बच्चामा घुर्ने समस्या भए वृद्धि, विकासमै असर पर्न सक्छ (भिडियो)
सुतेका बेला घुर्नुलाई प्राय समान्य रुपमा लिइन्छ । अझ घुरेर सुतेको छ भनेपछि आनन्दले सुत्यो भन्ने आम बुझाइ रहेको पाइन्छ । सुतेका बेला कहिले कहीँ घुर्नु समान्य भएपछि सधैँ घुर्ने समस्या स्वास्थ्यका लागि निकै हानिकारक हुने नाक, कान, घाँटीरोग विशेषज्ञ डा.योगेश न्यौपाने बताउनुहुन्छ ।
डा.न्यौपानेका अनुसार सास फेर्ने बाटो हुनुपर्नेभन्दा बढी साँघुरो हुँदा घुर्ने समस्या देखापर्छ । सास फेर्ने बाटो साँघुरो हुँदा हाम्रो शरीरमा बाहिरको हावा कम जान्छ । कम हावा शरीरमा प्रवेश गर्दा अक्सिजन कम हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ ।
घुर्ने समस्या ठूला व्यक्तिमा मात्रै नभएर बालबालिकामा पनि हुने डा.न्यौपानेले जानकारी दिनुभयो । बालबालिकामा हुने घुर्ने समस्याले शारीरिक, मानसिक विकासमा समेत असर पुर्याउने उहाँको भनाइ छ ।
बालकालिकामा किन घुर्ने समस्या हुन्छ ? त्यसले के-कस्ता असर गर्छ ? यसको उपचार कसरी हुन्छ । यसबारे हेल्थपाटीसँगको कुराकानीमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा.योगेश न्याौपानेले दिनुभएको जानकारीको सम्पादित अंक तल प्रस्तुत छ:
कतिपयले मानिसहरू घुर्दा कति मज्जाले निदाएको भन्ने पनि गर्नुहुन्छ । कतिपयले हामी तकिया मिलेन अनि घुर्यो पनि भन्नुहुन्छ तर घुराइलाई वेवास्ता गर्न हुँदैन।
भारतमा १८ देखि ४५ वर्ष उमेर सम्मका व्यक्तिमा गरिएको एक अध्ययनले रोग ल्याउने खालको घुराइ ४० प्रतिशतमा छ भनेर देखाएको छ । त्यसैले कुनै पनि घुराइ सामान्य होइन।
घुर्ने समस्या घुराइ बच्चा या ठुलो जसलाई भएपनि त्यो स्वास्थ्य समस्या हो । घुर्नुको मतलब सास फेर्ने बाटो साँघुरो हुनु हो । प्रायजसो घुर्ने, सुतिरहेको समयमा हुन्छ।
घुराइ के हो ?
साधारणतया हाम्रो मांसपेशीको तागत राति सुतिरहेको समयमा कमजोर हुन्छ । मस्तिष्कले ती मांसपेशीलाई सुतिरहेको समयमा बलियो बनाउन सक्दैन । सास फेर्ने बाटोमा पनि मांसपेशीहरू हुन्छन् । राति सुतिरहेको समयमा ती मांसपेशीको तागत कमजोर हुने भएकाले सबैको सास फेर्ने बाटो साँघुरो हुन्छ । तर जो मान्छे घुर्छ चाहे त्यो बच्चा होस् या ठूला मान्छे उनीहरूको सास फेर्ने बाटो हुनुपर्नेभन्दा बढी साँघुरो हुन्छ । तब चाहिनेभन्दा बढी साँघुरो बाटोबाट सास आउने-जाने हुन्छ त्यहाँ भाइब्रेसन उत्पन्न हुन्छ त्यो भाइब्रेसन घुराइ हो।
कोही मान्छे घुर्छ भने त्यो व्यक्तिको सास फेर्ने बाटो हुनुपर्नेभन्दा बढी साँघुरो भएर हो । साँघुरो बाटोबाट हावा जान्छ । साधारणतय हामी एक तिहाइ समय सुत्छौँ । एक रात, दुई रात घुर्नु त सामान्य हो तर महिनौं, वर्षाैं घुर्ने समस्या भयो भने तर त्यो समयअवधिभर चाहिनेभन्दा कम अक्सिजन शरीरभित्र प्रवेश गर्छ । अक्सिजन कम भएपछि टाउकोदेखि पाइतालासम्मका कोषिकाहरू रोगी हुन थाल्छन् । त्यसपछि बिस्तारै शरीरमा रोगहरू उत्पन्न हुन थाल्छन् । घुर्ने समस्याले अरु रोगहरू निम्त्याउँछ।
रुघा पनि समस्या निम्त्याउँछ
मेरो बच्चा सिँगाने भयो भनेर अभिभावकहरूले गुनासो गर्नुहुन्छ । २-४ दिन औषधि दिएपछि निको हुन्छ फेरि सिँगान बगिरहन्छ भनेर भन्ने गुनासो गर्नहुन्छ । कसै-कसैले दम भयो कि भनेर उपचार गराइरहनु भएको पनि भेट्छु । बच्चाहरूको नाकको पछाडि भागमा टन्सिल हुन्छ । यो टन्सिल २ वर्षको उमेरदेखि नै पलाउन सुरु गर्छ । यो ७-८ वर्षसम्म ठूलो हुन्छ र त्यसपछि ९-१० वर्षसम्म हराउँदै जान्छ।
यदि बच्चाको हरेक दिन रुघा लागिरहन्छ भने उनीहरू नाकबाट सास फेर्न सक्दैनन् । नाकमा मासु पलाउने बित्तिकै सिँगान जम्मा हुन्छ र राति खोक्न पनि थाल्छन् । सुरुमा नाक बन्द भएर रुघा लाग्न सुरु हुन्छ भने पछि जम्मा भएको सिँगानले इरिटेसन भएर खोकी लाग्न थाल्छ । यस्तो अवस्थामा दम भयो की भनेर गलत उपचार हुने गरेको पाइएको छ।
जुन बच्चाको नाकको पछाडिको भागको टन्सिल ठूलो हुन्छ, त्यो बच्चाको मुखको टन्सिल पनि ठूलो हुन्छ । जब नाकबाट सास फेर्न सक्दैन तब बच्चाहरूले मुख खुला राखेर सास फेर्न खोज्छन् तर मुखको टन्सिल ठूलो हुँदा मुखबाट पनि सास फेर्न गार्हो हुन्छ र शरीरमा सास कम जान्छ।
घुराइले निम्त्याउने जटिलता
साँघुरो बाटोबाट सास कम जान्छ । बालबालिकाहरू ठुला मान्छेको तुलनामा अलि बढी सुत्ने गर्छन् । सुतेको समयमा उनीहरूको शरीरले अक्सिजन कम प्राप्त गर्छन् । अक्सिजन कम भउपछि टाउको देखि पाइतालासम्मका कोषिकाहरू रोगी हुन थाल्छन् र बालबालिकामा अन्य रोगहरू निम्तने जोखिम बढ्दछ । सुतेको समयमा अक्सिजन कम पाउदा बालबालिकामा विभिन्न स्वास्थ्य समस्याहरू देखिन्छन्।
समयमानै घुराइको समस्याको उपचार नभए उनीहरूमा मुटु, फोक्सोको रोगको जोखिम बढ्छ । बच्चाहरू चञ्चले हुन्छन्, तौल बढ्दैन, कसैको तौल धेरै हुने ,मानसिक विकासमा पनि असर पुग्छ।
लक्षणहरू
सुतेको समयमा मात्रै घुर्ने समस्या हुने भएकाले अभिभावकहरूले बालबालिकामा घुराइको लक्षणहरूप्रति त्यत्ति ध्यान दिएका हुँदैनन्।
सुतेको समयमा बालबालिहकाहरू घुर्नु, सुत्ने बेलामा मुख खोलेर सुत्नु, सुत्दा छट्पटाइरहनु, सुतेको समयमा पसिना आउने हुन्छ, कहिलेकाँही ओछ्यानमा पिसाब पनि गर्छन् । राति छिटो सुतेपनि बिहान उठ्दा झगडा गर्ने, उठिसकेपछि अल्छी गर्ने, थकानको महसुस हुने हुन्छ । घुर्ने समस्या भएका बालिबालिकामा कानमा पानी जम्ने र कम सुन्ने समस्या हुने भएकाले उनीहरूले टिभी हेर्दा आवाज ठूलो बनाउने, बच्चाहरूको सुनाइमा कम महसुस हुने जस्ता लक्षणहरू देखिन्छन् । कसैकसैको अनुहारको आकार पनि बिग्रन्छ, दाँतहरू खप्टिने जस्ता समस्याहरू देखिन्छन्।
कसरी हुन्छ उपचार ?
यी लक्षणका बारेमा अभिभावकलाई सचेत गराउछौँ । बालबालिकाको सुतेको समयमा ४-५ मिनेटको भिडियो बनाउन भन्छौ र घुराइको लक्षण मिल्दोजुल्दो भएमा नाकको इण्डोस्कोपी गरिन्छ । नाकको पछाडि भागमा मासु पलाउको छ की छैन भनेर हेर्न इण्डोस्कोपी गर्नुपर्छ । कहीँकतै एक्सरेमार्फत पनि मासु पलाएको छ कि छैन भनेर हेर्छौँ।
त्यसपछि उपचार सुरु गरिन्छ । स्प्रे दिन्छौँ । स्प्रेबाट पनि भएन भने अप्रेसन गर्नुपर्छ। तर कतिपय अभिभावकहरू अप्रेसन गर्न डराउनुहुन्छ। तर नचिरीकरन दुर्बिनबाट उपचार गर्न सकिन्छ । केही दिनमै डिस्चार्ज भइहाल्छन् । जब अप्रेसन गरिन्छ त्यो दिन बच्चाहरू आनन्दले सुतेका हुन्छन् किनकी उनीहरूमा देखिएको समस्याको समाधान हुन्छ र अभिभावहरू पनि मज्जाले निदाउँछन्।
अनुहार बिग्रिएका बालबालिकाको भने कस्मेटिक उपचार पनि गर्नुपर्छ।
तपाईँको अभिमत