कोरोनाको महामारीमा सामाजिक व्यवहार प्रस्तुत गर्रौ, डिप्रेशनलाई कम गर्छ
मानिस किन आत्महत्या गर्न प्रेरित हुन्छ ?
काठमाडौं । कोभिड १९ को महामारीको अहिलेको अवस्था । अहिलेसम्म हामीलाई अझै यो महामारी कहिलेसम्म जान्छ र यसबाट कतिजना संक्रमित हुन्छन् भन्ने थाहा छैन । कोरोना संक्रमणका कारण हाम्रो जीवन के हुन्छ, हाम्रो पारिवारीक र सामाजिक अवस्था कस्तो हुन्छ र यसले कस्तो असर पार्छ भन्ने कसैलाई थाहा छैन ।
सुरु–सुरु लकडाउनको समयमा इटाली, अमेरिका,चीनमा फैलियो त्यतिबेलाको भन्दा अहिले तुलनात्मक रुपमा नेपालमा त्रास कम भएको भएपनि अझै बहुसंख्यक मानिसहरु यसको डर र त्रासमा बाँचिरहेका छन् । डर र त्रासको अवस्थामा आज एकातिर मनोसामाजिकका कुराहरु विश्व स्वास्थ्य संगठनसहित संयुक्त राष्ट्रसंघले पनि कोभिड १९ पछि मनोसामाजिक स्वास्थ्य अवस्थाका विषयमा चर्चा गरिरहेका छन् ।
अन्य देशहरुले मनोसामाजिक स्वास्थ्यका समस्यालाई कसरी सम्बोधन गरि अघि बढ्ने भन्ने सम्बन्धमा सचेतता अपनाइरहेको अवस्था पनि छ । अमेरिकामा त कोभिड १९ पछि मानसिक स्वास्थ्य संकटका सम्बन्धमा प्रतिवेदन नै सार्वजनिक भइसकेको छ । नेपालका दाजुभाइ दिदि बहिनीपनि एक किसिमको मनोसामाजिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको त्यसमा पनि पछिल्लो समय बिशेषगरि लकडाउनको समयमा आत्महत्याका घटनाका सम्बन्धमा हामीले अप्रिय समाचारहरु सुन्न परिरहेका छौ । त्यो बारेमा
हामी अहिलेनै सचेत हुन जरुरी छ किनभने विश्वभरी १५ देखि ४० वर्षका युवा युवतीहरुले नै आत्महत्या गरिरहेको पाइएको छ । आगामी दिनहरुमा मनोसामाजिक स्वास्थ्य, एन्जाइटी, डिप्रेशन लगायतका विभिन्न मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या बढ्न जाने देखिएको छ ।
नेपालमा पनि आत्महत्याको दर बढ्यो भन्ने जुन तथ्यहरु सार्वजनिक भइरहेका छन् त्यसमा लकडाउन अघिको कुरा गर्ने हो भने दिनमा १३ देखि १५ जनाले आत्महत्या गर्दथे तर अहिले यो बढेर दैनिक १७÷१८ पुगेको छ । लकडाउनका समयमा आत्महत्याको दर २० प्रतिशतले बढेको छ ।
विश्वमा प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् । लकडाउन अघिको कुरा गर्दा अमेरिकामा हेर्ने हो भने प्रत्येक ११ मिनेटमा एक र भारतमा प्रत्येक २ मिनेटमा एक जनाले आत्महत्या गर्ने तथ्यांक थियो । यस तथ्यांकलाई मध्यनजर गरेर विशेषगरि २० देखि ४० वर्ष उमेरसम्मका नेपालमा अझ क्वारेन्टाइनमा बसेका, आइसोलेसनमा बसेका, लकडाउनका कारण घरमा बसेको अवस्थामा मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर पुगेर आत्महत्या गरेको देखिन्छ ।
आत्महत्याको सोच आएपछि कसै कसैले त आत्महत्याको तयारी स्वरुप डोरी किन्न जान्छन्, विष किनेर राख्छन् ।
मानिस किन आत्महत्या गर्न प्रेरित हुन्छ ? वैज्ञानिक तथ्यलाई आधार मान्ने हो भने कोभिड १९ कारण आर्थिक समस्या भएर, सामाजिक समस्या भएर, अन्य विभिन्न बाधा अप्ठेरा झेल्न नसकेर आवेगमा आएर मानिसले आत्महत्या गर्ने गर्छन् । मनोविज्ञानमा के हुन्छ भने होपलेस अर्थात् नेगेटिभ मनोविज्ञान ।
यसको अर्थ जब मानिसमा जीवनमा बाँचेर सार्थकता छैन,म पृथ्वीको भार भइसके, म मरेर मेरो परिवारलाई राम्रो हुन्छ होला भन्ने जस्ता नकारात्मक सोच आउँछ तब आत्महत्याका घटना हुनथाल्छ । कसैकसैले यसलाई आफ्ना साथीभाई, परिवारलाई संकेत गरेका पनि हुन्छन् कि मलाई बाँच्ने रहर छैन भनेर । म बाच्नुको सार छैन भनेर ।
आत्महत्याको सोच आएपछि कसै कसैले त आत्महत्याको तयारी स्वरुप डोरी किन्न जान्छन्, विष किनेर राख्छन् । अझ युरोप र अमेरिकातिर त बन्दुकको सहायता लिने गरेको पनि देखिन्छ । त्यसैले विभिन्न कारणले हाम्रो मनोविज्ञानमा उत्पन्न भएका यस्ता नकारात्मक कुरालाई लिएर आवेमा आई साँच्चै नै मृत्यु नै अन्तिम विकल्प हो भन्ने सोच उत्पन्न हुन्छ । त्यसपछि एकान्तमा बस्ने, जहिले पनि नकारात्मक सोच्ने,म मरेपछि परिवारलाई राम्रो हुन्छ भन्ने जस्ता सोच राखी यस्तै यस्तै बानीव्यहोरा देखायो भने त्यो आत्महत्या गर्ने संकेत हो भनेर बुझ्नपर्छ । यो मनोविज्ञानमा आउने क्षणिक नकारात्मक सोच हो ।
यही क्षणिक नकारात्मक सोचको हावी हुँदा आवेगमा आएर मानिसहरुले आत्महत्या गर्छन् । त्यसैले क्वारेन्टाइन,आइसोलेसन वा घरमा रहेका जो कोहीले पनि यस्ता व्यवहारहरु देखाउन थाले भने हामीले सान्त्वना दिनुपर्छ । त्यस्ता व्यक्तिहरुलाई आफ्ना कुरा प्रकट गर्न दिनुपर्छ ।
अहिलेको कोरोना महामारीमा पनि आपसी सद्भाव,सहयोग गर्ने व्यवहारलाई कायम राखेर नआत्तिकन बस्न जरुरी छ ।
भुकम्प पश्चात नेपालमा मनोसामाजिक स्वास्थ्य समस्या बढ्नेछ, डिप्रेशन बढ्नेछ भने आँकलन गरिएको थियो तर आँकल गरेअनुसार भएन । नेपालीसँग रोगसँग लड्न सक्ने क्षमता बढी छ । हामीसँग सामाजिक व्यवहार छ, एक अर्कालाई सहयोग गर्ने संस्कार छ, त्यही संस्कारका कारण भुकम्पपछि जुन रुपमा मनोसामाजिक स्वास्थ्य समस्या बढ्छ भनिएको थियो अँह बढेन । अहिलेको कोरोना महामारीमा पनि आपसी सद्भाव,सहयोग गर्ने व्यवहारलाई कायम राखेर नआत्तिकन बस्न जरुरी छ ।
अहिलेको मुख्य कुरा भनेको रोगसँग लड्ने क्षमता बढाउन पर्छ । दैनिक दिनचर्यालाई सन्तुलित बनाइ अघि बढ्नपर्छ । दिनको ७–८ घण्टा सुत्नैपर्छ । निन्द्रा पुग्यो भने यसले हाम्रो रोगसँग लड्न सक्ने क्षमतालाई बढाँउछ । दैनिक योग, व्यायाम गर्नपर्छ, यसले हाम्रो शरीरमा नकारात्मक सोच विकास गर्ने हर्माेनलाई नास गर्दछ । खानपानलाई ध्यान दिनुपर्छ । यो रोग लागिहालेमा मरिहाल्छ भन्ने सोच राख्नै भएन । कोरोनाकै कुरा गर्ने हो भने नेपालमा ८० प्रतिशतलाई त लक्षण देखिएको छैन । लक्षण देखिहालेमा पनि निश्चित समयमा निको भइहाल्छ भन्ने अनुसन्धानले देखाइसकेको छ । आइसोलेसन भएर बस्नुपर्छ । आत्तिनुभएन, सावधानी अपनाउनुपर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई म के अनुरोध गर्दछु भने यही बेला हो आत्महत्या नियन्त्रणका लागि राणनीति बनाऊ । २४ सै घण्टा हटलाइनको व्यवस्था गरौ । आत्महत्याको सोच आइहालेमा फोन गरेर परामर्श दिने व्यवस्था गर्ने गरौ । क्वारेन्टाइन आइसोलेसनमा जनचेतना फैलाउ । सकारात्मक सोचको विकास गरौ,स्वस्थ जीवनको परिकल्पना गरौ ।
(मनोचिकित्सक प्रा.डा.सरोजप्रसाद ओझा,त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ । )
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार १० गतेको प्रेस ब्रिफिङका क्रममा व्यक्त गर्नुभएकोे धारणाको सम्पादित अंश।
तपाईँको अभिमत