जड पत्ता लगाएर उपचार गरे मिर्गौलामा पत्थरी दोहोरिँदैन
काठमाडौं । पछिल्लो समय हाम्रो खानपान र परिवर्तित जीवनशैलीका कारण शरीरमा विभिन्नखाले समस्या आइरहन्छन्। त्यसमध्ये मिर्गौलाको समस्या पनि एक हो। हाम्रो समाजमा हेर्ने हो भने मिर्गौलाको समस्याको उपचार गर्नेहरूको कथाव्यथा निकै पीडादायी छ।
कतिपयले त उपचार गराउँदा गराउँदै घरबारी नै गुमाइसकेका छन् भने कतिपय न्यून आर्थिक अवस्थाका मानिसहरू बाटोमा हात फैलाउन बाध्य छन्। सरसर्ती हेर्दा हाम्रो समाजमा मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो देखिन्छ। आज हामीले हाम्रो मिर्गौलालाई कसरी बचाउन सकिन्छ भनेर युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा.नारायण भुषालसँग कुराकानी गरेका छौँ।
मिर्गौलाको महत्व र यसका काम बारे बताइदिनुहोस् न ?
मिर्गौला मानव शरीरको एक महत्वपूर्ण अंग हो। प्रत्येक मिर्गौला सिमीको गेडा आकारको १० देखि १२ सेन्टिमिटरसम्म लामो हुन्छ। यसको मुख्य काम रगतमा हुने फोहोरमैला छान्ने नै हो। यसले इराइथोपोइटिन भन्ने हर्मोन उत्पादन गर्छ। यो हर्मोनको रातो रक्तकोष निर्माणमा ठूलो भूमिका हुन्छ।
मिर्गौलाले हाम्रो शरीरमा इलेक्ट्रोलाइटसँगै स्वडियम, पोटासीयम, म्याग्नेसियम र फस्फोरसलाई सन्तुलित राख्छ। हड्डीलाई अति आवश्यक भिटामिन डी उत्पादन गर्छ जसले हडड्ी बलियो बनाउँछ। यसकासाथै हाम्रो शरीरको रक्तचापलाई सन्तुलित राख्न सहयोग पुर्याइरहेको हुन्छ।
पछिल्लो समय मिर्गौलाका बिरामीहरू बढ्न थालेका छन्, के–के कारणले मिर्गौलाले काम नगर्ने अवस्था आउँछ ?
मिर्गौला खराब हुने धेरै कारणहरू छन्। मेरो अनुभवअनुसार पछिल्ला दिनमा ४० प्रतिशत मिर्गौला बिग्रने कारण डाइबेटिज हो। त्यसपछि उच्च रक्तचापले पनि ३० प्रतिशत खराबी निम्त्याउँछ। त्यसपछि १५ प्रतिशत मिर्गौला आफैँ सुकेर जाने समस्या पनि छ। अर्को इन्फेक्सनले गर्दा पनि मिर्गौला बिग्रन्छ।
कसरी मिर्गौलामा संक्रमण हुन्छ ?
मिर्गौलामा हुने इन्फेक्सन मुख्यतया दुई कारणले गर्दा हुन्छ । एउटा त हामी रेट्रोग्रेड भन्छौँ तल मुत्रनलीबाट किटाणुहरू सर्दै मिर्गौलामा पुग्छन्। मुत्रथैलीमा रहेका किटाणुहरू कहिलेकाही माथि सर्दै मिर्गौलामा पुग्न सक्छन्। कहिलेकहीँ मुत्रनली केही कारणले थुनियो, जस्तै त्यसमा पत्थरी भयो वा प्रोस्टेड बढ्यो भने पिसाब थुनिन्छ त्यसपछि त्यहाँ
इन्फेक्सन हुनसक्छ। कहिलेकाही रगतको इन्फेक्सनले पनि मिर्गौलामा इन्फेक्सन हुन्छ।
मिर्गौलामा पत्थरी हुने कारण के–के हुन् ?
मिर्गौलाले पिसाब निकाल्छ। पिसाब सङ्कलन नहुने ठाउँमा पत्थरीको विकास हुन्छ। सबैभन्दा पहिले हामी सबैले पत्थरी कसरी बन्छ भनेर बुझ्न जरुरी छ। मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्ननदिने दुईवटै तत्त्व हुन्छ।
पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफलप्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवस पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ। कहिलेकहीँ हाम्रो हर्मोनका कारण पनि पत्थरी हुन जान्छ। अरु कारण पनि छन्। जस्तै अप्रेसन गरेका बिरामीहरुमा इलेक्ट्रोलाइट सन्तुलन भएन भने पनि पत्थरी हुन्छ । अर्को कुरा इन्फेक्सनले गर्दा पनि यस्तो समस्या निम्तिन सक्छ।
मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ?
पत्थरीको समस्या भएमा लक्षण त देखिन्छ नै। पिसाब हिड्ने मुत्रनलीमा केही अवरोध भयो भने मिर्गौला सुनिने गर्छ। जब मिर्गौला सुनिन्छ तब बिरामीले दुखाइ महसुस गर्छ।
पटक–पटक पिसाब आउने गर्छ। यो प्रक्रिया रातको समयमा अझ बढी हुन्छ। त्यस्तै बिरामीले बुझ्नुपर्ने अर्को कुरा के छ भने पिसाब फेर्ने बेलामा जलन वा पीडा हुन्छ। अनि पिसाब रोक्न गाह्रो भएमा पनि तुरुन्त पत्थरीको परीक्षण गराउनुपर्छ।
हामीकहाँ आउने बिरामीहरूले कोखो दुखेको पनि सुनाउनुहुन्छ। कतिपय बिरामीलाई यसको लक्षण नदेखिन पनि सक्छ। पिसाब नलीमा अवरोध भएर दुखाइ महसुस भएमात्र उनीहरू अस्पताल पुग्छन् तर पिसाब अवरोध भएन भने पत्थरी भएको चाल पाउँदैनन्।
त्यसैले हामीले खानपिनमा ध्यान दिन जरुरी छ। प्रशस्त पानी नपिउनेलार्ई पत्थरीको समस्या अलि बढी देखिन्छ। अहिले हामीले खाने पत्रु खाना, जसमा सोडियम भन्ने तत्त्व बढी पाइन्छ। सोडियमको पत्थर निर्माणमा भूमिका बढी हुन्छ। त्यसैले स्वस्थ जीवनशैली अपनाउनुपर्छ।
पत्थरीको उपचार विधि के हो ?
कसैलाई पत्थरी भयो भने सबैभन्दा पहिले कारण बुझ्नुपर्छ। कारण पत्ता लगाइसकेपछि विभिन्न परीक्षण हुन्छ। पत्थरीको कम्पोजिसन कसरी बनेको छ ?, कुन ठाउँमा पत्थरी बनेको छ ?, कत्रो छ ?, भन्ने पत्ता लाग्छ।
त्यसले मिर्गौलामा कतिको असर गरेको छ त्यो अनुसार बिरामीलाई प्रविधिबारे जानकारी गराएर उपचार थाल्छौँ। सानातिना पत्थरी त औषधि, पानी र झोल पदार्थ सेवनबाटै झार्न सकिन्छ।
औषधिको सेवनले पत्थरीलाई कमजोर बनाएर तथा मसिनो बनाएर पिसाबको माध्यमबाट झार्न सहयोग पुर्याउछ। तर १.५ सेन्टीमिटर वा त्यो भन्दा ठूलो भएर पिसाब रोकिएको छ भने त्यसलाई निकाल्नु पर्छ।
अहिले नेपालमा पनि पत्थरी निकाल्ने विभिन्न प्रविधिहरु भित्रिएका छन्। जस्तै पर्कुटेनियस नेफ्रोलिथोटोमी प्रणाली ( पिसिएनएल) यो विधि मिर्गौलामा १ सेमीभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएनएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) बाट हटाइन्छ।
यस्तै हामीले एक्स्ट्राकरपोरियल सक वेभ लिथोट्रिप्सी (इएसडब्लुएल)बाट पनि पत्थरीको उपचार गर्न सक्छौँ। सिटी स्क्यानबाट हेर्दा पत्थरी नरम अर्थात् १० मिमि (१ सेमी ) भन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा मुत्रनलीको माथिल्लो भागमा छ भने नचिरीकन (इएसडब्लुएल) विधिबाट पत्थरीको उपचार गरिन्छ।
कतिपय अवस्थामा दुईदेखि तीन पटकसम्म उपचार गर्नुपर्ने हुनसक्छ। कसै-कसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनु पर्ने हुन्छ। यो विधिबाट करिब २ घण्टामै उपचार सम्भव छ। यो विधिको प्रयोग गर्दा बिरामीहरू अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। त्यसैगरी मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआइआरएस) विधिबाट निकाल्न सकिन्छ।
१५ देखि २० मिमि(१ देखि २ सेमी ) सम्मको पत्थरीको लागि आरआइआरएस आकर्षक उपचार प्रविधि हो। त्योभन्दा ठूलो पत्थरीको लागि आरआइआरएस गर्दा पूरै निखार्न दोस्रो पल्ट पनि गर्नुपर्ने हुनसक्छ।
यस प्रविधिमा आधुनिक मेसिन पिसाबको नलीहुँदै मिर्गौलासम्म पुगेर लेजरबाट पत्थरी फुटाइन्छ। पत्थरीका ठूला टुक्राहरू बास्केट भन्ने औजार प्रयोग गरी निकाल्न सकिन्छ। अथवा लेजरबाट मसिनो धुलोहरू बनाई पिसाबबाट बगाएर निकाल्न सकिन्छ।
आरआइआरएस गर्दा कुनै घाउ अथवा मिर्गौलामा प्वाल पार्नु नपर्ने भएको हुँदा अपरेसनपछि हुने दुखाइ न्यून हुन्छ। सबै प्रविधि अपनाउँदा पनि भएन भने कहिलेकाही अप्रेसन नै गरेर निकाल्नुपर्ने हुन्छ। त्यसो त सबैभन्दा पहिले पत्थरीको सङ्ख्या र आकार, पत्थरी रहेको स्थान, पत्थरीको कडापन, मिर्गौला र पिसाब नलीलाई पत्थरीले पारेको असर र पहिलो पल्ट परेको पत्थरी वा अपरेसनपछि बाँकी रहेको पत्थरी जस्ता थुप्रै कुराको आधारमा शल्यक्रियाको पद्धति छान्नुपर्ने हुन्छ।
त्यसकारण मिर्गौलाको पत्थरीको उपचार गर्ने क्रममा चिकित्सकसँग सबै पद्धतिहरूको सम्भावना, फाइदा, बेफाइदा, र सम्भावित जटिलता अनि विकल्पबारे राम्रोसँग परामर्श लिनुपर्छ । मैले अगाडि नै भनिसकेँ प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गरे सानातिना पत्थरी आफैँ पिसाबसँगै झर्ने हुन्छ।
पत्थरी हुनै नदिन के गर्ने ?
सबैभन्दा उत्तम उपाय त प्रशस्त पानी पिउने। २४ घण्टामा २.५ लिटर पिसाब बन्ने गरी पानी तथा झोलिलो पदार्थ पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ।
यस्तै मासु कम खाने, सागसब्जी धेरै खाने, नुन कम खाने, नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खानेकुरा र धेरै मात्रामा अचार नखाने। सुन्तला, कागतीजस्ता बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्ता पोटासियम बढी हुने खानेकुराको सेवन गर्दा पत्थरीको सम्भावना कम हुन्छ।
एकपटक भएपछि पत्थरी दोहोरिने सम्भावना हुन्छ की हुदैन ?
एकपटक पत्थरी निकालीसकेपछि पाँच वर्षभित्र फेरी पनि दोहोरिने सम्भावना ५० प्रतिशत छ। त्यही भएर हामीले पत्थरीको कारणबारे अनुसन्धान गर्न जरुरी छ। एकपटक पत्थरी निकाल्नु भनेको पूरै निवारण नै हुनु हो भन्ने बुझ्नु भएन। त्यसैले पत्थरीको उपचार गर्नुपूर्व यसको जड पत्ता लगाएर त्यही अनुसारको उपचार विधि अपनायौँ भने दोहाेिरने सम्भावना रहँदैन।
प्रकाश बस्याल
तपाईँको अभिमत