मधुमेहले बिगार्छ–मुटु, मिर्गौला र मन

चाउचाउ, मैदाको मोटो सेतो पाउरोटी, स्वारी, जेरी, बिस्कुट, फ्रेचफ्राइ आदि खाँदा बडो स्वादिलो लाग्छ । बालबालिकालाई झन खाजा भनेर दिइन्छ । तर यसरी बालबालिकालाई खुसी पार्ने नाममा बाबुआमाले पत्तै पाउदैनन् कि–यसले गर्दा सानैदेखि बालबालिकाको मुटु र मिर्गाैला खराब पार्ने भइरहेको छ ।
सानैदेखि यस्तो खाना प्रयोग गर्नेहरुको शरीरमा जब ‘मधुमेह’ हुन्छ अनि हामी तर्सिन्छौँ । झन युवा अवस्थामा भए त पढ्ने, काम गर्ने जिन्दगी अगाडी बढाउने विचार गर्ने युवायुवतीलाई कसरी अव जीवन बिताउने, के खाने ? के पिउने ? भनेर छटपटी हुन्छ । जीवनभर औषधि खानुपर्छ भनेर चिन्ता हुन्छ । हामीलाई प्रिय लाग्ने मधु अर्थात महबाट आएको मधुमेह भयो त्यो सबैका लागि टाउकको दुखाइको विषय बन्छ ।
त पचांमृतमध्ये एक मानिने, त्यही मधु शरीरमा बढी भएपछि मानिस रोगी बन्छ । यो रोगको सुरुवात बालबालिकालाई थाहा नहुँदै आमाबाबुले सानैमा गरिदिन्छन्,अनेक थरिका गुलियो पेय पदार्थदेखि पत्रुखाना दिएर । अनि रोग लागेपछि झसंग हुन्छन् ।
पहिले–पहिले मधुमेह उमेर ४० कटेका व्यक्तिलाई मात्रै हुन्थ्यो । अहिले अस्वस्थ जीवनशैली, पत्रु खाना, अत्याधिक तनाव आदिले गर्दा धेरैलाई युवाअवस्थामै मधुमेह देखिन थालेको छ ।
अझ कति जना त आमाको पेटबाट नै यो रोग लिएर जन्मिन्छन् । आमालाई गर्भवस्थामा मधुमेह भएमा बच्चालाई गर्भमा वा जन्मिने बेलामा समस्या हुनसक्छ । पछि गएर मधुमेह हुनसक्ने सम्भावना हुन्छ ।
एक अनुसन्धान अनुसार काठमाडौँका ६० वर्ष कटिसकेको १०० मध्ये ३० व्यक्तिमा मधुमेह छ, । नेपालमा ८।५ प्रतिशत जनता मधुमेहका समस्या लिएर बसेका छन्।
कुनै–कुनै ठाउँमा त परिवारका ७५% सदस्य यस्तो समस्याबाट पीडित छन् । यस्तैअवस्था रहि रह्यो भने शायद केही समयपछि कुनै टोल नै मधुमेहका रोगीले भरिएको हुनेछ।
यो चिनी रोग, मधुमेह, डाइबेटिटजजस्ता नामले चिनिन्छ । यी नाम नसुन्ने प्रायः कमै हुन्छन् ।
केही महिनाअघि डाक्टरको क्लिनिकमा १६ वर्षका आयुष मधुमेहको समस्या लिएर आए । वैदेशिक रोजगारमा गएकी आमाले छोरालाई माया देखाउन पैसा दिदी रहिछन् । त्यो पैसाले आयुषले धेरै पत्रुखाना, चकलेट, चिसो पेय खाने गर्दा रहेछन् । आयुषका बाले शायद आयुषलाई घरको स्वस्थकर खानाखानको लागि कर गरेनन्, बुझाएनन्, बच्चा त हो नि खाओस् भनेर छोडिदिए होला ।
विचरा आयुषलाई अनेक समस्या भएर जाँचगर्दा त उनको मोटोपन, अस्वस्थकर खाना, कम्प्युटर र टिभीमा बसिरहने बानीले मधुमेह पो भएछ ।
घरको स्वास्थकर खानाको सट्टा पत्रुखाना खाने पैसा दिएर आमाबुबाले आषुसलाई ‘मन्द विष’ को खुवाइरहेका रहेछन् ।
यति सानो उमेरमै मधुमेह भएपछि अभिभावलाई त चिन्ता त प¥यो । आयुषको अवस्था हेरेर डाक्टरले इन्सुलिन नै दिनुप¥यो । साथै उनलाई स्वस्थ जीवनशैली स्वस्थ भोजनको बारेमा पनि बताइयो । घरको अभिभावलाई पनि पत्रु खानाले गर्दा आयुषको जीवन नै खतरामा पर्नसक्ने भनेपछि अभिभावकलाई बल्ल चेत आयो ।
इन्सुलिन दिएर, खानामा सुधार ल्याएर, मोटोपन घटाएपछि आयुषको मधुमेहको अवस्था सुधार भयो । युवा अवस्थादेखि यस्तो समस्या भएका आयुषले यदि औषधी नभए उनको मृगौला र मुटु दुवै खराब हुन्थे र जीवन खतरामा पथ्र्यो । तर आयुषको अभिभावकले ध्यानदिएको भए किशोर आयुषले समस्या भोग्नै पर्ने थिएन । तर आयुष खानपान र जीवनशैलीमा ध्यान नदिए पुन समस्या बढ्न सक्छ भनेर सचेत भएका छन् ।
आयुष जस्तै जथाभवी खाने, केक नभई जन्मदिन नै नहुने घरको खानामा बेवास्ता गरेर प्याकेटका खाना खाँदा कतिलाई युवा अवस्थामै थाहै नपाइकन मधुमेह पूर्वको अवस्था भइसकेको छ होला । नेपालमा यसको अनुसन्धान हुन त बाँकी छ तर जनस्वस्थ विज्ञ र अस्पतालमा जाँच गर्ने डाक्टर चाँहि चिन्तित छन् ।
मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो प्रकारका मधुमेहमा शिशुको शरीरमा इन्सुलिन नामक तत्व जसले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ, त्यो अभाव हुन्छ ।
दोस्रो प्रकारको मधुमेह प्रायः ४०/५० वर्षको उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरै हुन्छ । यसमा शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्दैन । यो समस्या नेपालमा अहिले युवा अवस्थामा देखिन थालेको छ । आयुषजस्ता किशोर त एक उदाहरण मात्र हुन् । मधुमेह नेपालमा जनस्वास्थको एक प्रमुख समस्या हुन गएको छ ।
युवा अवस्थादेखि मधुमेह भएपछि खानपिन र जीवन शैलीमा ध्यान नदिँदा मिर्गाैलाले काम गर्न गाह्रो हुन्छ । अन्य अंग पनि शिथिल हुँदै जान्छन् । मिर्गाैला बिग्रेपछि, फेर्ने वा डायलिसिस गरिरहने मात्र उपाय हुन्छ। यी दुवै उपाय सजिलो छैन । आर्थिक दृष्टिले त झनै महंगो छ । सरकारले डायलिसस गर्न केही पैसा त दिन्छ । तर त्यसले पुग्दैन ।
मधुमेह र ग्लुकोजको सम्बन्ध
हाम्रो शरीरलाई ग्लुकोज चाहिन्छ भन्ने सबैलाई थाहा छ । तर बट्टाको धुलो ग्लुकोज खाएर शरीरमा ग्लुकोज पु¥याउनु पर्दैन । हामीले खाएका सबै खानेकुरा अन्तिम अवस्थामा गएर ग्लुकोजमै परिणत हुन्छ । दाल, भात, तरकारी, रोटी, गुलिया खाना, मासु आदि जे खाएपनि ग्लुकोज बनेर शरीरका कोषहरुमा जान्छन् र तिनले शरीरमा शक्ति पैदा गर्छन् ।
पसिना आएर थकाइ लागेपछि बट्टाको ग्लुकोज खाएर शक्ति आएको टीभीमा देखाइन्छ, त्यो झुटो हो । महंगो ग्लुकोजको प्याकेट किनेर खानेबित्तिकै त्यसरी थकाइ गइहाल्दैन । खेल्दा र काम गर्दा शरीरको शक्ति गएर थकाइ लाग्नु स्वभाविक हो । थकाइ लाग्नुको प्रमुख कारण शरीरबाट पानी जानु हो।
एकै पटक त्यसरी सिधै धेरै चिनी खाँदा यसले मधुमेहको शुरुवात गराउन सक्छ ।
बच्चालाई दुधमा हालेर दिइने अनेक पदार्थ छन् । तर तिनले बच्चालाई स्वस्थ होइन रोगी बनाउँछन् । बच्चालाई क्याल्सियम ख्वाउने नाममा बट्टाका अनेक शक्तिवद्र्धक पेय खुवाउनु हुँदैन । त्यस्ता पेयलाई बिकाउन कहिले चम्चा, अहिले गिलास उपहार राख्ने गरिउको हामी देख्छौँ । ती सामानको लोभमा पारेर आफ्ना बच्चालाई सानै देखि रोगी पार्नु हुन्न भन्ने बुझ्नुपर्छ ।
प्राकृतिक रुपमा रहेको खाना जस्तो चामल ढुटो सहितको आटा, मकै, गहुँ, जौँ , कोदो फापर अदि अन्न बालबालिकाको लागि स्वस्थकर हुन्छ । यिनले उर्जा पनि दिन्छन्,। यस्तो खानाले कब्जियत हुँदैन र अनेक पोषक तत्व सहजै शरीरमा पुग्छ।
बाहिरबाट अनेक भिटामिन किनेर खानै पर्दैन ।अभिभावकहरुले साँच्चिकै आफ्ना सन्तानलाई माया गर्ने हो भने–गुलियो पेय पदार्थ, प्याकेटका खाना बोसो भएको पदार्थ जस्तो अनेक थरिका बिस्कुट, चाउचाउ, केक आदिबाट बच्चालाई टाढै राख्नुपर्छ ।
बच्चाले मान्दैन भनेर यस्ता खाना दिने हो भने युवा अवस्थामै मोटो भइन्छ ।
अनि चिनीरोग, मुटुरोग, पक्षघात हुनसक्छ । त्यसपछि बिरामी सन्तानको स्याहार आफैँले गर्नुपर्छ। बच्चालाई माया देखाउनर पर्छ तर उसलाई नै हानी हुनेगरी माया देखाउनु हुँदैन ।
बजारका खाना किनेर खान होइन स्वस्थ खाना बनाउन र खान सिकाउनुहोस् । कोल्ड ड्रिंक होइन, मह र कागतीपानी खान सिकाउनुहोस् । तर मधुमेहबाट टाढै राख्नुहोस् । बच्चालाई माया गर्नु हुन्न भने मात्रै उसको मृगौला, मुटु र मन खराब पार्ने भोजन दिए हुन्छ ।
तपाईँको अभिमत