ललितपुरमा ५८० जनाको छाती परीक्षण गर्दा दुई जनामा भेटियो क्षयरोग
ललितपुरमा दुई जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १३ मा गैरसरकारी संस्था जन्त्रले गरेको टीबी स्क्रिनिङ कार्यक्रममा दुई जनामा क्षयरोग पुष्टि भएको हो ।
मंगलबार र बुधबार (असार ३१ र ३२) गरिएको सो अभियानमा ५८० जनाको छाती परीक्षण गरिएको थियो ।
छाती परीक्षण गरिएकामध्ये दुई जना पुरुषमा क्षयरोग भेटिएको हो । ९२ वर्षीय वृद्धमा मंगलबार क्षयरोग भेटिएको थियो । उहाँको खकारसमेत जाँच गर्दा क्षयरोग पुष्टि भएको जन्त्रका कार्यक्रम संयोजक डीएन शर्माले जानकारी दिनुभयो । त्यस्तै बुधबार स्क्रिनिङ गर्दा एक रिह्याब सेन्टरका ७६ वर्षीय वृद्धमा क्षयरोग भेटिएको हो ।
हाल दुवै जनालाई औषधिसमेत प्रदान गरिइसकिएको शर्माले जानकारी दिनुभयो ।
दुई दिनसम्म गरिएको स्क्रिनिङ कार्यक्रममा २४ जनाको खकार सङ्कलन गरिएको छ । एआई जडित एक्स–रे मेसिनबाट छातीको जाँच गर्दा शंकास्पद् लागेका व्यक्तिको खकार सङ्कलन गरिएको हो । तीमध्ये दुई जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै ११ जनामा क्षयरोग नभएको पुष्टि भइसकेको छ । बाँकी ११ जनाको भने खकार ल्याब परीक्षण गर्न बाँकी छ । बाँकी नमुनाको पनि बिहीबार वा शुक्रबारसम्ममा रिपोर्ट आइसक्ने शर्माले बताउनुभयो ।
गैरसरकारी संस्था जन्त्रले क्षयरोगको क्षेत्रमा स्क्रिनिङ तथा उपचारका लागि सरकारसँगको सहकार्यमा समुदाय स्तरमा यस्ता कार्यक्रम गर्दै आइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत