'ज्येष्ठ नागरिकका लागि कोरोना खोप अनिवार्य शर्त हो'
हाल देखिएको कोरोनाको दोस्रो लहरमा जुनसुकै उमेर समूह पनि प्रभावित छन् । यसकोे प्रभाव वृद्धवृद्धामा अझ बढी छ । जेष्ठ नागरिक संक्रमित हुने दर कम भएपनि मृत्यु दर भने बढी छ । सामान्यतया उमेर बढ्दै गएपछि रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतामा ह्रास आउँदै जान्छ ।
कोरोना महमारीबाट जोगिन सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन आवश्यक हुने बताइरहँदा ६० वर्षभन्दा माथिका र दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई थप सावधानी अपनाउनु आवश्यक छ । कोरोनाको पहिलो लहरमा जस्तै दोस्रो लहरमा सबै समूह नै जोखिममा छन् । संक्रमण दर जेष्ठ नागरिकमा कम देखिए पनि मृतकको ग्राफ भने अग्लो छ । यसै विषयमा हामीले ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलसँग खोप, जोखिमको अवस्था र तन्दुरुस्त रहने उपाय लगायत विषयमा कुराकानी गरेका छौँ :
जोखिम समूह
नेपाल अहिले कोरोनाको दोस्रो लहरले आक्रन्त छ । पहिलो लहरमा केटाकेटी बृद्धाहरुमा कम देखिएको कोरोना भाइरसको संक्रमण दर दोस्रो लहरसम्म आइपुग्दा सबै उमेर समूह उत्तिकै प्रभावित छन्् । त्यसमा पनि संक्रमण दर अनुसार मृत्यु दर केलाउँदा बृद्धबृद्धा चर्को चपेटामा लपेटिएका छन् । तथ्यांक हेर्ने हो भने ज्येष्ठ नागरिक नै बढी प्रभावित भएका देखिन्छन् । उमेर बढ्दै जाँदा शरीरको रोगसँग लड्ने क्षमतामा ह्रास आउँदै जान्छ । त्यसैले ज्येष्ठ नागरिकहरु संक्रमण जन्य रोगहरुको उच्च जोखिममा हुन्छन् । ज्येष्ठ नागरिकहरुमा मुटुको दीर्घरोग, मिर्गौलाको दीर्घरोग, फोक्सोको दीर्घरोग, कलेजोको दीर्घरोग आदि हुन सक्छन् । जसले आफ्ना दीर्घरोगका औषधि खाइरहेका छन्, उनीहरु यो महामारीको उच्च जोखिममा छन् ।
कोरोना विरुद्धको खोप
नेपालको कूल जनसंख्याको करिब ९ प्रतिशत जेष्ठ नागरिक रहेका सरकारी तथ्यांक छ । कूल जनसंख्यामा २७ देखि ३० लाख नागरिक ६० वर्षमाथिका हुनुहुन्छ । उहाँहरुको लागि खोप अनिवार्य शर्त हो ।
तुलनात्मक रुपमा अन्य उमेर समूहका लागि रोगसँग लड्न सक्ने क्षमता बलियो हुन्छ । एकदम जोखिमपूर्ण अवस्था भनेको कोभिडले एक्कासी निमोनिया गराइदिन्छ र त्यसको कारणले मानिसको मृत्यु हुन्छ । जोखिममा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको सबैको मृत्यु नहुन सक्छ । धैरै जना जेष्ठ नागरिक उपचार पाएर घर फर्किएका उदाहरण छन् । उनीहरु जोखिमपूर्ण अवस्था छन् कि छैनन्, त्यसले निर्धारण गर्छ ।
ज्येष्ठ नागरिकमा उमेरका कारण अरु रोग पनि हुन सक्छ । कोरोनाविरुद्धको खोपले अहिलेसम्म ज्येष्ठ नागरिकलाई असर नगरेको विज्ञहरूले बताएका छन् । हाम्रा सयौँ जेष्ठ नागरिकले कोरोना विरुद्धको पहिलो खोप लिएर दोस्रो खोप लिन पाएका छैनन् । लगाउँदै नलगाउनुभन्दा त्यही एउटा खोप लगाउँदा पनि केही हदसम्म काम गरेको देखिएको अनुभव छ । त्यसैले आफ्नो पायक पर्ने ठाउँ, वडामा सम्पर्क गरी अनिवार्य रुपमा खोप लगाउनु पर्छ । सरकारले त्यसको लागि पनि छिटो पहल गर्ने र खोप लगाउने स्थानको राम्रो व्यवस्थापन गर्नुपर्ने डा.कडेँलको तर्क छ ।
ध्यान दिनुपर्ने कुरा
यदि उहाँहरुमा कोरोना लागेमा सामान्य ज्वरो आउने, जिउ दुख्ने, थकाइ लाग्न सक्ने भएकाले आत्तिनु हुँदैन । समस्या देखिए तत्काल उपचार गर्न सकिन्छ । यदि उहाँहरुमा समस्या बढ्दै गयो भने घरमा नबसी संस्थागत आइसोलेशनमा वा अस्पतालमा जाने र थप निगरानी थाल्ने ।
कोरोना होस् वा अन्य सांक्रामक रोग, बच्ने तथा बचाउने तरिका भनेको सावधानी अपनाउनु नै हो । भिडभाड युक्त ठाउँमा ज्येष्ठ नागरिकहरुलाई जान निरुत्साहित गर्ने, सकेसम्म भिडभाडमा नजाने नै हो । घरमै पनि कोही मानिसलाई पनि ज्वरो तथा रुघाखोकी लाएको छ भने सकेसम्म ज्येष्ठ नागरिकहरुको नजिक जानु हुँदैन ।
बाहिरी व्यक्तिको सम्पर्कमा नरहने, बाहिर निस्कनै पर्दा मास्क र स्यानिटाइजरको प्रयोग, साबुन पानीले हातमुख धुने गर्नुपर्छ । जेष्ठ नागरिकहरुलाई बाहिर ननिस्कन र प्रत्यक्ष भेटघाटबाट टाढै रहन सहयोग गर्नुपर्दछ । उनीहरुलाई व्यस्त बनाउनका लागि रुची अनुसारका पुस्तक पढ्न दिने, घरभित्रैका गर्न सक्ने काममा सहभागी गराउने, भजन कीर्तन र धार्मिक संस्कारमा आबद्ध गराउँदा समय कटाउन गाह्रो हुँदैन । उमेर अनुसारको योग अभ्यास सिक्ने र गर्ने ।
अर्को महत्वपूर्ण कुरा के छ भने यदि जेष्ठ नागरिकहरुमा धूमपान गर्ने बानी छ भने त्यो तुरुन्त छोड्नुपर्छ । मादक पदार्थ सेवनले फोक्सोमा असर गर्ने गर्छ र कोरोना भाइरसको अट्याक गर्ने ठाउँ पनि फोक्सो नै हो । कोरोनाका भाइरसले फोक्सो ड्यामेज गर्ने हुँदा बिरामीलाई सिकिस्त अवस्थामा पनि पु¥याउन सक्छ ।
तन्द्रुस्त रहने
उमेर अनुसारको उचित खानपानमा ध्यान दिनुपर्छ । बाहिरी खानेकुराभन्दा पनि आफ्नै भान्सामा दैनिक पाक्ने र आफ्नै वरपर फल्ने हरियो सागसब्जी खाने । चिल्लो, पिरो, भुटेको तारेको खाने कुरा नखाने र खानै परे एकदमै कम खाने गर्नुपर्छ । प्रायः बुढ्यौलीसँगै बढ्ने सुगर, प्रेसर, दम आदि छ भने विशेष हेरविचार गर्ने । शारीरिक अभ्यास घरभित्रै बसेर गर्न सकिन्छ । आफ्नै घरवरिपरि टहलिने, हिँड्डुल गर्ने, घरायसी काममा सघाउनाले पनि शारीरिक अभ्यास हुन्छ । पातलो लुगा लगाएर दिनको एक दुई घण्टा घाममा बस्यो भने शरीरलाई आवश्यक पर्ने भिडामिन डि को पूर्ति हुन्छ । स्वास्थ्यका मापदण्ड पालना गर्ने । अनावश्य रुपमा आँखा, नाक तथा मुख नछुने । सरसफाइमा ध्यान दिनुपर्छ ।
रोग प्रतिरोधी क्षमता बढाउन ज्येष्ठ नागरिकमा खाने आहाराको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो बेला भिटामिन सी, डी जस्ता रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका पोषकतत्व प्राप्त हुने खानेकुरा खानुपर्छ । बजारमा पाइने विभिन्न थरीका सप्लिमेन्ट ट्याबेलहरु खानु आवश्यक छैन । मौसम अनुसारका ताजा फलफूल आँप, स्याउ, लिची, मौसम, सुन्तला, कागती खानाले शरीर तन्द्रुस्त रहन्छ । मौसम अनुसारका तरकारी प्रयोग गर्ने । माछा मासु, गेडागुडी, दाल, अण्डा, दूध, दही खाने गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
सक्रिय जीवनयापन
बुढेशकाललाई दिन काट्नी काल पर्खिनी भन्ने होइन, रमाइलो गर्नुस् ! डा. कडेँल सुझाउनुहुन्छ । घरमै बसी साधारण खालको व्यायाम र कसरत गर्न सकिन्छ । जसले गर्दा शरीरमा स्फूर्ति आउँछ र मानसिक रुपमा पनि सन्तुलित अवस्थामा रहन सहयोग गर्छ । टेलिभिजनमा आउने कोरोनाको मृत्यु सम्बन्धी समाचारहरुलाई लिएर चिन्तित हुनुपर्दैन । फलानो देशमा यति मरे रे, अर्को देशमा झन् धेरै मरे रे जस्ता नचाहिने समाचार सुनेर आफूलाई तनाव दिनु हुँदैन ।
त्यस्ता समाचारले एन्जाइटी मात्रै बढाउँछ, अरुका देशका मृतकको संख्या गनेर हामीलाई के फाइदा ! बरु जानेका गीत गाउने, नाच्ने गर्नुहोस् । कसैलाई देशको राजनीतिले पनि असर गर्ने र तनाव दिने हुन्छ । सकारात्मक सोच्नुहोस् । लकडाउन छ, घरमै कति बस्ने नभन्नुहोस्, यो समयलाई सिर्जशील बनाउनुहोस् ।
शाेभा घिमिरे
तपाईँको अभिमत