इजरायली सेनाको आक्रमणमा 'साहसी' पत्रकार अनस अल–शरीफसहित अलजजिराका पाँच पत्रकार मारिए
इजरायली सेनाको आक्रमणमा पाँच जना पत्रकार मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजा सहरको अल–शिफा अस्पताल नजिकै इजरायलले गरेको हवाई हमलामा अलजजिरामा कार्यरत पत्रकारहरू मारिएका हुन् ।
अलजजिराका पत्रकार अनस अल–शरीफसहित पाँच जना पत्रकार मारिएका हुन् । पत्रकारहरू बसेको टेन्टमा लक्षित गरी इजरायलले हवाई हमला गरेको अलजजिराले जनाएको छ ।
आइतबार बेलुकी ढिलो गाजा सिटीको अल–शिफा अस्पतालको मुख्य गेट बाहिर रहेको टेन्टमा भएको हमलामा सात जनाको मृत्यु भएको थियो । मृतकमध्ये अलजजिराका संवाददाता मोहम्मद कुरैकेह र क्यामेरा अपरेटरहरू इब्राहिम जाहेर, मोहम्मद नुफाल र मोआमेन अलीवा पनि छन् ।
मृत्यु हुनु केही अघि, उत्तरी गाजाबाट लामो समयसम्म रिपोर्टिङ गर्नुभएका २८ वर्षीय चर्चित अलजजिरा अरबी संवाददाता अल–शरीफले सामाजिक सञ्जाल एक्समा इस्रायलले गाजा सिटीको पूर्वी र दक्षिणी भागमा “फायर बेल्ट” भनिने तीव्र र केन्द्रित बमबारी गरेको लेख्नुभएको थियो ।
पत्रकार बसिरहेको टेन्टमा आक्रमण पूर्वनियोजित भएको अलजजिराले बताएको छ । यसलाई उसले “लक्षित हत्या”, “प्रेस स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण” समेत भनेको छ ।
हमला भएको केही समयपछि, आईडीएफ (इस्रायली रक्षा सेना) ले अनस अल–शरीफलाई आक्रमण गरेको पुष्टि गर्दै टेलिग्राममा उनी “हमासको एक आतंकवादी सेलको प्रमुखका रूपमा कार्यरत” रहेको बताएको थियो ।
तर अलजजिराले भने आफ्नो पत्रकार कहिल्यै हमासको सदस्य नरहेको बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत