नेपालमा अब कोरोनाको तेस्रो लहर टरेको हो ?
नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण केही घटेको देखिएको छ। गत बैशाख दोस्राे साताबाट नेपालमा संक्रमण ह्वात्तै बढेको थियो। त्यसले महामारीकै रुप लियो। पहिलो लहरमा कम क्षति व्यहोरेको नेपाल दोस्रो लहरमा ठूलो क्षति व्यहोर्न बाध्य भयो।
करिब २ महिनासम्म नेपाल विश्वमा कोरोना महामारीबाट अतिप्रभावित मुलुकमध्ये एक बन्न पुग्यो। महामारीका कारण बैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरमा निषेधाज्ञा जारी भयो। विस्तारै करिब–करिब देशैभर निषेधाज्ञा लागू गरियो।
संक्रमण केही मत्थर भएपछि साउन महिनाबाट निषेधाज्ञा खुकुलो पर्न थालिएको हो। काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा अहिले पनि निषेधाज्ञा कायमै छ भनिएको छ। तर त्यो घोषणामा मात्रै सीमित देखिन्छ।
साउनको सुरुवातबाट निषेधाज्ञा खुलुलो गरेपछि केहीदिन पछि पुनः संक्रमण बढ्न थालको थियो। दोस्रो लहरको मारबाट मुक्ति नपाउँदै नेपाल तेस्रो लहरको चपेटामा पर्ने चिन्ता आइलाग्यो। तेस्रो लहरलाई रोक्न सतर्कता अपनाउने र तयारीबारे निकै चर्चा भयो। तोकिएका परीक्षा समेत स्थगित भए। यसबीचमा खोप अभियान भने जारी नै रह्यो।
त्यो बेलाको अवस्थालाई आधार मान्दा अहिले नेपाल महामारीको तेस्रो लहर सामना गरिरहेको हुनसक्थ्यो। सबैतिर खुल्ला थियो। भीडभाड, स्वास्थ्य मामदण्डमा लापरवाही यथावत नै थियो। स्वास्थ्य विज्ञहरु पनि तेस्रो लहर सुरु भइसकेको निचोडमा पुगेका थिए।
दोस्रो लहर मथ्थर हुँदै गर्दा नै बेलायत, भारतको अवस्थालाई विश्लेषण गरेर सेप्टेम्बर, अक्टुबरमा नेपालमा तेस्रो लहर आउने अनुमान गरिएको थियो।
यी पृष्ठभूमि र आधारका बाबजुद अहिले नेपालको अवस्था फरक देखिएको छ। संक्रमण घट्दै गइरहेको छ।
साँच्चै घटेको होत कोरोना ?
नेपालमा महामारी दोस्रो लहरको पिक अवस्थामा हुँदा संक्रमण दर ४० प्रतिशतभन्दा माथि थियो। बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको साप्ताहिक विवरण अनुसार अहिले संक्रमणदर १५ प्रतिशतको हाराहारी रहेको छ। संक्रमणदर १० प्रतिशत भन्दा माथि हुनुलाई भयावह अवस्था नै मानिन्छ। तर पनि ४० प्रतिशत भन्दा बढीको अवस्थाबाट १५ प्रतिशतमा झर्नु निकै राहतको अवस्था हो।
कोभिडको उपचार गराइरहेका अस्पतालमा बिरामीको खासै चाप छैन। नेपालमा सुरुवात देखि नै कोभिडको उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा अहिले कोभिड बिरामीको चाप छैन।
निषेधाज्ञा खुलेको केही दिनपछि संक्रमित बिरामीको चाप केही बढेको भएपनि अहिले निकै घटेको टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी दिनुभयो।
खोप लगाउनेको संख्या पनि बढ्दै गएको र संक्रमितको संख्या पनि घटिरहेकाले अब कोरोना महामारीबाट मुक्ति पाइन्छ कि भन्ने चर्चा हुन थालेको छ।
तत्काल तेस्रो लहरको सम्भावना कति ?
कोरोनाको नयाँ लहर कहिले आउँछ भन्ने यकिन गर्न नसकिने भए पनि तत्कालै तेस्रो लहर आइहाल्ने सम्भावना भने नरहेको विज्ञहरुको भनाइ छ। सहरमा धेरैलाई खोप लगाइसकिएको र धेरैमा प्रतिरोधी क्षमता समेत बनिसकेकाले संक्रमण केही मत्थर भएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ।
ग्रामिण क्षेत्रमा खोप लगाउनेको संख्या कम भएकाले ती क्षेत्रमा संक्रमण बढ्ने खतरा रहेको उहाँको दावी छ। ‘काठमाडौं उपत्ययकामा खोप नलगाएका विरलै भेटिन्छन् तर ग्रामीण भेगमा खोपको पहुँच अझै पुग्नसकेको छैन’ डा. मरासिनी भन्नुहुन्छ, ‘यो अवस्थामा तेस्रो लहरको जोखिम टरेको छैन। अहिले शहरमा भन्दा गाउँमा संक्रमणको जोखिम उच्च छ।
सहरमा लक्षण देखिनेवित्तिकै परीक्षण जाने तर गाउँमा परीक्षण पनि कम हुने भएकाले फैलने जोखि धेरै हुने उहाँको भनाइ छ। काठमाडौं, विराटनगर, झापा, चितवन, पोखरा लगायतका संक्रमण उच्च भएका खोपको दायरा बढाउँदा संक्रमण घटेको डा.मरासिनी बताउनु हुन्छ।
नेपालमा तेस्रो लहर आउने विषय भारतमा संक्रमणको अवस्थाले निर्धारण गर्ने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख तथा भाइरोलोजिस्ट डा. बासुदेव पाण्डेको तर्क छ। ‘अहिलेको अवस्था हेर्दा संक्रमणको घटेको जस्तो देखिन्छ’ डा. पाण्डे भन्नुहुन्छ, ‘भारतमा बढ्यो भने यहाँ पनि बढ्छ घट्यो भने यहाँ पनि घट्छ।’
खोप लगाउने दर बढेको छ र मान्छेमा एन्टीबडी पनि विकास भएकोले संक्रमण घटेको उहाँको भनाइ छ। कोभिड–१९ भाइरसको नयाँ भेरियन्टसहित जुनसुकै बेला अर्को लहर आउने खतरा यतथावत रहेको डा. पाण्डेले बताउनु भयो। ‘पुरानै भेरियन्ट हो भने खोपले त्यसलाई रोक्छ तर भाइरसको नयाँ नयाँ भेरियन्टहरु देखिएका छन्। अब यतिले नै रोकिन्छ भन्ने निष्कर्षमा पुगिहाल्ने अवस्था छैन।’
खुल्ला सिमानासहितका कारण नेपाललाई धेरै जोखिम रहेको छिमेकी देश भारतमा पनि अहिले संक्रमण मत्थर भएको छ। भारतको केरला राज्यलाई छाडेर हेर्ने हो भने संक्रमण निकै कम छ। त्यहाँ संक्रमणदर पनि ३ प्रतिशत भन्दा तल छ। यो अवस्थामा तत्कालै नेपालमा कोरोना महामारीको तेस्रो लहरको सम्भावना नरहेको विज्ञहरुको निष्कर्ष छ।
नेपालमा चाडपर्व बढिरहेको छ। चाडपर्वमा मान्छे धेरै चलायमान हुन्छन्। गाउँ–सहर आउजाउ भनि धेरै हुन्छ। भारत लगायतका अन्य मुलकुबाट नेपाल आउने पनि धेरै हुन्छ। यी कारणले गर्दा संक्रमण बढ्न सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन्।
अझै पनि देशमा कोरोना संक्रमणबाट दैनिक २० जना भन्दा बढीले ज्यान गुमाइरहेका छन्। यो अवस्थामा महामारी टरेको ठानी लापरवाही नगर्न डा. पाण्डेको सुझाव छ। जुनसुकै भेरियन्टका भएपनि भाइरस सर्ने र यसबाट बच्ने तरिका एकै भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिन सबैलाइै उहाँको आग्रह छ।
तुलसा घिमिरे
तपाईँको अभिमत