'ठिक छु' भन्दाभन्दै स्वास्थ्यकर्मी भतिजीको कोरोनाबाट ज्यान गयो
जाजरकोटका भीमराज सिंह स्वास्थ्य सेवामा लाग्नुभएको १३ वर्ष भयो । लोक सेवा परीक्षा पास गरेर स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका उहाँको पहिलो पोष्टिङ दार्चुलाको विकट गाउँमा भयो । त्यो गाउँमा ६ महिना हिउँ पर्थ्यो ।
सानैदेखि निमोनियाको बिरामी उहाँलाई चिसो वातावरणले स्वास्थ्यमा थप समस्या ल्यायो । ३ वर्ष दार्चुलामा रहँदा उहाँको फोक्सोमा घाउहरु देखिए । डाक्टरले भने– खोकीबाट बच्नुपर्छ । खोकी लागे फोक्सोको घाउँ ठूलो हुन्छ र स्वास्थ्यमा थप जटिलता आउँछ ।
यो कुराले उहाँ र परिवार निकै डराएका थिए । यसपछि भीमलाई सकेसम्म खोकी बाट बच्नुपर्ने भयो ।
गतसाल उहाँलाई कोरोना संक्रमण भयो । असोज २३ गते कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि १४ दिनसम्म अस्पताल बस्नुभयो ।
कोरोना संक्रमण हुँदा धेरैलाई ज्वरो आउने, बेस्सरी खोकी लाग्ने, शरीर दुख्ने भएको देख्नुभएका भीमले आफुलाई खोकी नलागोस् भनेर भगवानसँग प्रार्थना गरिरहनु भयो । त्यतिबेला उहाँ स्वास्थ्य राज्यमन्त्री नवराज रावतको स्वकिय सचिव हुनुहुन्थ्यो ।
केही दिन अगाडि मकवानपुरको एक कार्यक्रममा जाँदा गाडीमा सँगै गएका व्यक्तिबाट संक्रमण सरेको उहाँको अनुमान थियो । त्यतिबेला मन्त्रीबाहेक आफूसहित सचिवालयका सबैलाई संक्रमण भएको उहाँले सुनाउनुभयो ।
उहाँमा पखाला, लाग्ने, ज्वरो आउने, पसिना आउने लक्षण देखिएको थियो ।
कार्तिक १० गते दशैंको टीकाको दिन थियो । ६ गते डिस्चार्ज हुनुभएका सिंह दशँै मान्न ९ गते नेपालगञ्ज कोहलपुर पुग्नुभयो ।
परिवारसँग जमघट गरी टीका लगाएर उहाँ भोलिपल्ट काठमाडौं फर्कनुभयो ।त्यसको ५ दिनपछि कार्तिक १६ गते उहाँलाई एक्कासी ज्वरो आयो । चिटचिट पसिना आउन थाल्यो । कोरोनासँग मिल्ने सबै लक्षणहरु देखिए ।
केहीदिन अगाडि मात्रै संक्रमणमुक्त भएकाल दोर्याएर संक्रमण भयो भन्ने कल्पना उहाँले गर्नुभएन । १०३ ज्वरो आएर शिथिल भएपछि अस्पताल पुग्नुभएका उहाँको पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आयो । पहिलो पटकको भन्दा निकै गाह्रो बनायो । फोक्सोको बिरामी भएकाले उहाँलाई आइसीयुमै राख्नुपर्ने डाक्टरले बताए ।
आइसियुमा बस्दा आफू झनै आत्तिने भन्दै उहाँले एक दुई दिन वार्डमै राख्न डाक्टरहरुलाई अनुरोध गर्नुभयो । डाक्टरले त्यतिबेला पनि भनेका थिए, खोकी लागे अवस्था गम्भीर हुनेछ । एक–दुई दिनमा उहाँको स्वास्थ्यमा सुधार आयो । २ हप्तापछि घर जानुभएका उहाँलाई एक महिनासम्म निकैनै गाह्रो बनायो ।
पोष्ट कोभिडले झनै चाप्यो । पसिनाले निथु्रकै भिजेर रातमा ३–४ पटक लुगा फेर्नुपथ्र्याे । भीमलाई २५ दिनको बीचमा २ पटक कोरोना संक्रमण भयो । उहाँलाई अहिलेपनि डाक्टरले भेट्दा धन्न तिमी बाच्यौँ भन्ने गर्छन् ।
भीमलाई पनि आफू भाग्यले मात्रै बाँचे जस्तो लाग्छ । भीम कोरोनालाई हल्का रुपमा नलिन आग्रह गर्नुहुन्छ ।
कोरोना केही होइन भनेर हल्का रुपमा लिँदा आफ्नी २६ वर्षकी भतिजीको निधन भएको उहाँ बताउनुहुन्छ । उहाँको भतिजी पनि स्वास्थ्यकर्मी नै हुनुहुन्थ्यो । गत जेठमा भीमको परिवारको ११ जना सदस्यलाई एकैपटक कोरोना संक्रमण भयो । ७५ वर्षका बुबालाई पनि संक्रमण भयो । भाउजू पनि दीर्घ रोगी भएकाले सबैको ध्यान बुबा र भाउजूतर्फ केन्द्रित भयो ।
संक्रमण भएपनि अरु सबै सामान्य थिए । कोहल्पुर मेडिकल कलेजको फार्मेसीमा कार्यरत भतिजीले फोन गर्दा आफू ठिक रहेकोले चिन्ता नलिन बारम्बार भन्ने गर्थिन् । गर्भवती रहेकाले अस्पताल जान बारम्बार भन्दा आफूलाई गाह्रो नभएको मात्रै भन्ने गरेको भीमले सुनाउनुभयो।
तर संक्रमण भएको सातौं दिनमा भतिजीको अक्सिजन लेभल एक्कासी १५ मा झरेछ । त्यसपछि भतिजीले काका भीमलाई फोन गरेर मलाई बचाउनुस भनेकी थिइन् ।
हवाइमार्फत काठमाडौं ल्याउने सक्दो प्रयास भयो । तर बिरामीको अवस्थाका कारण डाक्टरहरुले पठाएनन् । भीम सोही रात कोहल्पुर गएर भेरी अस्पतालमा एउटा भेन्टिलेटरको जोहो त गर्नुभयो तर भतिजीलाई फिर्ता ल्याउन सक्नुभएन । अन्तत जेठ १ गते भतिजीको मृत्यु भयो ।
‘यदि भतिजीले खोप लगाएको भए र बेलैमा अस्पताल पुगेको भए उसको अकाल मृत्यु हुने थिएन’ भीम भन्नुहुन्छ । कोरोनालाई हल्का रुपमा लिएर आफुलाई केही हुँदैन भन्ने मानसिकताले गर्भवती भतिजीको मृत्यु भएको भीमको बुझाइ छ । धेरैजसो अवस्थामा आत्मबलले फाइदामात्रै पुर्याउँछ तर आफ्नी भतिजीको त्यही आत्मब नै अकालमा ज्यान जाने कारण बनेको उहाँ सुनाउनुहुन्छ ।
‘अहिले कोरोना विरुद्धको खोप धेरैले लगाइसकेको र धेरै संक्रमित भइसक्दा एन्टीबडी विकास भएकाले पनि केही संक्रमण घटेको जस्तो देखिएको छ । तर जोखिम उस्तै छ । खोप लगाएको छु भन्दैमा स्वास्थ्यका मापदण्ड पालना नगर्ने हो अवस्था गम्भीर हुने जोखिम उच्च छ’ भीम भन्नुहुन्छ गत वर्ष खोप पनि नभएको सुरुवाती अवस्था रहेकाले मानिसहरुले त्रसित थिए तर अहिले खोप भएकाले केही ढुक्क भएको देखिन्छ तर जोखिम कायमै छ।’
तुलसा घिमिरे
तपाईँको अभिमत