भेरी अस्पताल नेपालगञ्जमा सिफिलिससम्बन्धी एक वर्षे वैज्ञानिक अध्ययन सुरु
भेरी अस्पताल नेपालगञ्जमा सिफिलिस रोगसम्बन्धी एक वर्षे वैज्ञानिक अध्ययन सुरु गरिएको छ। अध्ययनले सिफिलिसको आर्थिक, सामाजिक र व्यवहारिक पक्षलाई केन्द्रमा राख्दै विशेषगरी जोखिमपूर्ण यौन व्यवहारमा संलग्न किशोरी तथा युवा महिलाहरूमा पर्ने प्रभावको विश्लेषण गर्ने भेरी अस्पतालका प्रमुख परामर्शदाता, छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईंले जानकारी दिनुभयो।
डा. चापागाईंका अनुसार सिफिलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा हेर्नु हुँदैन। “सिफिलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, लागूपदार्थको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या हो,” उहाँले भन्नुभयो। अध्ययनको उद्देश्य दैनिक चिकित्सकीय अभ्यासमा देखिएका यथार्थ अवस्थालाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नु रहेको उहाँको भनाइ छ।
भेरी अस्पतालमा सिफिलिस तथा अन्य यौनजन्य रोगको परीक्षण, उपचार र परामर्शका लागि ‘भेनस कर्नर’ स्थापना गरिएको डा. चापागाईंले जानकारी दिनुभयो। “सिफिलिसको जोखिम बढ्दो क्रममा रहेकाले बिरामीले सहज रूपमा अस्पताल सेवा पाउन सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,” उहाँले बताउनुभयो।
डा. चापागाईंले उपचार पूरा गरिसकेका धेरै व्यक्तिहरू रक्त परीक्षणमा एकपटक पोजेटिभ आएको आधारमा वैदेशिक रोजगारीबाट वञ्चित भइरहेको गम्भीर विषय उठाउनुभयो। उहाँका अनुसार यसले रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ। “पोजेटिभ हुनु भनेको सधैं संक्रमण सर्ने अवस्था हो भन्ने होइन भन्ने कुरा प्रमाणसहित स्थापित गर्न आवश्यक छ,” उहाँले जोड दिनुभयो।
अध्ययनबाट सिफिलिसको वास्तविक प्रचलन, उपचारमा देखिने व्यावहारिक चुनौती, स्वास्थ्यकर्मीहरूबीच रहेको अन्योल, तथा बिरामीले भोग्नुपर्ने सामाजिक लाञ्छनाबारे तथ्यपरक जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। साथै, यसले राष्ट्रिय यौनजन्य रोग उपचार निर्देशिका र वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधार गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
डा. चापागाईंले सिफिलिस समयमै परीक्षण र उपचार गरे पूर्ण रूपमा निको हुने रोग भएको उल्लेख गर्दै सर्वसाधारणलाई ढिला नगरी स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो।
यो अनुसन्धान २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने जनाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत