तीज : पानीसमेत नखाई ब्रत बस्दा पुग्नसक्छ मिर्गौलामा हानी
महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । महिलाहरु भेटघाट गरि हर्षाैल्लासका साथ दर खाने कार्यक्रम मनाइरहेका छन् । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ ।दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तिजलाई सामाजिक, सांस्कृतिक र लैंगिक महत्व उजागार गर्ने चाडको रुपमा लिइन्छ । विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र अविवाहित महिलाले राम्रो पति पाऊँ भन्ने कामनासहित दर खाएको भोलिपल्ट व्रत बस्ने चलन छ ।
तर पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा नराम्रोसँग असर पुग्ने चिकित्सकहरु बताउँछन् । विशेषगरी ग्याष्टिक, अल्सर तथा मुटुको रोगबाट पीडित महिलाहरुले ब्रत बस्नै हुँदैन । स्वस्थ महिलाहरु पनि पानी नै नखाई व्रत बस्दा उनीहरुलाई रोगी बनाउने अनुभव चिकित्सकहरुसँग छ ।
यतिसम्म कि एक दिनको निराहार व्रतले पनि स्वास्थ्यमा असर पुग्ने गरेको पाइएको छ । वरिष्ठ पेटरोग विशेषज्ञ डा.शशी शर्माले पानी नै नखाई व्रत बस्दा शरीरमा पानीको मात्रा कम भई सीधै मिर्गाैलालाई असर पुर्याउने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
‘अल्सरका बिरामी त व्रत बस्नै हुँदैन, झन् घाउ बढ्छ' डा. शर्मा भन्नुहुन्छ, 'साथै पानी नखाई व्रत बसेर नाँच्दा शरीर कमजोर हुने र बेहोस् भएर धेरै महिलाहरु अस्पताल भर्ना भएको मैले देखेको छु, धेरैको उपचार मैले गरेको छु ।’
यसैगरी वरिष्ठ मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द श्रेष्ठले शरीरलाई सुख्खा राखेर व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउनुभयो । उहाँले पानी नखाई शरीरलाई सुख्खा बनाउँदा मिर्गाैलामा असर पुग्नसक्ने भन्दै आफ्नो स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्न आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत