नर्सिङ पेशामा व्यक्तिगत जीवन भन्ने नै हुँदैन(भिडियो)
काठमाडाैं माेडल अस्पताल नर्सिङ क्याम्पसमा बीएसस्सी चाैथाे वर्षमा अध्ययनरत माेनिका गिरी आफू नर्स भएकाेमा निकै गाैरव ठान्नुहुन्छ।
उहाँ बिरामीकाे उपचारमा समय बिताउन पाउँदा आफूलाई भाग्यमानी ठान्नुहुन्छ । बिरामीसँगै बिताएका हरेक पलले जीवन बुझ्न, देख्न अवसर मिलेकाे उहाँ बताउनुहुन्छ ।
मोनिकाका अनुसार नर्सिङ शिक्षाले बिरामीसँग धेरै भावनात्मक बन्नहुँदैन भन्छ। नर्सिङ शिक्षामा भाैतिक रुपमा बिरामीसँग अतिनजिक र बिरामीकाे विश्वासपात्र हुनपर्छ भन्ने सिद्धान्त छ । बिरामीलाई रिझाउन सक्नु पर्छ तर उनीहरूसँग बढी भावनात्मक बन्नु हुँदैन।
नर्सिङ पेशामा व्यक्तिगत जीवन नै नहुने मोनिका बताउनुहुन्छ। नर्सहरु छुच्चा हुन्छन् भनेकाे सुन्दा उहाँलाई दु:ख लाग्छ । नेपाली नर्स बाहिर जाँदा राम्रो हुने तर नेपालमा नराम्रो हुने यस्ताे पनि हुन्छर उहाँ प्रश्न गर्नुहुन्छ ।
अध्ययनकै क्रममा इन्टर्न गर्दा गिरीले धेरै बिरामीसँग भेट्ने माैका पाउनुभयाे । यसबीचमा उहाँ कतिपय ज्येष्ठ नागरिककाे उपचारमा पनि खटिनपर्यो। ती आमाहरुले जिस्किएर बुहारी बनाउन मन लाग्याे भन्दा आफूलाई बिरामीसँग थप नजिक भएकाे आभाष हुने अनुभव उहाँ सुनाउनुहु्न्छ । उहाँले थापाथली अस्पताल, कान्ति अस्पताल, मानसिक अस्पतालमा इन्टर्न गर्नुभयाे ।
डिस्चार्ज भएर जाँदा बिरामी र उनीहरुकाे आफन्तले धन्यवाद भन्दा निकै खुशी लाग्ने गरेकाे मोनिका बताउनुहुन्छ । नर्सिङमा उहाँकाे करिअर सुरु हुँदैछ । नर्सकाे दायरा निकै फराकिलाे छ । नर्स अस्पतालमा मात्रै होइन एयर होस्टेस, स्कुल, औद्योगिक क्षेत्रसम्म चाहिन्छ । त्यसैले उहाँले नर्सिङमा राम्राे भविष्य देख्नुभएकाे छ ।
तर नेपालमा नर्सिङ पेशालाई इज्जत नदिने गरेकाे उहाँको गुनासो छ । नर्सकाे सेवा सुविधामा कमी त छँदैछ, याे पेशाप्रति जनमानसले हेर्ने दृष्टिकोणमै समस्या रहेकाे उहाँकाे बुझाइ छ । सेवा सुविधामा कमी हुँदा आफूहरुकाे आधारभूत आवश्यकता पूरा गर्नै कठिन देखिएकाे मोनिकाको गुनासो छ।
‘नागिरकले नर्सलाई डाक्टरको वरिपरि हिड्ने व्यक्तिको रुपमा लिनुहुन्छ, सुइ लगाउने, डाक्टरले लेखेको औषधि दिने त हो भन्ने बुझ्नुहुन्छ हामी नर्सकाे आफ्नै इज्जत छ, जिम्मेवारी छ, अनि अधिकार छ । यसबारे नागरिकलाई बुझाउनुपर्ने आवश्यक छ' मोनिका भन्नुहुन्छ।
काठमाडाैँ माेडल हस्पिटल नर्सिङ क्याम्पसमा बीएसस्सी चाैथाे वर्षमा अध्ययनरत माेनिका गिरीसँग नर्सिङ पेशा र यसको नर्सिङ शिक्षा र पेशामा बेथितीबारे हेल्थपाटीका लागि तुलसा घिमिरेले गर्नुभएको कुराकानी।
हेल्थपाटी
तपाईँको अभिमत