आयुर्वेद चिकित्सालयमा अल्जाईमर, पार्किन्सन, पक्षघात रोगको सघन उपचारको तयारी
आयुर्वेद चिकित्सालय नरदेवीमा अल्जाईमर ,पार्किसन्स,पक्षघात लगायत रोगको सघन उपचार गर्ने तयारी गरिएको छ ।
धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको अवसरमा चिकित्सालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले जेष्ठ नागरिकलाई लक्षित गर्दै जेरियाटिक केयर अन्तर्गतका अल्जाइमर, पार्किन्सन, पक्षाघात, स्पाइनल कर्ड इन्जुरी लगायत रोगहरुमा पञ्चकर्म, शिरोधारा, अकुपञ्चर, मनोसामाजिक परामर्श सहित गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
उहाँले अहिले पनि अल्जाइमर, डिमेन्सिया लगायतका बिरामीहरु परामर्शमा आइरहेको जानकारी दिनुभयो । साथै उहाँले आगामी वर्षमा ओपिडी बिरामीको संख्या १ लाख, भर्ना हुने बिरामीको संख्या १ हजार पुर्याउने लक्ष्य राखी काम अघि बढाइएको बताउनुभयो ।
चिकित्सालयको सेवा विस्तारका लागि जीर्ण अवस्थामा रहेको प्रशासनिक र आवासगृह भत्काएर चिकित्सालयको गुरुयोजना मुताविक नयाँ भवन २ को निर्माण गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जया सत्यालले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताउनुभयो ।
केही वर्ष अगाडिसम्म नरदेवी चिकित्सालयमा दैनिक रुपमा २०/२५ जना बिरामी उपचारको लागि आउने गरेकोमा हाल दैनिक १५० देखि २०० जनासम्म बिरामीहरु आउने गरेको उहाँले जानकारी दिनुभयो ।
ती मध्ये पनि सबैभन्दा बढी अकुपञ्चर सेवा लिने बिरामी रहेका छन् । हाल अकुपञ्चर उपचारको लागि दैनिक ३० जनासम्म बिरामीहरु चिकित्सालय पुग्ने गरेका छन् । क्षारसूत्र चिकित्सा सेवा, स्त्रीरोग तथा प्रसुति सेवाको विस्तार, पञ्चकर्म चिकित्सा सेवाको स्तरोन्नति गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
तपाईँको अभिमत