आपत्कालिन अवस्थामा पुगेका बिरामीलाई जोगाउन अस्पताल अगावै प्राथमिक उपचार गर्नु आवश्यक ठानेर मैले यो अभियानमा पाँच जटिल स्वास्थ्य अवस्थालाई तत्काल सोही ठाउँमा केही उपाय निकालेर उनीहरूलाई बचाउन सकिने ज्ञान र सीपमूलक तरिकाहरू समेटिएका छन् ।
आफैले प्रत्यक्ष देखेकी केही घटनाले पनि मलाई यस अभियानको खाँचो तत्कालै रहेछ भन्ने भावना उत्पन्न गरायो ।

घटना –१ एक दिन म पोखराबाट काठमाडौँ जाँदै गर्दा नौबिसे सडकखण्डमा एक जना व्यक्ति रगत बगिरहेको अवस्थामा सडकमा लडिरहेको देखेँ । त्यहाँ केहीबेर अगाडि दुर्घटना भएको रहेछ । गाडी खोल्सोमा झरेको थियो । टाउकोमा चोट लागेकाले सडकमा लडिरहेको व्यक्तिको रगत बगिरहेको थियो तर वरिपरि झुम्मिएका मानिसहरूले बगिरहेको रगत बन्द गराउनेतर्फ ध्यान दिएका थिएनन् । म दौडँदै गए र मेरो टि–सर्ट च्यातेर घउ बाँधिदिए । बगिरहेको रगत बन्द भयो । एकछिन पछि एम्बलेन्स आयो र तीन जनाले बिरामीको घाउ ख्यालै नगरि हतार हतार एम्बुलेन्समा हाले, त्यो एम्बुलेन्समा स्ट्रेचरसम्म पनि थिएन, अरु प्राथमिक उपचारका सामग्रीहरूको त कुरै नगरौँ । म भन्दा पहिला घटनास्थल पुगेका प्रहरी र सर्वसाधारणले खोल्साबाट सडकसम्म त ल्याए तर उनको स्वास्थ्यमा कम क्षति हुने बारे सोचेनन् । उद्धार त गरे तर मैले भन्न खोजेको के हो भने हामीले दुर्घटनास्थलमा नै प्राथमिक उपचार गर्न सक्यौँ र त्यसबारे सबैलाई जानकारी गराउन सके मात्र पनि धेरैलाई जोगाउन सक्छौँ । त्यसपछि म दुई सय मिटर पर घटनास्थलमा पुगेँ । त्यहाँ झनै दर्दनाक दृश्यहरू देखेँ । ड्राईभर भिरालो ठाउँमा टाउको र गोडा तल परेर पल्टिरहेका थिए । उनको मुख छोपिएको थियो, त्यहाँ प्रहरी र धेरै मानिसहरू थिए । मैले ड्राईभरलाई उत्तानो पार्न लगाएँ । मानिसहरूले भन्दै थिए, नछुनोस् यो मानिस मरिसक्यो । मलाई छुनै दिएनन् अनि मैले म डाक्टर हुँ भनेँ । मानिसलाई त्यत्तिकै मृत घोषणा गर्न मिल्दैन र पाइँदैन पनि । यसका लागि धेरै विधि र प्रकृयाहरू अपनाउनु पर्छ भनेर सम्झाउँदै उनलाई उत्तानो पारेर श्वासप्रश्वास मार्ग खुला गरिदिएँ । उनले मधुरो सास फेरिरहेका रहेछन् । यो घटनाले मलाई झन स्तब्ध बनायो । मलाई लाग्यो– म डाक्टर भए पनि आफै यस्तै घटनामा परेँ भने मेरो हालत पनि यस्तै हुनेछ । यसले मलाई झन–झन समस्याको समाधान खोज्न उत्प्रेरित बनायो । सयौंँ मानिसहरूको भीडमा रहेका घाइतेहरूलाई कसरी सहयोग गर्ने र आपत्कालिन अवस्था तत्काल जोखिमबाट सुरक्षित बनाउने भन्ने उपायको खोजी र यसको प्रचार–प्रसार हुन जरुरी छ भन्ने निस्कर्षमा पुगेँ । यसले मलाई तपाई एक जनाले जीवन बचाउन सक्नुहुन्छ भन्ने ज्ञान तथा सीपमुलक स्वास्थ्य अभियान चलाउन उक्सायो । ता कि, भविष्यमा घटनास्थलमै घाइतेको ज्यान जोगाउन सकियोस् ।
घटना –२ एकदिन मेरी आमा बिरामी भएर अस्पतालमा लैजाँदै गर्दा उहाँलाई एक्कासी हृदयघात भएजस्तो लक्षण देखियो । आमाले छाती दुख्यो, टाउको दुख्यो, वाकवाकी लाग्यो भन्दै हुनुहुन्थ्यो एक्कासी बेहोस नै हुनुभयो । उहाँको सास पनि चलिरहेको थिएन र नाडी पनि चलेको थिएन । म आत्तिँदै ट्याक्सी रोकेर आमालाई बाहिर निकाले र समथर जमिनमा सुताएर सिपीआर गरेँ । केही क्षणपछि उहाँ होसमा आउनुभयो । मैले सिपीआर विधिबाटै आमालाई बचाउन सकेँ ।
घटना –३ म रामेछापबाट दोलखा जाँदै थिएँ । ट्राफिक स्टेशनमा एक्कासी एउटा माइक्रो बस र मोटर साईकल ठोक्कियो । ट्राफिकले घाइतेलाई केही नगरि भ्यानमा हालेर अस्पताल पठाए । रगत्ताम्मे घाइतेलाई प्राथमिक उपचार नगरि अस्पताल पु¥याउन खोज्नाले पनि बच्ने सम्भावनालाई कम गराउँछ किन कि रगत बगिरहेकै हुन्छ । हामीले रगत बग्न बन्द गरेपछि मात्र अस्पताल लानेतर्फ सोच्नुपर्दछ । मैले ट्राफिकलाई सोधेँ– तपाईहरूले अरु बेला पनि घटनास्थलमा घाइतेलाई यसरी नै अस्पताल पठाउँदै आउनुभएको छ । खिस्स हाँस्दै जवाफ आयो– मेरो जागिरेको १३ वर्षे अनुभवमा अहिलेसम्म प्राथमिक उपचार बारे कुनै तालिम पाएको छैन । हामीसँग प्राथमिक उपचारको कुनै सामग्री उपलब्ध हुँदैनन् । उनले भने– तालिम र सामग्री पाए दुर्घटनाबाट भएको घाइतेलाई बचाउन सकिन्छ ।
यसरी घाईतेलाई घटनास्थलमा प्राथमिक उपचार हुन सक्यो भने अत्याधिक रक्तश्राव भएर वा यस्तै जटिल कारणले अस्पतालले पुग्नु अगाडि नै मर्छन् वा थप अङ्गभङ्ंग हुन्छन् । जब कि यस्ता घाइतेलाई तत्काल घटनास्थलमै प्राथमिक उपचार हुन सकेमा धेरै हदसम्म उनीहरूको बाँच्ने सम्भावना बढेर जान्छ । प्राथमिक उपचार नगर्नुको मुख्य कारण नै उनीहरूमा त्यो सम्बन्धी आवश्यक ज्ञान, सीप र चेतनाको अभाव हुनु नै हो ।
नेपालमा सुरक्षाकर्मी, स्थानीय नागरिक, शिक्षक, विद्यार्थी जो कोहीलाई पनि आपत्कालिन अवस्थामा रहेका मानिसलाई तत्काल प्राथमिक उपचार गरि उनीहरूको जीवन बचाउन सहयोग गर्ने अत्यावश्यक ज्ञान, सीप र चेतनाको अभाव छ । त्यसैले यो अभियानको आवश्यकता र औचित्य आफैमा महत्वपूर्ण छ । त्यसैले तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्ने अभियान सञ्चालन गरिएको हो ।
यो अभियान विद्यालयमा कति आवश्यक
विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । त्यसैले उनीहरूलाई हामीले समयमै जस्तो खालको ज्ञान, सीप र धारणाको विकास गराउँछौं, भविश्यमा देश र समाजले उनीहरूबाट त्यस्तै प्रकारको सेवा प्राप्त गर्न सक्दछ । त्यसैले सबैभन्दा पहिले यस प्रकारको ज्ञान–सीप विद्यार्थीहरूलाई नै उपलब्ध गराउनु उपयुक्त हुन्छ ।
वर्तमानका पत्रकार, सुरक्षाकर्मी, राजनेता, कर्मचारी आदि सबै हिजोका विद्यार्थी नै हुन् । तर यी मध्ये कसैले पनि उपरोक्त अनुसारका घटनाहरूमा तत्कालिक प्राथमिक उपचारका बारेमा कुनै सरोकारै राख्दैनन् । किनभने उनीहरूले त्यो सम्बन्धी कुनै ज्ञान सीपमूलक तालिम प्राप्त गरेका छैनन् । यो अभियानले माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई पहिलो चरणमा यो तालिम उपलब्ध गराउनु पर्दछ भन्ने कुरामा विश्वस्त भएको हो । उनीहरू संख्यात्मक रुपमा धेरै हुने र भौगोलिक रुपमा जताततै वितरित हुने भएकोले भविश्यमा जहाँसुकैको घटनाका घाइतेहरूलाई बचाउन सहज र सरल हुने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।
अभियानको यात्रा जारी छ,
मैले मेरो अध्ययन, देखेभोगेका घटनाहरू, अनुसन्धानात्मक कार्यहरू आदिको एकीकृत विश्लेक्षण गरी तपाइँले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्ने अवधारणा र अभियानको शुरुवात रामेछापबाट गरे ।
मैले यो तालिमको शुरुवात सर्वप्रथम ट्राफिक प्रहरीहरूबाट गरेको थिएँ । रामेछापबाट सुरु भएको मेरो यो अभियान गण्डकी प्रदेशमा पनि पुग्न सफल भएको छ ।
तपाईंले ५ जनालाई बचाउन सक्नुहुन्छ भन्ने अभियान गण्डकी प्रदेशको ११ जिल्लामा विद्यालय स्वास्थ्य शिक्षामा समावेश हुने भएको छ ।
(लेखक अभियानको अभियान्ताका साथै हातेमालो आभियान नेपालका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ) ।
हेल्थपाटी
तपाईँको अभिमत