मंकीपक्सको जोखिम, विदेशबाट आएकाहरु २ हप्ता क्वारेन्टिन बस्नपर्नेु
मंकीपक्स संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुलाई कम्तिमा २ हप्ता क्वारेन्टिन बस्न अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यसकाे संक्रमणबाट जोगिन विदेशबाट आएकाहरुलाई क्वारेन्टिनका बस्न आग्रह गर्नुभयो । यद्यपी उहाँले मंकीपक्स कोभिड जस्तो नयाँ रोग नभएकाले त्रसित नहुन अनुरोध गर्नुभयो ।
मध्य तथा पश्चिमी अफ्रिकी देशहरुमा मात्र हुने गरेको यो संक्रमण हाल अफ्रिकीबाहेकका देशमा पनि देखिएको र सामान्यत प्रकोप नदेखिएका देशमा पनि संक्रमण देखिनु जनस्वास्थ्यका दृष्टिकोणले चिन्ताको विषय रहेको डा.अधिकारीको भनाइ छ ।
मंकीपक्स, भाइरबाट संक्रमित बाँदर, मुसा लगायत अन्य जनावर र संक्रमित व्यक्तिबाट अन्य मानिसमा सर्ने संक्रामक रोग हो । मंकीपक्स संक्रमण गराउने भाइरस छालामा भएका घाउँहरु, श्वासनली, आँखा, नाक वा मुखको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्छ ।
संक्रमित व्यक्तिमा ज्वरो आउने,टाउको ढाड र लिफुनोड सुन्निने मांशपेसी दुख्ने, ज्वरो सुरु भएको १ देखि ३ दिनपछि छालामा दाग देखिने, अनुहार, हत्केला पाइतालामा डाबर देखिने, डाबरहरु अत्यन्तै चिलाउने दुख्ने, डाबरहरु परिवर्तन हुने पाप्रा लागेर उक्किने जस्ता लक्षणहरु देखा पर्छन् । घाँउ १४ देखि २१ दिनसम्म रहने र सामान्यत आफैं हराउने गर्दछन् । धेरै मानिसहरु उपचार विना केही हप्तामा निको हुन्छन् ।
नवजात शिशु, बालबालिका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुमा मंकीपक्सको जोखिम धेरै हुन्छ । मंकीपक्सको सुनिश्चित उपचार नभएपनि यसको रोकथाम र संक्रमणबाट बच्न सुरक्षाका उपायहरु छन् । संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई आइसोलेनमा राख्ने,नियमित रुपमा साबुनपानीले हात धुने, मंकीपक्स संक्रमितले प्रयोग गरेका लुगा, ओछ्यान तातोपानीले धुने तथा सतह र स्थान निसंक्रमण गर्ने र फोहोरको उचित व्यवस्थापन गर्दा मंकीपक्सबाट जोगिन सकिन्छ ।
२०७९ जेठ ८ गतेसम्म १६ वटा देशमा २५० मानिसमा शंका या पुष्टि भएको छ । अमेरिका, क्यानडा, अष्ट्र्लिया इजरायल, वेलायत, स्पेन, पोर्चूगल, जर्मनी, बेल्जियम, फ्रान्स, दि नेदरल्याण्ड, इटाली, स्वीडेन लगायतका देशमा मंकीपक्स संक्रमणको पुष्टि भइसकेको छ । नेपालमा हालसम्म यसको संक्रमण देखिएको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत