सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आजबाट सुरु

सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आजबाट सुरु भएको छ । काठमाडौंमा आयोजित महासभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो ।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ सुरु भएको महासभाका मुख्य आयोजक तीन विदेशी संस्था रहेका छन् ।
मुख्य आयोजकमा अन्तर्राष्ट्रिय महर्षि आयुवेद फाउन्डेशन नेदरल्याण्ड, अल इन्डिया आयुर्वेद कांग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुणे रहेका छन् ।
नेपालबाट नेपाल महर्षि वैदिक फाउन्डेशन र नेपाल आयुर्वेद चिकित्सक संघ आयोजक रहेका छन् ।
महासभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अत्यावश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडि बढाउने पनि बताउनुभयो ।
‘राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ’ प्रचण्डले भन्नुभयो, ‘प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापना गर्ने नीति ल्याइने छ।’
गुणस्तरीय आयुर्वेद औषधि उत्पादनमा लागेको आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धनका लागि आयुर्वेद औषधिको अति आवश्यक जडिबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने प्रचण्डले बताउनुभयो ।
‘विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडिबुटी निर्यात गर्न सक्छ, तसर्थ जडिबुटी खेतीका लागि अनुदान व्यवस्था गरिनेछ’ उहाँले भन्नुभयो ।
स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टरहरु स्थापना गरिने प्रतिवद्धता उहाँले गर्नुभयो।
१०० शय्याको आयुर्वेद अस्पताल सातै प्रदेशमा संचालनमा ल्याइने नीतिगत निर्णय भएको पनि प्रचण्डले सुनाउनुभयो ।
भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन भारतको आयुष मन्त्रालयसँग सहकार्य गरिने उहाँले बताउनुभयो।
आइतबारसम्म चल्ने महासभामा युरोप, भारत र नेपालका गरी ३०० विज्ञको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।
तपाईँको अभिमत