'बादल वर्षा बिजुली डाक्टर कुटौँ मिलिजुली'
देशका विभिन्न स्थानमा डाक्टर एवं स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सकहरू आन्दोलित भएका छन् । असोज ७, ८ र ९ गते पोखराको मणिपाल शिक्षण अस्पताल, जिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टर, चितवन माडीमा बिरामीको उपचारको विषयलाई लिएर आफन्तहरूले अस्पतालमा गालीगलौज गरि चिकित्सकलाई हातपात गरेका थिए ।
केही समयअगाडि हेटौडाको सञ्चो अस्पतालमा कार्यरत २ जना डाक्टरलाई कुटपिट गरेका थिए । यसैगरी असोज २ गते राति कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेबमाथि कुटपिट भयो । केहीसमय यता चिकित्सक एवं स्वास्थयकर्मीमाथि कुटपिटको घटना बढिरहेको छ ।
माइतीघर मण्डलामा चिकित्सकहरू भौतिक सुरक्षाको माग गर्दैै सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले आक्रमणकारीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले 'बादल वर्षा बिजुली डाक्टर कुटौँ मिलिजुली', 'अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ', 'स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर' जस्ता नारासहितको प्ले कार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
यस्तै भक्तपुरमा पनि चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । यसैगरी पोखरामा चिकित्सकलाई पिटेको विरोधमा मणिपाल अस्पतालका आवासीय डाक्टरहरूले सबै सेवा बन्द गराएका छन् । चितवनमा पनि चिकित्सकहरू आन्दोलित भएका छन् । यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत