आफ्नो शरीरले आफ्नै शरीरलाई नचिन्दा लाग्छ बाथरोग (भिडियो)
बाथरोग विशेषज्ञ डा.कृष्ण अधिकारीका अनुसार २०० प्रकारका बाथरोग छन्। शरीरमा प्रवेश गर्ने विभिन्न भाइरससँग लड्नका लागि तयार भएका एन्डीबडीहरुले शरीरका विभिन्न अंगमा आक्रमण गर्दा बागरोग हुन्छ।
शरीरका सबै अंगमा बाथ हुन्छ। कुन अंगमा यसले असर गर्छ भन्ने आधारमा यसका प्रकार हुन्छन्। कुनै कुनै बाग वंशाणुगत पनि हुन्छन्। कुनै उपचार नै नगरीकन पनि निको हुने बाथ पनि हुन्छ। जीवनभर रहिरहने बाथ पनि हुन्छ।
जीवनभर रहने बाथका लागि कुनै अंगमा असर नगरोस् भनेर उपचार गराउनु पर्ने हुन्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बाथरोग विशेषज्ञ डा.कृष्ण अधिकारीसँग हेल्थपाटीका लागि केदार गौतमले कुराकानी गर्नुभएको छ।
बाथरोगबारे डा.अधिकारीले दिनुभएको जानकारी :
बाथ रोग के हो ?
बाथरोग भनेको यही नै हो भनेर भन्न निकै कठिन हुन्छ। यसले शरीरका अंगमा असर गरेअनुसार फरक–फरक हुन्छ।
आफ्नो शरीरले आफ्नै शरीरलाई नचिन्दा बाथरोग हुन्छ। शरीरमा रोगसँग लड्नका लागि एक खालका सिपाही तयार भएका हुन्छन्। तिनीहरुले आफ्नै शरीरलाई नचिनेर विभिन्न अंगमा आक्रमण गर्छन्। यसबाट देखिन लक्षण नै बाथरोग हो।
बाथ कसरी हुन्छ ?
यसैगरी लाग्छ भन्ने छैन। सबै बाथमा यसैगरी लाग्छ भनेर अहिलेसम्म अनुसन्धानले पुष्टि गरेको छैन।सामान्यता धेरैले चिन्ने भनेको युरिक एसिडको बाथ हो। त्यो युरिक एसिड बढेर लाग्छ।
मोटा, धेरै तौल भएका व्यक्तिमा युरिक एसिड बढ्छ। कुनै–कुनै वंशाणुगत रुपमा पनि सरेको हुन्छ।
धेरै माछा, मासु खानेहरू र कुनै–कुनै क्यान्सर पग्लिदा पनि युरिक एसिड बढ्छ। त्यसले जोर्नीहरूमा आक्रमण गरेपछि दुख्ने हुन्छ।
कुनै-कुनै बाथहरूका लागि यसरी भएको होला भनेर अड्कल चाहिँ गरिएको छ। तर त्यसलाई पूर्णरुपमा पुष्टि गरिसकिएको छैन।
भाइरसलाई निकाल्न बनाइएका एन्टिबडी सेलले आफ्नै शरीरलाई आक्रमण गर्छ। त्यो बेला बाथको लक्षण देखिन थाल्छ। त्यही लक्षणका आधारमा विभिन्न नामहरूबाट चिनिने गर्छ।
कस्ता लक्षण देखिए बाथरोग लाग्यो भनेर बुझ्ने ?
कस्तो बेला बाथरोग विशेषज्ञकोमा जाने कस्तो बेला हड्डी रोग विशेषज्ञकोमा जाने भन्नेमा धेरै जना दोधारमा पर्नुहुन्छ।
जोर्नी दुख्छ, सुनिन्छ, फुल्छ, बिहानीपख अररो हुन्छ भने त्यो बाथरोगको लक्षण हुनसक्छ।
काम गर्न मन नलाग्ने, थोरै काम गर्दा पनि धेरै थकाइ लाग्ने, धेरै पसिना धेरै पसिना आउने समग्र रुपमा यो बाथरोगको लक्षण हो।
युरिक एसिड आफैँमा बाथ होइन। युरिक एसिड हामी सबैको शरीरमा हुन्छ। निश्चित तह भन्दा बढी भयो भने त्यो जोर्नीमा गएर जम्मा हुन्छ। त्यसले क्रिस्टल बनाउछ।
यसले जोर्नीमा गर्ने हानी बाथ हो। यदि जोर्नी रातो–तातो भएर दुखेको छ। हावाले छुँदा पनि दुख्छ, कपडाले छुँदा पनि दुख्छ भने त्यो बाथ हो।
बाथरोग २०० प्रकारका छन्।यसमध्ये एउटा युरिक एसिडको बाथ हो।
वाथ रोगले असर नगर्ने अंग नै छैन।
कपाल धेरै झरिरहेको छ भने त्यो कपालको बाथ हुनसक्छ। घाममा जाँदा गाला धेरै रातो हुन्छ, या अरु घाम परेको ठाउँका छालाहरू रातो हुन्छ, छालामा घाउ देखिन्छ, घाउ गहिरो हुन्छ, छालामा टिकटिक परेका दागहरू छन् भने त्यो छालाको बाथ हुन्छ।
मुख धेरै सुक्का हुन्छ, दाँत कीराले खाएको छ, मुखमा धेरे घाउ आउँछ यो पनि बाथको लक्षण हो।
कुन अंगको बाथ कस्तो हुन्छ ?
जोर्नी सुन्निने, फुल्ने, बिहान उठ्दा अरस्ठ हुने, एक घण्टा भन्दा बढी समय अरस्ठ हुन्छ भने त्यो जोर्नीको बाथ हो।
मुुटुको झिल्लीहरुको बीचमा पानी जम्मा हुनु, मुटु फेल गराउने, पक्षघातको जोखिम बढाउन पनि बाथरोगले भूमिका खेल्न सक्छ।
फोक्सोमा धेरै जाली पर्ने, थोरै हिँड्दा पनि बढी स्वाँ–स्वाँ हुन्छ भने फोक्सोको बाथरोग हुनसक्छ।
राति सुत्दा धेरै घाँटी पोल्छ, अमिलो डकारहरु धेरै आउँछ, छिनछिनमा दिसा लाग्ने छ भने त्यो बाथले आन्द्रामा गरेको असर हुनसक्छ।
महिलामा गर्भधारण गर्न गाह्रो भइरहेको छ, गर्भधारणपछि पनि बारम्बार गर्भपतन हुन्छ भने पाठेघरमा भएको बाथको लक्षण हो ।
गर्भ बसेको २० हप्तापछि धेरै प्रेसर बढ्यो, पिसाबमा धेरै प्रोटिन देखियो भने त्यति बेला अरू जोर्नी दुख्यो भने पनि त्यो बाथरोग हुनसक्छ।
बाथरोगको कसरी उपचार हुन्छ ?
सबैभन्दा पहिला कुन किसिमको बाथरोग हो भनेर पहिचान गर्नुपर्छ। सामान्य किसिमको घुँडा खिइने बाथ हो भने कसरत गरेर नै त्यसलाई ठिक बनाउनुपर्छ। कसरत गरेर जहाँ दुखेको हो त्यो ठाउँको मांसपेशी बलियो गराउने हो। धेरैलाई यसले नै ठिक हुन्छ।
त्यसैगरी डाढ खिइने बाथ छ भने त्यसलाई पनि कसरतले नै ठिक गर्छ।
युरिक एसिडको बाथ हो भने औषधि सुरु गर्नु भन्दा पहिला शरीरुको तौल घटाउनुपर्छ। १० प्रतिशत तौल घटाउन सक्यो भने १ एमजी डिसीलिटरका दरले युरिक एसिड घट्छ।
दिनमा कम्तिमा आधा घण्टा कसरत गर्दा पनि दिनमा एक एमजीडीएल युरिक एसिड घट्छ। पानी धेरै खाँदा पनि युरिक एसिडलाई पखाल्छ।
बाथरोगको एउटै विशेषज्ञले मात्रै सबै समस्या नियन्त्रण गर्न सक्दैन। जस्तो आँखामा बाथरोग हो भने बाथरोग विशेषज्ञ र आँखा रोगविशेषज्ञ मिलेर उपचार गर्नुपर्छ।
फोक्सोमा लागेको बाथ छ भने फोक्सो विशेषज्ञसँग मिलेर उपचार गर्नुपर्ने हुन्छ। छालामा लागेको छ भने छालारोग विशेषज्ञको सहायता चाहिन्छ।
बाथ पूरै निको हुन्छ ?
बाथरोग लागेपछि धेरै प्रकारका रोग जीवन भरि नै रहन्छ। कति बाथहरु औषधि नै नखाइ पनि छाडेर जाने खालका हुन्छन् ।
प्रकार अनुसार बाथरोगीले कसरी अब अरु अंगलाई बिगार्नबाट रोक्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। बिरामीले आफ्नो बाथरोगबारे सम्पूर्ण जानकारी राख्नुपर्छ।
बाथरोगीले कुनै खाना बार्नुपर्छ ?
खाना खाने, नखाने भन्ने विषयमा धेरैले सोध्नुहुन्छ। युरिक एसिडको बाथबाहेक अन्य बाथमा खाना बारिरहनु पर्दैन।
बाथरोग लागेपछि घाम तापेर बस्यो भने ठिक हुन्छ भनेर कतिले घाम तापेर बस्नुहुन्छ। कुनै बाथ छन् जसलाई घामले एकदमै बढाउँछ।
चिसोले असर गर्ने खालका बाथलाई चाहि घाममा बस्दा राम्रो होला। त्यसैले कुन प्रकारको बाथ छ र त्यो कुन चरणमा छ भन्ने कुराले के बार्ने के खाने भन्ने निर्धारण गर्छ।
युरिक एसिडको बाथ भएकालाई कार्बाेहाइड्रेडयुक्त खाना विष बराबर नै हो। पानी, चेरी र ओख्खरले चाहि बाथ कम गर्न मद्दत गर्छ।
नेपालको अवस्था के छ ?
नेपालको बाथरोग यस्तै छ भन्ने हामीसँग कुनै डाटा छैन। घुँडा खिइने समस्या धेरै छ। सायद यो नेपालको भौगोलिक अवस्थाले यस्तो भएको हो। उकलो, ओरालो धेरै गर्नुपर्ने भएकाले यो समस्या बढी हुन्छ।
विश्व स्वास्थ्य संगठनले निकालेको डाटा अनुसार १० प्रतिशत मान्छेका कुनै न कुनै बाथरोग हुन्छ। नेपालमा पनि यही अवस्थालाई आधार मान्ने हो भने त्यसका लागि नेपालमा बाथरोग विशेषज्ञ पर्याप्त छैनन्।
बाथरोगको उपचार गाउँ–गाउँमा पुग्न नसेको अवस्था छ। धेरै जना जोर्नी बिग्रिइसकेपछि मात्रै उपचार गर्न आउनुहुन्छ। त्यो भन्दा पहिला दुखाइ कम गर्न धुलो पुरिया औषधिहरु खाने चलन छ। जसले पछि प्रेसर बढ्ने, मधुमेह हुने जस्ता समस्या हुन्छ र हड्डी पिटीपिटी भाँच्चिने पनि हुन्छ।
केही विकसित देशमा छिट्टै नियन्त्रणमा आउने प्रविधिबाट उपचार सुरु भएका छन्। त्यो नेपालमा छैन। यसबाहेक बाथरोगको उपचार नेपालमै हुन्छ। विदेश नै जानुपर्ने अवस्था छैन।
हेल्थपाटी
तपाईँको अभिमत