आयुर्वेदमार्फत नेपाललाई विश्वभर चिनाउने डा.सरिता श्रेष्ठको अद्वितीय यात्रा (भिडियो)
काठमाडौंबाट झन्डै १९ किलोमिटरको दूरीमा छ रमणीय फर्पिङ बजार । त्यहीँको अञ्चल औषधालयबाट डा. सरिता श्रेष्ठको आयुर्वेद चिकित्सामा एक अद्भुत यात्रा प्रारम्भ भयो ।
एउटा सानो तथा महत्वपूर्ण औषधालयमा ३५ वर्षअघि उहाँले यहाँ हेल्थ असिस्टेन्ट (कविराज)को रूपमा आफ्नो सेवा सुरु गर्नुभयो। डा. श्रेष्ठलाई हरेक दिनले नयाँ अनुभूति र प्रेरणा प्रदान गर्यो । फर्पिङ औषधालयनजिकै दलित बस्ती थियो । उक्त बस्तीले औषधि उपचारमासमेत विभेद खेप्नुपरेको डा.सरिता ले देख्नुभयो ।
सरसफाइमा ध्यान नदिने भएकाले औषधालय वरपरका समुदायमा धेरैलाई छालाको समस्या देखिन्थ्यो । श्रेष्ठले औषधालयमा बोलाएर घाउ सफा गरिदिनुहुन्थ्यो । आयुर्वेदमा धेरै औषधिहरू दूध र घ्यूमा प्रशोधन गर्ने गरिन्छ । गाउँघरमा दूध र घ्यू प्रशस्तै पाइने भएकाले त्यसलाई प्रशोधित गरी सल्फर बनाएर उहाँले घाउमा प्रयोग गर्नुहुन्थ्यो ।
डा.सरिताका अनुसार एन्टिबायोटिक औषधिको निर्माणअगाडि सल्फर नै घाउँमा प्रयोग हुने औषधि थियो । उपचारबाट वञ्चित भएका दलितहरूबाट उपचार पाएपछि खुसी धरधरी रुने गर्थे।
बिरामीको प्रेम सद्भावले काठमाडौंदेखि फर्पिङसम्मको दिनदिनैको यात्रा झन्झन् नजिक हुँदै गयो । सार्वजनिक बसमा २ घण्टा लाग्थ्यो। उपचार नपाइरहेकाहरुले डा.श्रेष्ठलाई बाटैमा कुरिरहन्थे । उहाँलाई देख्नेबित्तिकै ताली बजाउँदै औषधालयसम्म पुर्याउने गर्दथे ।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
फर्पिङको एउटा घटना अविष्मरणीय छ। एक महिला हुनुन्थ्यो, जो महिनावारी भएको गाउँलेले नै थाहा पाउने गर्थे । त्यो कसरी भने महिनावारीको समयमा ती महिलालाई अत्याधिक पेट दुख्थ्यो र दुखाइले उहाँ बेस्सरी चिच्याउने गर्नुहुन्थ्यो । महिलाको समस्या थाहा पाएपछि डा.श्रेष्ठले उपचारका लागि औषधालय बोलाउनुभयो।
पढ्ने बेला डा. श्रेष्ठलाई एक जना आयुर्वेद गुरुले साल खस्न नसकेका महिलाहरूलाई टंकन(बोरिक एसिड) दिनुपर्छ भनेर सिकाउनुभएको थियो। महिलाको समस्यामा पनि त्यही उपचार पद्धति अपनाउनुभयो, महिलाको समस्या चट भयो । महिनावरी हुँदा पेट दुख्ने ती महिलाको समस्या निर्मूल नै भएको श्रेष्ठ बताउनुहुन्छ ।
उक्त घटनापछि उहाँ फुच्चीबाट जान्नी डाक्टरको रुपमा परिचित हुनुभयो । औषधालयमा उपचार गर्न आउनेहरको संख्या बढ्न थाल्यो ।मुस्किलले महिनामा १० जना बिरामी नआउने औषधालयमा दिनमै ५० जनाभन्दा बढी बिरामी आउन थाले । आफूले पढेको शिक्षालाई व्यवहारमा उतार्दा सफल हुँदै जानुभयो, सफलताले आयुर्वेद उपचारप्रति विश्वास बढायो ।
नेपालमा आयुर्वेद चिकित्साको पहिलो स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्नुभयो । सन्तान नभएकाहरूको उपचारमा उहाँको दख्खल रहेको छ । सन्तान प्राप्तिमा समस्या देखिएका कयौं दम्पतीलाई आयुर्वेद उपचार पद्धतिबाट सन्तानको सुख दिन सफल हुनुभएको छ ।
नेपालमा आयुर्वेद चिकित्सामा पनि स्त्री रोगको विशेषज्ञ हुन्छन् र आयुर्वेद उपचारबाट स्त्री सम्बन्धी रोगहरू निको हुन्छन् भन्ने ज्ञान अहिले पनि धेरैलाई थाहा छैन ।
सन्तान प्राप्तिको पहिलो केस
२०५४ साल तिरको घटना हो, सन्तानको चाहना गर्दागर्दै सन्तान नभएका दम्पतीलाई आयुर्वेदको प्रविधि, ज्ञान र सीपको प्रयोगबाट सन्तान सुख दिन उहाँ सफल हुनुभयो । आयुर्वेद उपचार पद्धतिबाट सन्तान जन्माउन गरेको प्रयासको सफलता पहिलो थियो । महिलाको पाठेघरको नली बन्द थियो । सामन्य औषधिबाटै समस्या समाधान भएको डा.श्रेष्ठ सुनाउनुहुन्छ ।
उहाँले आयुर्वेद उपचार पद्धतिबाट १०० जनाभन्दा बढी दम्पतीलाई सन्तानसुख दिइसक्नुभएको छ । अहिले ५ दम्पती उहाँसँग उपचारमा छन् । २५ देखि ५० वर्ष उमेरसम्मका दम्पती उपचारका लागि पुग्ने गरेका छन् ।
आयुर्वेद उपचार पद्धतिबाट पनि सन्तान प्राप्ति गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई थाहा नहुँदा दम्पतीहरु आयुर्वेद उपचारमा नआउने गरेको श्रेष्ठको ठम्याइ छ ।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
उहाँको उपचारमा धेरै जसो बिरामी अन्तिम आशा बोकेर आउँछन् र यहाँबाट खुसी लिएर फर्कन्छन्। सृजना रसाइलीजस्ता धेरै दम्पतीहरू पनि यस्तै अनुभव बोकेर फर्किएका छन्। दुई वर्षसम्म सन्तानको प्रतिक्षामा भौतारिएपछि अन्ततः उहाँकै हातबाट सन्तान प्राप्त गर्न सफल सृजनाले आफ्नो छोरीको जन्मदिन मनाइरहेकी छिन्। आज उहाँकी छोरी ८ वर्षकी भइसकिन्।
सृजना रसाइली दम्पतीले इन्टरनेटमार्फत डा.सरिता बारे जानकारी पाएका थिए । नियमित महिनावारी नहुने समस्या सृजनाको थियो । उहाँले ४ वर्षसम्म परिवार नियोजनको अस्थायी साधन (चक्की) प्रयोग गर्नुभएको थियो । डा.सरिता सँग भेटेको ६ महिनासम्म सृजनाले औषधि खानुभयो ।
त्यतिबेला उहाँ २४ वर्षकी हुनुन्थ्यो । उपचार गर्दागर्दा थाकिसकेको अवस्थामा सृजनालाई डा.श्रेष्ठले आत्मविश्वास बढाउन सुझाउनुभयो।
डा.सरिता श्रेष्ठको उपचारले हजारौंको जीवनमा सन्तानको सुख मात्र दिएको छैन, आयुर्वेदको महत्त्व र यसको गहिराइलाई नयाँ नजरले बुझ्न पनि प्रेरित गरेको छ। सरल, कम खर्चिलो र सुरक्षित विधि मार्फत धेरै दम्पत्तिहरुको सपना पुरा गरेको छ।
डा.सरिता श्रेष्ठको उपचारले हजारौंको जीवनमा सन्तानको सुख मात्र दिएको छैन, आयुर्वेदको महत्त्व र यसको गहिराइलाई नयाँ नजरले बुझ्न पनि प्रेरित गरेको छ। सरल, कम खर्चिलो र सुरक्षित विधिमार्फत धेरै दम्पतीहरूको सपना पुरा गरेको छ।
आयुर्वेद उपचार खर्चिलो हुँदैन, बरु धेरै सरल र पहुँचयोग्य हुन्छ। सन्तान नहुँदा निराश भएका धेरै दम्पतीहरूलाई आयुर्वेदले सहज उपाय दिन सक्छ, जहाँ सामान्य जडीबुटी र औषधिले नै उपचार सम्भव छ। डा. सरिता श्रेष्ठ भन्नुहुन्छ, कसैको खुसी फिर्ता गर्न पाउँदा त्यो महसुस नै अनमोल हुन्छ।
दक्ष डाक्टर, नर्स, उपकरण नुहँदा नेपालमा आयुर्वेद उपचार पद्धतिमा शल्यक्रियाबाट उपचार गर्न सकिएको छैन । सोही पद्धतिबाट भारतमा भने उपचार भइरहेको डा. श्रेष्ठ बताउनुहुन्छ । नेपालमा पनि दक्ष टिम र आवश्यक स्रोत साधन भएमा गर्न सकिने श्रेष्ठले सुनाउनुभयो ।
कीर्तिपुरमा रहेको आयुर्वेद शिक्षण अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. काँजल झा सन्तान नभएका दम्पतीको उपचार आयुर्वेद चिकित्सा प्रणालीबाट भइरहेको बताउनहुन्छ । आयुर्वेद उपचारसम्म आइपुग्दा सन्तान नहुने समस्यबाट गुज्रेको १० - १२ वर्ष पुगिसकेको हुने उहाँ बताउनहुन्छ । सकेजति उपचार गरेर समाधान नभएपछि अन्तिममा आयुर्वेद उपचारमा आइपुग्ने गरेको उहाँको अनुभव छ ।
नेपालमा आयुर्वेदमा चिकित्सामा पनि स्त्री रोग विशेषज्ञ हुन्छन् भन्ने ज्ञान थिएन र आयुर्वेद उपचारबाट स्त्री सम्बन्धि रोगहरू निको हुन्छन् भन्ने पनि धेरैलाई थाहा थिएन, अहिले पनि कयौंलाई थाहै छैन । आधुनिक चिकित्सामा सन्तान नभएकाहरूको उपचार आइभिएफमार्फत हुने गरेको छ ।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
सन्तान नहुने कारण
भर्खरका किशोरीहरूमा महिनावारी गडबढी, रक्तश्राव हुने, ग्रन्थीमा सिस्टको संख्या बढ्दै जाने कारणले सन्तान हुन सक्दैन । कहिले कम रक्तश्राव हुने कहिले बढी हुने समस्या छ ।
कसै-कसै किशोरीहरू जुंगा आउने समस्या पनि देखिन्छ । विदेशमा गएर आएका पुरुषहरूमा शुक्रकिटको उत्पदान नै नहुने समस्या देखिएको छ । कराण उच्च तापक्रममा काम गर्नु रहेको छ ।
पुरुष र महिला दुबैमा सन्तान नहुने समस्या बढ्दो छ । ढिला विवाह, करिअरमा ध्यान दिने, आर्थिक स्वतन्त्रता हुन चाहँदा सन्तान नहुने समस्या बढिरहेको छ । नेपालमा झन् झन् सन्तान नहुने समस्या बढ्दो छ ।
आयुर्वेदकी आदर्श डा. श्रेष्ठ
साधारण परिवारमा २०१३ सालमा ललितपुरको पुल्चोकमा जन्मिनुभएकी डा.सरिता श्रेष्ठ आफ्नो सीप, ज्ञान र अटल आत्मविश्वासको बलमा समाजको सकारात्मक परिवर्तनको वाहक बन्नुभयो।
साधारण परिवारमा २०१३ सालमा ललितपुरको पुल्चोकमा जन्मिनुभएकी डा.सरिता श्रेष्ठ आफ्नो सीप, ज्ञान र अटल आत्मविश्वासको बलमा समाजको सकारात्मक परिवर्तनको वाहक बन्नुभयो। विद्यालय जीवनदेखि नै उहाँले आफ्नो व्यक्तित्वमा गहन परिपक्वता देखाउनुभयो।
उहाँको दिदि,बहिनी, दाजू भाई ४ जना हुनुन्छ । जागिरका शिलशिलामा वुवा काठमाडौं बाहिर जानपर्ने भएपछि भाई वहिनीको पढाइ, हेरचाहको जिम्मेवारी सरिता को काँधमा आयो । वुवा रेन्जर हुनुन्थ्यो ।
सरिता ले २०२८ सालमा एसएलसी पास गर्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले सरिता लाई एलएलसीपछिको पढाइ छात्रवृत्तिमा अगाडि बढाउनपर्ने थियो । त्यतिबेला आयुर्वेद शिक्षामा छात्रवृत्तिको व्यवस्था थियो । त्यसैले गर्दा पनि उहाँ आयुर्वेदतर्फ आकर्षित हुनुभयो ।
एलएलसी पढ्दै गर्दा केटी मान्छेले विज्ञान पढ्न सक्दैन भनेर पटक-पटक प्रिन्सिपलले सुनाइरहँदा सरितालाई खिन्न बनाउँथ्यो । केटीले पढ्न नसक्ने भनेर हेपेको भान उहाँलाई हुन्थ्यो । त्यतिबेला नै उहाँले जसरी पनि विज्ञान पढेरै छाड्ने संकल्प गर्नुभयो ।
स्कुले जीवन देखि नै आफ्नो सीप, व्यवहार र क्षमताका माध्यमबाट समाजमा सकारात्मक सोचाइ र जीवनशैलीमा परिवर्तन ल्याउने प्रयत्नमा लाग्नुभयो ।
आफ्नो सीप, व्यवहार, क्षमताबाट मानिसको सोचाइ र जीवनमा परिवर्तन ल्याउछु भनेर लाग्नुभयो । महिला कमजोर छैनन् भनेर कामबाटै प्रमाणित गर्दै जानुभयो ।
यही समर्पण र लगनशीलताले गर्दा उहाँ नेपालकै पहिलो आयुर्वेद स्त्रीरोग विशेषज्ञ बन्नुभयो। उहाँको असाधारण कामको मूल्यांकन गर्दै देश-विदेशका संघसंस्थाहरूले उहाँलाई सम्मान र प्रशंसा गरे। गोरखा दक्षिणबाहुजस्ता सम्मानले उहाँको जीवनमा चमक थप्यो।
यतिमात्रै होइन, संसारलाई फरक तरिकाबाट चिनाउन सफल भएको भन्दै डा.श्रेष्ठको जीवनकथा फिप्टी वुमेन फ्रम नेपाल नामक पुस्तकमा प्रकाशित भएको छ । २०७७ सालमा प्रकाशित उहाँको जीवनकथामा संसार हेर्ने नजर बदल्न गरिएको योगदानबारे उल्लेख गरिएको छ ।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
२०३० सालमा आइएस्सी पास गर्नुभयो । २०३४ सालमा नरदेवि आयुर्वेद कलेजमा भर्ना हुनुभयो । पुरानो शिक्षामा संस्कृत र नेपाली हुन्थ्यो। उहाँको पालासम्म आइपुग्दा शिक्षा प्रणाली फेरियो ।
उहाँका पालामा संस्कृत भाषासँगै अंग्रेजी र विज्ञान विषय पढ्नपर्ने भयो । उहाँ आयुर्वेद कलेजको पहिलो ब्याचको विद्यार्थी त्यो पनि एकजनामात्रै महिला विद्यार्थी हुनुभयो ।
अहिले ३९ जनाको सिटमा १९ जना महिला रहेको श्रेष्ठले सुनाउनुभयो । आयुर्वेद कलेजमा पहिलो महिला विद्यार्थी रहनुभएकी उहाँ एमबीबीएस गरेपछि एमडी गर्न भारत जानुभयो । स्त्री तथा रोग विषय अध्ययन गर्ने नेपालको पहिलो महिला हुनुन्थ्यो उहाँ ।
एमडी सकेपछि उहाँले नरदेवी आयुर्वेद कलेजमा ३ वर्ष पढाउनुभयो । अध्यापन र लोकसेवा परीक्षाको तयारी सँगसँगै थियो, लोकसेवा परीक्षामा पास हुनुभयो । त्यतिबेला काम गर्न जाने स्थान आफैंले छान्न पाइने भएकाले श्रेष्ठले सिंहदरबाट वैद्यखाना छान्नुभयो ।
वैद्यखानामा नयाँ-नयाँ औषधिहरू बनाउन पाइने, पढेको ज्ञानलाई थप परिस्कृत गर्न सकिन्छ भन्ने विश्वासले उहाँले सिंहदरबार वैद्यखानामा काम गर्ने रुची राख्नुभएको थियो तर सिट खाली नभएपछि अवसर पाउनुभएन ।
नरदेवीमा हाकिमी शैली व्यवहारबाट दिक्क हुनुपरेकाले वैद्यखानामा स्वतन्त्र रुपमा काम गर्न पाइन्छ की भन्ने उहाँलाई लागेको थियो ।
वैद्यखानामा नभएपछि पहिलो पोष्टिङ वि.स २०३४ सालमा फर्पिङमा रहेको अञ्चल औषधालयमा भएको थियो । जहाँबाट उहाँले आफ्नो सीप, क्षमता र ज्ञानलाई थप परिस्कृत गर्ने मौका पाउनुभयो र आयुर्वेद चिकित्साप्रतिको लगाव बढ्दै गयो ।
उहाँ आफूलाई आयुर्वेदको भक्त भन्न मन पराउनुहुन्छ, आयुर्वेदप्रति उहाँको छुट्टै झुकाव छ । सत्य र निष्ठालाई जीवनको शक्ति मान्ने श्रेष्ठ आयुर्वेदलाई आशीवार्दको रुपमा लिनुहुन्छ ।
उहाँको जागिरे यात्रा औषधालय हुँदै स्वास्थ्य सेवा विभाग(वैकल्पिक चिकित्सा) सम्म रह्यो । विभागमा हुँदा आयुर्वेद क्षेत्रको विकास र प्रवर्द्धनका लागि नीति तथा कार्यक्रममा डटेर लाग्नुभयो ।
विश्व स्वास्थ्य संगठनले आयुर्वेद विभागमा विभिन्न कार्यक्रमको सुरुवात गर्दै थियो । आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यक्रमदेखि वजेट ल्याउनसम्म खटिएपनि कार्यान्वयन गर्ने बेला नेतृत्वले कुनै सल्लाह सुझाव लिने नगरेको गुनासो उहाँ ।
कार्यक्रम सफल हुन नदिन चलखलको सुँइको उहाँले पाउनुभयो । डा. सरिता त्यसको विरोधमा उभिनुहुन्थ्यो । बजेट फ्रिज भओस् तर अनियमितता हुन नदिन भनेर उहाँ लागिपर्नुभयो ।
२०५६/५७ सालतिर डा.श्रेष्ठको नेतृत्वमा काठमाडौंको बुढानिलकण्ठमा हर्बल बगैंचा र पञ्चकर्म खोल्ने योजनाको खाका बन्यो तर उक्त कार्यक्रम कार्यन्वयनका लागि सहयोग भएन । आयुर्वेदमा छलाङ मार्नेगरी अगाडि बढाइएको उक्त कार्यक्रममा त्यतिबेलाका सचिवले आयुर्वेदले पनि करोडौंको काम गर्छ ? भनेर खिस्याउनुभएको घटनाले डा.श्रेष्ठको अहिले पनि मन दुखिरहेको छ ।
सरकारी सेवामा २१ वर्ष बिताउनुभयो । काम गर्ने वातावरण नै नमिलेपछि २०६० सालमा राजीनामा दिएर उहाँ अमेरिका जानुभयो । अमेरिकामा उहाँले नेपालको राष्ट्रिय चिकित्सा आयुर्वेदको महत्व र लाभको प्रचार गर्नुभयो । कयौंलाई आयुर्वेद चिकित्सा उपचार पद्धतिमार्फत उपचार गर्नुभयो ।
अमेरिकामा उहाँले नेपालको जडीबुटीहरूलाई औषधिको रूपमा प्रयोग गर्दै आयुर्वेदलाई अझै फराकिलो बनाउनुभयो । उहाँको प्रयासले नेपालका औषधीय सम्पदाहरू संसारभर फैलन थाले। नेपालले अझै पूरै गहिराइसम्म बुझ्न नसकेको आयुर्वेदको महत्त्वलाई अमेरिकाले अँगाल्यो । डा. सरिता श्रेष्ठको ज्ञानले यसलाई झनै उज्यालो बनायो।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
राज्यले आयुर्वेदको गहनतालाई अझै बुझ्न नसकेकोमा उहाँ खिन्न हुनुहुन्छ। आयुर्वेदलाई समाजमा स्थापित गर्न निरन्तर लागिपर्नु उहाँको संकल्प हो।
आयुर्वेद नै उहाँको जीवन हो। उहाँ बिरामीको उपचार र आयुर्वेदको शिक्षालाई बढाउनु आफ्नो ध्येय ठान्नुहुन्छ। तर, राज्यले आयुर्वेदको गहनतालाई अझै बुझ्न नसकेकोमा उहाँ खिन्न हुनुहुन्छ। आयुर्वेदलाई समाजमा स्थापित गर्न निरन्तर लागिपर्नु उहाँको संकल्प हो।
आयुर्वेदले डा.श्रेष्ठलाई विश्वभर चिनायो । अमेरिकामा उहाँलाई मदर अफ आयुर्वेद भनेर पनि चिनिन्छ । नेशनल आयुर्वेद मेडिकल एसोसिशयन आफ नर्थ अमेरिका नाम गरेको संस्थामा उहाँले अध्यापनको मौका पाउनुभयो ।
त्यहाँ आयुर्वेदतर्फ महिलाको उपचार पुरुष डाक्टरले मात्रै गर्ने गर्थे, महिला डाक्टर थिएनन् । १९९९ देखि २०१७ सम्म उहाँ प्रत्येक वर्ष अमेरिका जानुभयो । लगातार १७ वर्षसम्म हरेक वर्ष आयुर्वेद शिक्षा पढाउन र बिरामीको उपचार गर्न जानुभयो । अमेरिकामा उहाँका थुप्रै विद्यार्थी छन् । आधुनिक चिकित्साका एमडी डाक्टर, नर्स, योगा इन्सटक्टरहरू उहाँसँग आयुर्वेदबारे पढ्न आउने गर्थे ।
प्रत्येक वर्ष उहाँ कलेजमा ३ देखि ६ महिना पढाउन जानुहुन्थ्यो । उपचार गर्नका लागि उहाँलाई ६ महिनादेखि बिरामीहरू पालो कुरेर बस्दथे । आयुर्वेदमा अध्यापन र बिरामीको उपचार त छँदैछ, उहाँको विशेष दखल स्त्री तथा प्रसूति रोगमा छ । वर्षाैदेखि सन्तानका लागि भौतारिरहेका दम्पतीको समस्या समाधानमा डा. श्रेष्ठ चर्चित हुनुहुन्छ ।
अमेरिकाबाट फर्किएपछि उहाँले आयुर्वेद चिकित्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भक्तपुरको ग्रामीण भेगमा अस्पताल (देवी माँ )स्थापना गर्नुभयो । सो अस्पतालबाट १० जना दम्पतीलाई सन्तानसुख दिनुभयो । सरकारी संस्थामा सुत्केरी गराएमा सरकारले पोषण एवं बाटो खर्च दिने गरेको छ । तर श्रेष्ठलाई सरकारबाट केही सहयोग भएन । परिणमस्वरुप स्थापनाको ५ वर्षमा कोभिडकालमा अस्पताल बन्द गर्न बाध्य भएको दुखेसो श्रेष्ठले गर्नुभयो ।
आयुर्वेदमा अध्यापन र बिरामीको उपचार त छँदैछ, उहाँको विशेष दखलता स्त्री तथा प्रसूति रोगमा छ । वर्षाैसम्म सन्तानका लागि भौतारिरहेका दम्पतीको समस्या समाधानमा डा. श्रेष्ठ चर्चित हुनुन्छ ।
नेपालको आयुर्वेद क्षेत्रको विकास र प्रवर्द्धन योगदानमा बिर्सन नहुने नाम सरिता रहेको अडानका अध्यक्ष श्यामबाबु यादव बताउनुहुन्छ।
अवसर र हौसलाबाट टाढा राख्ने समाजसँग प्रतिवाद गर्दैै नेपाल र विदेशमा गरेको संघर्ष, प्रयासको मूल्यांकन गरेर संसारलाई फरक तरिकाबाट चिनाउन सफल भएको भन्दै डा.श्रेष्ठको जीवनकथा फिप्टी वुमेन फ्रम नेपाल नामक पुस्तकमा प्रकाशित भएको छ । २०७७ सालमा प्रकाशित उहाँको जीवनकथामा संसार हेर्ने नजर बदल्न गरिएको योगदानबारे उल्लेख गरिएको छ ।
अहिले जुन स्थानमा हुनुन्छ त्यसमा आफ्नो बिरामी र विद्यार्थीको देन रहेको उहाँ बताउनुहुन्छ । बिरामी र विद्यार्थी नै उहाँले जीवनमा कमाएको सम्पति ठान्नुुहुन्छ ।
बिरामीले गर्ने आदर, सत्कार, सद्भावले दिने खुसीलाई पैसाले किन्न सकिदैन । बिरामी र विद्यार्थीसँग बिताएका हरेक पल अमूल्य छन् ।पढ्दा गरेको दुखको लगानीको परिणामले आफू वर्तमान अवस्थमाा रहेको उहाँको बुझाइ छ ।
जीवनमा दुईवटा काम, बिरामी हेर्ने र अध्यापनमा उहाँको रुझान छ । यी दुवै काममा डुब्दा-डुब्दा आफू ७२ वर्ष भएको पत्तो उहाँले पाउनुभएन । अहिले पनि उहाँ बिरामीकै उपचारमा रमाइरहनुभएको छ ।
त्यो घटना जसले आयुर्वेदप्रतिको झुकाव बढायो....
४ दशकअघि जत्तिको घटना हो, एक महिला ठेलामा चियाको व्यापार गर्नुहुन्थ्यो । रड उछिटिएर योनीमा घाँउ भएको थियो । गरिबीले गर्दा उपचारका लागि धाउन पनि सक्नुभएन । घाउ जटिल अवस्थामा थियो । ती बिरामी महिला डा. सरिता कहाँ ठूलो आशले पुग्नुभएको थियो । त्यतिबेला डा. सरिता नरदेवी आयसर्वेद अस्पतालमा काम गर्नुहुन्थ्यो । महिलाको घाउको उपचारमा अस्पतालमा भएका सबै स्रोत साधनको प्रयोग गरियो, नीमको तेलले उपचार गरेपछि घाउँ पूर्णरुपमा निको भयोे ।
आयुर्वेदमा सही नेतृत्व र भिजनको अभाव
आयुर्वेदमा ज्ञानको भण्डार छ तर यो तथ्यलाई राज्यले बुझ्न नसकेकोमा उहाँ दु:खी हुनुहुन्छ । आयुर्वेदलाई फराकिलो बनाउन नेतृत्वसँग भिजन नै नभएको उहाँको आरोप छ । सही नेतृत्व र भिजनको अभावले आयुर्वेद पछाडि परेको उहाँको निष्कर्ष छ ।
आयुर्वेदको अध्ययन, अध्यापनलाई संरक्षण गर्न नसक्नुमा राज्यमात्रै नभई आयुर्वेद क्षेत्रकै व्यक्तिहरुको पनि कमजोरी रहेको उहाँको बुझाइ छ ।
आयुर्वेदको अध्ययन, अध्यापनलाई संरक्षण गर्न नसक्नुमा राज्यमात्रै नभई आयुर्वेद क्षेत्रकै व्यक्तिहरुको पनि कमजोरी रहेको उहाँको बुझाइ छ ।
♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦ ♦♦♦♦♦♦♦♦
आयुर्वेद औषधालयहरू धमाधम बन्द भइरहेका छन् । सिंहदरबार वैद्यखाना थला परेको छ । यसो भइरहँदा आयुर्वेदलाई सीमित दायरामा राख्ने नियोजित योजना त होइन भन्ने सोच्न बाध्य भएका छौ ।
आयुर्वेदलाई स्थापित गर्न लडाइमा आफू रहेको उहाँ बताउनुहुन्छ । यहाँकै जडबिुटी महँगोमा भारतमा बेचिन्छ र त्यही जडीबुटीबाट औषधि बनाएर महँगोमा किन्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
वैद्यखानाको स्थान विशिष्ठ थियो, त्यहाँ उत्पादित औषधि विदेशसम्म पुग्ने गर्दथ्यो । २०० थरीको औषधि उत्पादन हुने वैद्यखानामा अहिले १० वटामा मात्रै सीमित भएकोमा श्रेष्ठ पिरोलिनुहुन्छ ।
आयुर्वेदलाई नेपाल सरकारले पनि एक न एकदिन प्राथमिकतामा राख्नैपर्छ । विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई प्राथमिकतामा राख भनेपछि मात्रै नेपाल सोही अनुसार बढ्ने उहाँको बुझाइ छ ।
चीन विश्वको शक्तिकेन्द्र बनेर आयो र उसले आफ्नो प्राकृतिक औषधिलाई आत्मसात गर भनेको खण्डमा नेपालले आयुर्वेदलाई प्राथमिकतामा राख्छ, उहाँले भन्नुभयो, आफैंले बुझेर नभई अर्काको निर्देशनमा मात्रै आयुर्वेदलाई प्राथमिकतामा राख्ने अवस्था रहेको श्रेष्ठको बुझाइ छ ।
तपाईँको अभिमत