डाक्टरहरू अगाडि आउनेबित्तिकै भैरे धुरुधुरु रुन थाले
भदौ १५ गते बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरू बिरामीको भिजिटमा थिए ।
वार्ड तथा आइसीयूमा भर्ना भएका बिरामीको भिजिट गर्न प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, डा.कजन राज श्रेष्ठ, डा. दिनेश गुरुङ, डा. राम थापा क्षेत्रीको टोली खटिएको थियो।
मनमोहन कार्डियोको आइसियूमा भर्ना भएकी थिइन् हुम्ला जिल्लाकी ४० वर्षीया लक्ष्मी भुमी । लक्ष्मीको बारेमा बुझ्न डाक्टरहरूले उनका आफन्तको खोजी गरे । लक्ष्मीका पति भैरै डाक्टरको अघिल्लतिर खडा भए । डाक्टरहरूको नजिक आउनेवित्तिकै भैरै धुरुधुरु रुन थाले । डाक्टरहरूले सोधेका प्रश्नको उत्तर दिनुको सट्टा उनी एकोहोरो रोइरहे ।
उनी रोएको देखेर अस्पतालका अन्य बिरामी र तिनका आफन्त समेत दुखी बने । डाक्टरहरूले भैरैलाई रुनुका कारण सोधे । उनले हिम्मत निकालेर आफू बेखर्ची भएको दुखेसो पोखे । साथमा एक रुपैयाँ पनि नहुँदा बिरामी र आफूले खानासमेत खान नपाएको उनले बताए।
त्यसपछि डाक्टरहरूले उनको व्यथा खोतल्न थाले ।
हुम्लाको विकट गाउँदेखि काठमाडौँसम्म
भुमी दम्पतीको घर कर्णालीको हुम्ला जिल्ला ओदानचुली गाउँपालिका–४ बिगुठी हो । लक्ष्मी भुमी साउनको पहिलो साताबाट बिरामी परिन् । उनका पति भैरे बताए अनुसार उनलाई खुट्टा सुन्निने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिए ।
लक्ष्मीलाई केही वर्षदेखि नै विभिन्न स्वास्थ्य समस्याले सताइरहेको थियो । उनका पतिका अनुसार हुम्ला जिल्ला अस्पताल, सुर्खेत, नेपालगन्जका अस्पतालमा आएर परीक्षण गरी लक्ष्मीको उपचार गरिएको थियो । ती अस्पतालहरूमा परीक्षण गर्दा निमोनियाको समस्या छ भनी डाक्टरले औषधि दिएर पठाउने गरेका थिए । त्यही औषधि खाएपछि उनको रोग केही कम भएको थियो ।
यस पटक भैरैले श्रीमती लक्ष्मीलाई सिधै काठमाडौं ल्याउने निर्णय गरे । उनको गाउँबाट काठमाडौं आइपुग्न कम्ता दुःख छैन । गाडी चढ्ने ठाउँसम्म आइपुग्नै २ दिन हिड्नुपर्छ। उनीहरू घरबाट २ दिन हिँडेर गाडी चढी बाजुरासम्म आए । त्यहाँबाट नेपालगन्जसम्म र नेपालगन्जबाट काठमाडौंसम्म जहाजमा आएका थिए ।
काठमाडौं आएर सुरुमा लक्ष्मीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कजेलमा भर्ना गरियो । केहीदिन काठमाडौं मेडिकल कलेजमा उपचार गरेपछि त्यहाँबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर जान भनियो । लक्ष्मीलाई भदौ १४ गते मनमोहन कार्डियोमा भर्ना गरिएको थियो।
१४ गते मनमोहन कार्डियोको आइसीयूमा भर्ना भएकी लक्ष्मीको बारेमा १५ गते बिहान डाक्टरको टोलीले उनका पति भैरेसँग जानकारी लिन खोजेकाे थियाे ।
घरमा रहेका खसी बेचेर, केही ऋण गरेर ल्याएको पैसा काठमाडौं मेडिकल कजेलजमा उपचार गर्दैमा सकिएको भैरेले हेल्थपाटीसँग बताए । पत्नी लक्ष्मीको उपचारका लागि उनले केही जग्गा समेत बेचेर खर्च जुटाएका थिए ।
यी सबै कुरा डाक्टरहरूलाई सुनाइसकेपछि विपन्नका लागि राखिएको छुट व्यवस्था अन्तर्गतको १५ हजार लक्ष्मीको उचारका लागि सहयोग गर्ने निर्णय भास्कुलर सर्जन डाक्टर दिनेश गुरुङले गरे ।
अस्पतालमा रहेका अन्य बिरामीका आफन्त तथा कुरुवाहरूले पनि भैरे दम्पतीलाई सहयोग दियो । कसैले ५ हजार कसैले ५०, कसैले हजार गरेर सहयोग गरेको भैरेले बताए । ‘उहाँहरूले सहयोग गरेर निकै सजिलो भयो नी’ भैरेले भने ।
लक्ष्मीको फोक्सोको रक्तनलीमा रगत जमेको र उनलाई क्षयरोगसमेत रहेको उपचारमा संलग्न डाक्टर राम थापाले बताए । उपचारमा संलग्न डाक्टर र अन्य व्यक्तिहरूको सहयोगले लक्ष्मीको उपचार अघि बढ्यो । मनमोहन कार्डियोको सामाजिक सेवा इकाईले उनको उपचारमा निश्चित छुट गर्यो ।

उपचारपछि उनको डिस्चार्ज गर्ने समय भयो । डा. राम थापा क्षेत्रीका अनुसार छुटका बाबजुद पनि उपचार गरेको करिब १ लाख रकम बिलमा उठेको थियो । त्यो कसरी तिर्ने भैरे दम्पतिलाई फसाद पर्यो । बिल तिरेर बिरामीलाई लैजाने अवस्था थिएन । भैरे फेरि उपचारमा संलग्न डाक्टरहरूसँगै रोइकराइ गर्न थाले ।
त्यसपछि डाक्टर राम थापाले भैरेलाई मनमोहन कार्डियोका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठ कहाँ लिएर गए । उनको बारेमा सबै बेलिविस्तार लगाए ।

गाउँपालिकाबाट आवश्यक सिफारिस ल्याएमा छुट गर्नेसक्ने डाक्टर श्रेष्ठले बताए । डा. राम थापाका अनुसार गाउँपालिकाबाट सिफारिस ल्याउन भनेपछि भैरे निराश भए । यहाँको भाषा समेत राम्रोसँग नजान्ने भैरेले के कसो गर्ने भेउ पाउनै सकेनन् । उति टाढा गएर सिफारिस ल्याउनु कसरी ?
‘मैले अब केही गर्न सकिन भनेर उनले अस्पतालका कागजहरू सबै च्यात्न खोजेका थिए’ डा. थापा भन्छन् । त्यसपछि डा.थापाले हुम्ला ओदानचुली गाउँपालिकाका जनप्रतिनिधिसँग सम्पर्क गरेर यो–यो व्यहोराको सिफारिस पठाउँनु भनेर अनलाइनमार्फत जानकारी पठाए।
गाउँपालिकाले सोही व्यहोराको रिफारिस बनाएर पठाएपछि अस्पतालमा तिर्नुपर्ने सबै शुल्क मिनाह भयो । यसपछि लक्ष्मी भदौ २८ गते डिस्चार्ज भएको डा. थापाले जानकारी दिए ।
मनमोहन कार्डियोमा कार्यरत डाक्टर राम थापा क्षेत्रीका अनुसार औषधि खाएरै लक्ष्मीको रोग निको हुने चरणमा छ । अति गरिबीका कारण पोषण अभाव भएर उनलाई क्षयरोग देखिएको उनले बताए ।
भैरे दम्पती अहिले काठमाडौंको मुलपानीस्थित हुम्ला जिल्लाकै एक व्यक्तिकाे घरमा बसिरहेका छन् । घरमा राखेर सहयाेग गर्ने व्यक्ति भैरे दम्पतीका आफन्त त हैनन् तर जिल्लाको मान्छे भएका नाताले सहयोग गरिरहेको भैरेले जानकारी दिए । लक्ष्मीलाई अस्पतालमा फलोअपका लागि बोलाइएको छ ।
फलोअपमा गएपछि डाक्टरको सल्लाहअनुसार जिल्ला फर्कने भैरेले सुनाए । साना २ छोरा र एक छोरीलाई घरमा छाडेर आएका भुमी दम्पतीलाई छाेराछाेरीकाे चिन्ताले पिरोलिरहन्छ । जेठा छोरा १० वर्षका छन् । अर्का छोरा ७ वर्षका र साढे ४ वर्षकी छोरी छिन् ।
जेठा छोरालाई घरको जिम्मेवारी छाडेर आएको भैरेले सुनाए । भाइ बहिनीलाई खाना पकाउने, खुवाउने, हेरचाह गर्ने सबै काम उनीहरूका १० वर्षीय छाेराले गरिरहेका छन्।
सामान्य उपचारबाट निको हुने रोग लाग्दा पनि गरिबलाई बाच्न निकै सास्ती रहेको भैरेको पीडालाई नजिकबाट नियालेका डाक्टर राम थापा क्षेत्री बताउँछन्।

केदार गौतम
तपाईँको अभिमत