खुवाउन नजान्दा मोटोपनको शिकार बन्दै बालबालिका
ओखलढुंगाकी मनरिता धमला (परिवर्तित नाम)ले बाल्यकालमा कुपोषणको शिकार बन्नु पर्यो । १२ वर्षको उमेरसम्म ख्याउटे शरीर लिएर हिँडेकी उनले कुपोषणकै कारण विभिन्न दुव्र्यवहार सहनुपर्यो ।
उनलाई लाग्थ्यो-आफ्ना सन्तान भएपछि उनीहरूलाई राम्रो खाना ख्वाउनेछु ।
७ वर्षअघि उनले काठमाडौंको थापाथली अस्पतालमा छोरीलाई जन्मदिइन्। उनकी छोरीको तौल जन्मदा ३.२ केजी थियो। मनरिताले पास्नीपछि आफ्नो दूधसँगै पटक-पटक जाउलो, लिटो खुवाउन थालिन्।
उमेर बढ्दै जाँदा त्यही अनुपातमा छोरीको खाना बढाएकी उनलाई छोरीको मोटोपनाको ख्याल नै भएन।
स्कुल जान थालेपछि स्कुलमा पनि खाजा र खानाको व्यवस्था थियो। मनरिता घरमा पनि पटक-पटक ख्वाउँथिन्। अहिले उनलाई थोरै खानाले पुग्दैन। ७ वर्षीया छोरीको तौल ४३ केजी पुग्यो। जबकी उनको उमेर अनुसार तौल २४ केजी हुनुपर्ने थियो। त्यसपछि डाक्टरकहाँ पुगेकी मनरिताले थाहा पाइन्-अतिखाना पनि पोषणका हिसाबले ठिक रहेनछ। अहिले उनी डाइटिसियनको डाइट चार्टअनुसार छोरीलाई खान दिइरहेकी छिन्।
४ वर्षका सुयोग पन्थी (परिवर्तित नाम) हजुरबाका बुढेसकालका साथी हुन्। उनका हजुरबाले आफ्नो वृद्धभक्ताको आधा भन्दा धेरै रकम त नातीको फर्माइसमै सिध्याए। नातीसँगै धेरै समय बिताउने उनले नातीले जे भन्यो त्यही किनिदिन्थे। उनलाई चाउचाउ र चकलेट खाने लत बस्यो। यही लतका कारण उनको तौल अहिले २८ केजी पुगेको छ। उनको उमेर अनुसारको तौल १६ केजी मात्रै हुनुपर्ने हो।
पछिल्ला वर्षहरूमा बालबालिकामा मोटोपना समस्याकै रुपमा देखा परेको बालरोग विशेषज्ञ डा. स्मृति माथेमा बताउँछिन्। कोभिडपछि यो समस्या झन् बिकराल बन्दै गएको उनको भनाइ छ।
कसैमा वंशाणुगत कारणले पनि मोटोपनको समस्या देखिन सक्छ । तर यसको मुख्य कारण अस्वस्थ्यकर आहार नै रहेको माथेमाले जानकारी दिइन् ।
शारीरिक क्रियाकलापको कमी, धेरै समय मोबाइल तथा टिभीमा बिताउने तथा उच्च प्रशोधित खानाको सेवनले बालबालिकामा मोटोपन बढ्दै गएको विज्ञहरूको ठहर छ।
पछिल्लो समय बालबालिकामा मोटोपन एउटा गम्भीर स्वास्थ्य समस्या बन्दै गएको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पनि उल्लेख गरेको छ। सन् २०२२ को डब्लुएचओ युरोपियन रिजनल ओबेसिटी रिपोर्टले ३ मध्ये १ स्कुले बालबालिकामा मोटोपनको समस्या देखाएको छ। डब्लुएचओले २ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोर-किशोरीमाथि सर्वेक्षण गरेको थियो।
नेपालमा पनि बजारका प्रशोधित खानेकुराको प्रयोग बढेसँगै बालबालिकामा मोटोपन बढ्दै गएको छ।
सामाजिक सञ्जालमा यस्ता खानेकुराका बारेमा आउने प्रचार–प्रसारले पनि बच्चाहरूमा प्रभाव परिरहेको डा.माथेमा बताउँछिन्। ५ वर्ष मुनिका १ प्रतिशत बालबालिका मोटोपनको समस्यासँग जुधिरहेको माथेमाको भनाइ छ।
आमाले पोषणयुक्त खाने कुरा नखादा पनि बालबालिकामा मोटोपनको समस्या देखिने पोषणविद् विनिता पन्त बताउँछिन्। आमाले गर्भावस्थामा अस्वस्थ्यकर खाना खाँदा त्यसको प्रभाव बच्चाको जीवनमा पर्ने पन्त बताउँछिन्। ‘धेरै आमाले घरको खानेकुरा खाइरहेका हुँदैनन्। बच्चा पेटमा हुँदादेखि नै बाहिरको खानेकुरा खाने आमाहरूको तौल पनि नर्मल भन्दा बढी हुन्छ’ पन्त भन्छिन् ‘गर्भावस्थाका बेलामा १०-१२ केजीसम्म बढ्नुपर्छ तर २०-२५ केजीसम्म पनि आमाहरूको तौल बढिरहेको हुन्छ।’
गर्भाअवसथामा आमाको तौल धेरै भएको खण्डमा यो समस्या जन्मिने बच्चामा पनि देखिने पन्तको भनाइ छ । यस्ता समस्या शहरी क्षेत्रमा धेरै देखिने उनले जानकारी दिइन् ।
बच्चामा देखिने मोटोपना रोक्न आमाले पनि गर्भावस्थामा ध्यान दिनुपर्ने पोषणविज्ञहरूको भनाइ छ। गर्भावस्थामा राम्रो पोषण, ६ महिनासम्म स्तनपान र त्यसपछि राम्रो आहारविहारमा ध्यान दिन सकेको खण्डमा बालबालिकाले मोटोपनको शिकार बन्नु नपर्ने पोषणविद् पन्त बताउँछिन्।
आमाको स्तनपान गरेका बच्चामा भन्दा धेरै बोतलबाट दुध खाने बच्चामा बढी मोटोपनको समस्या देखिने बालरोग विशेषज्ञ डा.स्मृति माथेमाले जानकारी दिइन्।
‘स्तनपान गर्दा बच्चाले केही उर्जा खर्च गरेर खान्छ र ठिक्कको मात्रा खान्छ तर बोतलबाट खाँदा उसले बढी मात्रामा दूध खाइरहेको हुन सक्छ’ डा.माथेमा सुनाउँछिन् ‘मोटोपनको समस्या त्यहीँबाट सुरु भइसकेको हुन्छ। बच्चा मोटोघाटो भइसकेपछि स्वस्थ्य हुन्छन् भन्ने गलत बुझाइ छ।’
पोषणविद् पन्त सकेसम्म घरमै उपलब्ध हुने चिजहरूबाट परिकार बनाएर खुवाउने र बच्चाहरूलाई जंक फुडबाट टाढा राख्न सुझाउँछिन्। ‘मिलेसम्म स्तनपानमै जोड दिनुपर्छ। अहिले मोटोपनको समस्या बच्चालाई धेरै खुवाएर नै देखिएको हो’ पन्त भन्छिन् ‘जाउलो, लिटो घरमै बनाएर खुवाउनुपर्छ। ठिक्क मात्रामा खुवाउनुपर्छ।’
शरीरलाई चाहिने सूक्ष्म पोषकतत्व अभाव हुँदा बच्चामा मोटोपनाका साथै अन्य थुप्रै समस्या देखिने पोषणविद् अस्मिता ढुंगाना बताउँछिन्। ‘खाना धेरै खाँदैमा त्यो पोषणयुक्त हुन्छ भन्ने हुँदैन’ ढुंगाना भन्छिन्, ‘बच्चा होस् अथवा ठूला मानिस सबैले प्राप्त गर्ने पोषणको स्रोत हाम्रो खानपान नै हो । कुपोषित हुनबाट जोगाउन खानपानमा ध्यान दिनु र मात्रा मिलाएर खानदिनु अत्यावश्यक छ।’
धेरै आमाले मेरो बच्चाले खाएन भन्छन् तर बच्चालाई कति मात्रामा खुवाउनुपर्ने भन्ने कुराको जानकारी नहुँदा बच्चामा विभिन्न समस्या देखिने पोषणविद् ढुंगाना बताउँछिन्।
बच्चालाई खुवाउने खाना उसको उमेरलाई ठीक छ वा छैन भनेर परामर्श गर्ने चलन नहुँदा पनि यस्ता खाले समस्याको सामना गर्नु परेको उनको तर्क छ।
मोटोपन भएका बालबालिकामध्ये झण्डै ८० प्रतिशतमा युवावस्थामा पनि मोटोपन देखिन सक्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाउँछ।
हाल बालबालिका तथा किशोर-किशोरीमा मोटोपन एउटा गम्भीर जनस्वास्थ्यको समस्या बन्दै गएको छ। यसले विभिन्न रोगको जोखिम बढाउन सक्छ।
बालबालिकाहरूमा मोटोपनले शारीरिक समस्या मात्रै होइन मानसिक समस्या समेत देखिन सक्छ। उनीहरूमा आफ्नो शरीरलाई लिएर मनोबल कम गर्ने र अरुले जिस्क्याउँदा मानसिक समस्या निम्तने बालरोग विशेषज्ञ बताउँछन्।
पोषणविद् रुजु खड्काका अनुसार घरमा मात्रै पोषिलो खाना खाएर हुँदैन। विद्यालयमा पनि बच्चाहरूले स्वस्थ्यकर पोषणयुक्त खाना खान नपाएको उनको भनाइ छ। ‘अचेल धेरै विद्यालयमा खाना र खाजाको व्यवस्था हुन्छ। विद्यालयलहरूले पोषणविद्सँग सल्लाह लिएर आहार चार्ट बनाउनुपर्छ। कतिपयले बनाएका पनि छन्’ खड्का भन्छिन् ‘गर्मी तथा जाडोमा फरक आहार समावेश गरी चार्ट बनाउनुपर्छ। कतिपय विद्यालयमा चाउचाउ, मःम दिने गरेको पनि पाइएको र मैदा समावेश गरेको खानेकुरा खाने बच्चाहरूमा मोटोपन देखिएको छ।’
बच्चाहरूलाई दिने खाना सफा हुनुका साथै विभिन्न पोषणले युक्त हुनुपर्छ। आहारमा जरा र कन्दमूलहरू, पशुजन्य स्रोतबाट पाइने खानाहरू, दालहरू, फलफूलहरू र हरियो तरकारीहरू जस्ता विभिन्न प्रकारका खाद्य पदार्थहरू समावेश गर्नुपर्दछ।
यी खानाले आवश्यक पौष्टिक तत्व प्रदान गरेर ऊर्जा प्रदान गर्दछ जुन विकास र गतिविधिका लागि महत्वपूर्ण रहेको खड्काको भनाइ छ।
‘खानाको मात्रा बच्चाको उमेर वा भोकको आधारमा भिन्न हुन सक्छ। अन्नमा गहुँ, मकै, जौ, चामल, कोदो, फापर आदि पर्दछन् भने जरा र कन्दमूलहरूमा आलु, सक्खरखण्ड, पिँडालु, तरुल आदि पर्दछन्’ पोषणविद् ढुंगाना सुनाउँछिन्, ‘शिशु उमेरका बच्चाहरूका लागि पर्याप्त मात्रामा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र बी सुनिश्चित गर्न यी खानाहरू महत्वपूर्ण छन्।’
पशुजन्य खाद्य पदार्थअन्तर्गत अण्डा, माछा, मासु, दूध, दही र पनिर तथा दूधबाट बन्ने परिकारहरूमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार भिटामिन सी (जस्तैः फलफूल, फलफूलको रस र तरकारीहरू) युक्त खाना प्रोटिनयुक्त खाद्य पदार्थको साथमा मिलाउन सकियो भने यसले अझ धेरै फाइदा पुग्छ। यसो गर्नाले बच्चाको शरीरलाई खानेकुराबाट आइरन सोस्न मद्दत पुग्छ। हरियो तरकारी र फलफूलहरू महत्वपूर्ण भिटामिन र खनिजहरू जस्तै भिटामिन ए, भिटामिन सी, पोटासियम र फोलेट, साथसाथै फाइटोकेमिकल्स र फाइबरले भरिएका हुन्छन्।
घरमा पोषणमैत्री वातावरण सिर्जना गर्ने प्रक्रिया र नयाँ बानीहरू स्थापना गर्न गाह्रो हुनसक्छ तर आमाबाबुले निरन्तर प्रयास गर्ने हो भने यो सम्भव रहेको पोषणविद् ढुंगानाको भनाइ छ।
राधिका अधिकारी
तपाईँको अभिमत