सेवामा लागिरहँदा लाग्छ, मेरो मिर्गौला सुख्खा भए पनि तिम्रो रसिलो होस्
के हामीले दिनरात र आफन्त र आफ्ना काखे बालबालिका नभनी संक्रमितहरूमै समर्पित हुँदै गरेको सेवाको उपहार यहि हो ?
कोरोना भाइरससँग पैठेजोरी खेल्दै गरेकी म एउटी नर्स हुँ । अहिले म कोभिड आइसोलेसनमा पुगेकी छु । पेशागत दायित्व र वर्षौं लगाएर आर्जेको सीप तिलाञ्जली दिई कर्तव्य विमुख हुन पनि सकिन । मानवीय धर्म र कर्ममा डटेर आफ्नो जिम्मेवारीबाट पञ्छिन सक्दै सकिन ।
रोग र उपचार पद्धती फरक-फरक शैलीसँग साक्षात्कार गर्दै सेवामा खटिरहेकी छु । रोग र ऋण जो कोहीलाई पनि लाग्न सक्छ । कोरोना यस्तो रोग भइरहेको छ कि यो रोगको संक्रमण भएमा लुकेर बस्नुपर्ने बाध्यताको सृजना गरेको छ हाम्रो समाजले । छिछी र दुरदुर गरेर अपहेलित बनाइएको छ । यो पीडाबाट धेरै स्वास्थ्यकर्मीहरु गुज्रिरहेका छन् ।
सामाजिक अवहेलनामा परेको रोगको कुरै नगरौँ । घरमा दिदीबहिनी तिजमा दर खाँदै नाचिरहँदा कोरोनाले थलिएको एउटी स्वास्थ्यकर्मीको शरीरले घुम्न पाएन । कसैको आँसु झर्यो, कसैको मन दुख्यो मात्र यही रोगका कारण ।
मलाई कोरोना लाग्यो भनी भन्न नसकेका स्वास्थ्यकर्मीहरुको ओठमा हाँसो हरायो । बिरक्तिएर विरहका गीत र स्टाटस लेख्न भ्याए । मेरा बिरामी त अरुलाई सेवा गर्दैगर्दा संक्रमित भएका थिए अर्थात् मेरा आफ्नै सहकर्मीहरु थिए । सेवामा रहँदा भएको संक्रमण, समाज र घर त्रिकोणात्मक तनावमा अभ्यस्त थिएँ र त पोहोर साल मर्किदै नाचेको बारुले कम्मर, यो साल थला पर्यो ।
शिरैदेखि पाउसम्म छोप्दा हुने अट्टहास, न पानी पिउनु छ, न पिसाव फेर्न पाउनु छ । डबल मास्कबाट फिल्टर अक्सिजन शरीरलाई नपुगेर टाउको दुखी फुट्ला जस्तो हुने । तर पनि कर्तव्य विमुख नभई बिरामीको सेवामा लागिरहँदा लाग्छ, मेरो मिर्गौला पानी नपुगी सुख्खा भए पनि तिम्रो रसिलो होस् । मेरो फोक्सोमा अक्सिजनको कमी भए पनि तिमीलाई भेन्टिलेटर सहयोगसम्मका लागि म हर्दम तयार छु ।
मेरो पिसाबथैली फुट्लाजस्तो भए पनि तिमीलाई पाइप लगाई सजिलो बनाउन असिनपसिन हुँदै खटिरहेकी छु र खटिरहनेछु । फोन बज्दा पनि तिम्रो रिपोर्ट कोरोना पोजेटिभ आएको खबरको हो कि भन्ने सोच्दछु । तिम्रो रिपोर्ट नेगेटिभ आउँदा संसार जितेजस्तो हुन्छ र मेरो मन प्रफुल्लित हुन्छ ।
अरुबेला जस्तो मलाई तिम्रो नजिक आउन निषेध छ । तर पनि तिम्रो अवस्थाबारे तिमीले बुझ्ने गरि लेखेर राख्ने गर्छु र टाढैबाट सम्झाउने गर्छु । तिम्रो अमिलो मन, गलेको शरीर, दुखेको टाउको र टिठ लाग्दो अनुहार । एक हप्ता लगातार १२ घण्टे सिफ्ट सकिएपछि पनि संक्रमणको डरले म पनि मेरो काखे छोरा च्याप्न जान सकेकी छैन ।
म पनि क्वारेन्टिनमै बसिरहेकी छु । अहिले म जस्ता धेरै स्वास्थ्यकर्मीहरुको अवस्था यस्तै छ । एक हप्तामा मास्क विहीन हावा र सुख्खा मिर्गौला भिजाउँदै गर्दा सुन्छु- म बस्ने गरेको आवास घर समाजले घेर्यो । मन भुलाउन सोसल मिडिया हेर्ने गर्छु । डरले आक्रान्त मन अनि फ्रन्टलाइनको जागिर खोसिएको, तलब नदिएको, पिटिएको, घेरिएको पढ्दा मन झन् डराउँछ ।
के हामीले दिनरात र आफन्त र आफ्ना काखे बालबालिका नभनी संक्रमितहरूमै समर्पित हुँदै गरेको सेवाको उपहार यहि हो ? समाजका हामी सामाजिक प्राणी हौँ । त्यसपछि बल्ल पेशाकर्मी । यो सुनिरहँदा सेवामा तल्लीन हुनेहरूको हात काम्छ र हौसला गुम्छ । तर समाजले जति जे गरे पनि हामी सेवामा हाजीर छौँ र रहिरहने छौँ । तिमीले जति ढुंगा हाने पनि म फूल दिउँला ।
काठमाडौंको एउटा क्वारेन्टिनमा दिन बिताउँदै गर्दा पनि सोचिरहेकी छु- मिल्ने भए यो अवस्थामा पनि बिरामीहरूको मल्हम पट्टी गर्थें । आफ्नो पीसीआर गर्ने दिन नजिकिदै गर्दा के हुने र कसो हुने भनी शारीरिक र मानसिक पीडा बढेको छ । यसरी खटिरहँदा लाग्छ म मेरो देश र जनताको लागि खटिरहेछु र सदा खटिरहन पाऊँ । समाज तिमीले मलाई हानेको ढुंगा बटुलेर म अस्पताल बनाउँछु त्यो पनि, तिम्रै उपचार र सेवाको लागि ।
(लेखक शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत स्टाफ नर्स हुनुहुन्छ ।)
तपाईँको अभिमत