नेपालमा हैजाविरुद्ध खोपको परीक्षण, के छ फाइदा ?
पृष्ठभूमि
हैजा वा भिब्रियो कलेरा एक संक्रामक रोग हो। यो ‘भिब्रियो कलेरा जीवाणुका कारण लाग्ने गर्दछ।
यसका लक्षण मध्यमदेखि गम्भीरसम्म हुन्छन्। मुख्य लक्षण भनेको अत्याधिक पातलो, पानीजस्तो दिसा लाग्ने र वान्ता आउने हुन्छ। जसका कारण व्यक्तिको शरीरमा पानीको मात्रा कम हुन गई जलवियोजन हुन्छ। यसो अवस्थामा शरीरमा पानीको पूर्तिका लागि तत्काल उपचार आवश्यक हुन्छ।
समयमा उपचार गरेन भने यसले बिरामीको ज्यान लिन्छ। अनुसन्धानकर्ताका अनुसार विश्वभरि वर्षेनी १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुनसक्छ। हैजाका कारण वर्षेनी २१ हजारदेखि १ लाख ४३ हजार मानिसको मृत्यु हुने आकलन गरिएको छ।
वातावरण प्रदूषण, द्वन्द्व, जबरजस्ती भएका बसाइँ सराइ, कोभिड महामारीलगायतका कारणले आर्थिक तथा सामाजिकरुपमा अस्थीरता सिर्जना भई गत २ वर्षमा विश्वका २४ देशमा हैजा फैलिएको पाइएको छ।
यसरी हैजा फैलिएको देशमा यस्ता देशहरु पनि छन्–जहाँ यसअघि हैजाको खतरा नरहेको मानिन्थ्यो। यस कारण विश्व स्वास्थ्य संगठनले पछिल्लो समय हैजालाई इमर्जेन्सीमा राखेको छ।
हैजा नेपालसहित ४७ देशमा इन्डेमिक(स्थानीय महामारी) का रुपमा रहेको छ। हैजाविरुद्ध ‘ग्लोबल टास्क फोर्स’ ले सन २०३० सम्म हैजा अन्त्य गर्ने लक्ष्य लिएको छ।
नेपालमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तगा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले हैजाको प्रकोप रोक्नका लागि राष्ट्रिय तयारी तथा प्रतिक्रिया योजना '२०१७-२०२२' लागू गरेको छ।
जसमा हैजा रोकथामका लागि मुख्य रणनीतिमा पानी, सरसफाइ र स्वच्छता (WASH) योजनालाई समुदायमा लागू गर्ने र मुखबाट खाइने खोप Oral cholera vaccines (OCV) को प्रयोग गर्ने उल्लेख छ।
हैजा सरसफाइको कमी तथा पिउने पानी दूषित हुँदा लाग्ने गर्दछ। यसका कारण विकसित राष्ट्रमा यो यदाकदा मात्रै यो देखिन्छ।
यसबाट बच्ने मुख्य उपाय भनेको सफा पानी पिउनु र सरसफाइमा ध्यान दिनु हो। तर हाम्रो जस्तो विकासशिल राष्ट्रमा सबैका लागि सरसफाइ र सफा पिउने पानीको सुनिश्चितता गर्न कठिन छ। यो अर्थमा पनि हामीलाई हैजा रोकथामका लागि तत्कालको भरपर्दाे विकल्प भनेको खोप हो।
हाल संसारभर हैजाविरुद्धको जुन खोप उपलब्ध छ त्यसमा रहेका थुप्रै तत्वहरु अहिले आवश्यक देखिँदैन र यसको उत्पादन विधि पनि जटिल छ।
तसर्थ त्यसमा रहेका तर अहिले आवश्यक नठानिएका तत्व हटाएर नयाँ खोप युविकोल(Euvichol-s) उत्पादन गरिएको छ। यसलाई २ चरणमा सफल परीक्षण गरी तेस्रो चरणको खोप परीक्षण अनुसन्धान नेपालमा पनि गरिएको छ।
परीक्षणको उद्देश्य खोप सुरक्षित र प्रभावकारी छ भनेर पुष्टि गर्नुथियो। खोप खुवाएपछि अन्य कुनै असर हुन्छ वा हुँदैन भनेर हेर्नु थियो।
विधि
यस अध्ययनका लागि नेपालका चार भिन्न–भिन्न ठाउँमा अलग–अलग उमेर समूहका व्यक्तिमा खोपको प्रयोग गरिएको थियो।
पूर्वमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिममा नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज अध्ययनमा सामेल थिए।
त्यसैगरी काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पताल र काठमाडौँमा कान्ति बाल अस्पतालमा यो अध्ययन गरिएको थियो। यी अस्पतालहरुमा आउने सेवाग्राहीमध्येबाट इच्छुकलाई खोप खुवाएर अध्ययनमा सामेल गराइएको थियो। अनुसन्धान प्रयोजनका लागि खोप खाने व्यक्तिलाई अध्ययनमा सहभागी कर्मचारीहरुले सुरुमा यसबारे संक्षिप्त जानकारी दिइएको थियो।
१ वर्षदेखि ४० वर्षसम्मका इच्छुक स्वस्थ व्यक्तिलाई अध्ययनमा सामेल गराइएको हो।
अध्यनमा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजसहित अध्ययन स्थलमा आउनुपर्थ्यो। उनीहरुलाई अनुसन्धान कर्ता चिकित्सकले खोप र अध्ययनका बारेमा बारेमा पूर्ण जाकारी दिएका थिए। यो अध्ययन के हो ? कसररी सञ्चालन हुन्छ ? खोप के हो ? कसरी प्रयोग हुन्छ ? यसका सम्भाभित जोखिम के कस्ता छन् ? फाइदा के–के छन् ?भन्ने जानकारी दिइएको थियो।
अध्ययनमा सहभागी हुँदा पालना गर्नुपर्ने कर्तव्य र नचाहेमा जुनसुकै समयमा छाड्न सकिने पनि स्पष्ट पारिएको थियो। अध्ययनमा सहभागी तथा सहभागी बालबालिकाका अभिभावकलाई कुनै जिज्ञासा भएमा राख्ने मौका समेत दिइएको थियो। उल्लेखित जानकारी पनि अध्ययनमा सहभागी हुन मञ्जुरी हुनेलाई स्वास्थ्य परीक्षण गराएर खोप खुवाइएको थियो।
पहिलो दिनको यो काम पनि अर्को मात्रा कहिले खुवाउने ? कहिले अस्पताल आउने ? कसरी सम्पर्क गर्ने तथा के के कुरा टिपोट गरेर राख्ने भनेर जानकारी पनि दिइएको थियो।
यस अध्ययनमा सहभागी हुन योग्य भइसकेपछि उनीहरू मध्ये केहीलाई केही तत्व घटाएर तथा निस्जेत पारेर तयार पारिएको नयाँ खोप Euvichol-s र केहीलाई पहिले देखि नै प्रयोगमा रहेको खोप Shanchol दुई-दुई मात्रा खुवाइएको थियो।
१ देखि ४० वर्ष उमेरका २५२९ सहभागीमा अध्ययन गरिएको थियो। सहभागीहरूलाई १-५, ६-१७ र १८-४० वर्ष गरी ३ उमेर समूहमा बाँडिएको थियो। खोप प्राप्त गरेका आधारमा सहभागीहरुलाई ‘ए’ देखि ‘डी’ सम्म गरी ४ समूहमा विभाजति गरिएको थियो ।
जसमा ए, बी, सी समूहका सहभागीहरुलाई परिमार्जित खोप Euvichol-S को ३ फरक-फरक लटमा उत्पादन गरिएको खोप १.५ मिलि २ पटक दिइएको थियो । समूह 'डी' का सहभागीहरूलाई पूरानै खोप Shanchol पएका थिए ।
कुन खोप कसलाई दिइयो भन्ने जानकारी भने अनुसन्धानकर्ता चिकित्सक र अध्ययनमा सहभागीलाई समेत दिइएको थिएन । खोप दिने व्यक्तिमा मात्रै सीमित राखिएको थियो। अध्ययनमा सहभागीलाई भने निरन्तर सम्पर्कमा राखिएको थियो । सहभागीले कुनैपनि बेला अध्ययनमा सहभागी नहुने मनस्थिति आएमा छाडन् सक्ने सुविधा दिइएको थियो ।
३-३ पटक उनीहरूको रगतको नमुना लिएर उनीहरुको शरीरमा हैजाविरुद्ध लड्ने क्षमता कत्तिको विकास भएको छ भनी परीक्षण गरिएको हो । यसको परीक्षण कोरिया स्थित अन्तरास्ट्रिय भ्याक्सिन इन्स्टिच्युटमा गरिएको थियो र यसको नतिजा वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको थियो।
नतिजा
सन् २०२१ अक्टोबर ६ देखि सन् २०२२ जनावरी १९ सम्ममा भएको अध्ययनमा २५२९ स्वस्थ्य नेपाली सहभागी थिए । जसमा १२६१(४९.९ %) पुरुष र १२६८ (५०.१%) महिला थिए।समूह ए मा ३३०, बी मा ३३१, सी मा ९३४ थिए । समूह सीसम्मका १५९५ जनाले तीन फरक-फरक लटका Euvichol-S खोप लगाएका थिए ।
समूह डी का ९३४ जना ले पुरानै खोप Shanchol पाएका थिए । दोश्रो खोप पाएको दोश्रो हप्ता पश्चात, समस्टिगत रुपमा सम्पूर्ण उमेर समूहमा V.cholerae O1 Inaba र Ogawa बिरुद्ध Euvichol र Shanchol बीचको सेरो परिवर्तन दर को फरक –0.00 [95% CI: –1.86, 1.86] र –1.62 [95% CI: –4.80, 1.56] थियो।
२५२९ सहभागीमध्ये २४४ (९.७%) मा उपचार चाहिने प्रतिकूल समस्याहरु देखिएका थिए । यी सबैमा गरी ४०३ प्रकारका विभिन्न समस्या देखिएका थिए । Euvichol-S खाएका १५९५ मध्ये १५१(९.५) जनामा २४७ प्रकारका समस्या देखिएका थिए । Shanchol खाएका ९३४ मध्ये ९३(१०%) जनामा उपचार चाहिने प्रतिकूल समस्या देखिँदा १५६ प्रकारका समस्या देखिएका थिए ।
दुवै खोप प्रयोग गरेका सहभागीमा ज्वरो साझा समस्या थियो । Euvichol-S खोप खाने १५९५ मध्येबाट ५६ जना(३.५%) मा ५७ पटक ज्वरोका समस्या देखिए । Shanchol खाएका ९३४ मध्ये ३५ जना(३.७%) मा ३७ पटक ज्वरोको समस्या आयो । खोप कै कारण कसैको जीवन पुग्ने खालका घटना भएनन् ।
व्याख्या
Euvichol-s का दुई मात्रा खोप खाएको दुई हप्ता पश्चातको प्रभावको अवस्था Shanchol खोप पाएकाहरूको भन्दा कम थिएन। भन्नुको मतलब Shanchol खोप पाएकामा जत्तिकै Euvichol-s लिएकाको शरीरमा हैजाको जीवाणुविरुद्ध लड्ने क्षमता बनेको पाइयो।
अनुसन्धानको नतिजाअनुसार Euvichol-s हैजाविरुद्ध प्रयोगमा ल्याउन उपयुक्त देखियो । यो निर्माणको शुत्र Shanchol खोपको तुलनामा सरल रहेको र ३५ प्रतिशतसम्म लागत कम पर्ने अनुमान गरिएको छ। यसले गर्दा अहिले ओसिभी खोपको माग र आपूर्तिमा देखिएको खाडल कम गर्न सकिने अपेक्षा गरिएको छ ।
नेपाललाई हुने फाइदा
अझै नेपाल नेपाल हैजा महामारीको जोखिममा छ । नेपालले हैजा रोकथामका लागि लिएको रणनीतिमा (ओसीभी) खोपलाई प्राथमिकतामा राखेको छ।
अध्ययनमा प्रयोग भएको Euvichol खोपले विश्व स्वास्थ्य संगठनबाट योग्य(pre qualified) ठहरिएर उत्पादनका लागि अनुमति पाइसकेको छ । अहिले प्रयोग भइरहेको खोपको तुलनामा यसको लागत मूल्य कम हुने भएकाले खरिद गर्नु परेकै खण्डमा पनि कम मूल्यमा नेपालले पाउँछ ।
दातृ निकायले दिने सन्दर्भमा पनि लागत कम भएपछि बढी मात्रामा खोप प्राप्त गर्न सहज हुन्छ । यसका साथै यस प्रकारको अध्ययनले हाम्रो मुलुकमा अनुसन्धान, अन्वेषणका लागि मानव श्रोतका साथै अन्य स्रोत साधनको हकमा पनि क्षमताको पनि विकास भएको छ।
नेपालले अब चाल्नुपर्ने कदम
नेपालले तेश्रो चरणको खोप अनुसन्धानमा सहभागी भइसकेको छ । खोप सुरक्षितका साथै प्रभाकारी छ भनेर प्रमाणित समेत भइसकेको छ ।
यो अवस्थामा नेपाल सरकारले खोप विकास र अनुसन्धानमा सहभागी संस्थासँग यसअघि गरिएको सम्भौता बमोजिम खोप प्राप्ति लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ।
परोपकारी संस्थाहरुलाई पनि खरिद गर्न मूल्य कम पर्ने हुनाले उनीहरूलाई पनि खोपको जोहो गर्न र हाम्रो जस्तो मुलुकलाई हैजाको संक्रमणबाट बचाउन आग्रह गर्न सकिन्छ।
अहिले नेपालमा रहेको हैजाविरुद्धको खोपको मौजादलाई बढावा दिएर कुनैपनि समयमा हुन सक्ने हैजा संक्रमणको जोखिमबाट बच्न पूर्वतयारी गर्नु वुद्धिमत्तापूर्ण काम हुन्छ।
-अनुसन्धानर्कता डा.सन्तोष अधिकारी र डा. रामहरि चापागाईँ दुवै जना कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ हुनुहुन्छ। डा. रामहरि चापागाईँ नेपालको तर्फबाट यस अनुसन्धानको प्रमुख समेत हुनुहुन्छ।
तपाईँको अभिमत