'संक्रमित हुँदैमा किन परिचय लुकाउनु ? मैले के गरेको छु र ?'
कोरोना संक्रमण भएको भन्दै भाडामा बस्नेहरुलाई निष्कासन गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिलाई अपराध नै गरेको जसरी व्यवहार गर्ने....
गुल्मीको धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यसअघि कोही संक्रमितको सम्पर्कमा नरहनुभएका उहाँलाई संक्रमण कसरी भयो खुल्न सकेको छैन । बिनालक्षण संक्रमण देखिएकोले उहाँको अवस्था सामान्य छ । उहाँ अहिले गाउँपालिकाको आफ्नै कोठामा बसिरहनुभएको छ । आफ्नो अवस्था सामान्य रहेकाले आफ्नै कोठामा नै आइसोलेट भएर बस्ने उहाँले बताउनुभएको छ ।
समाजलाई कोरोनाबाट जोगाउने अभियानमा लाग्दा उहाँमा संक्रमण देखिएको छ । समाजले संक्रमितलाई हेर्ने नकारात्मक सोचको विकास गरिरहेको अवस्थामा आफैँले आफ्नो परिचयसहित सम्पूर्ण विवरण खुलाएर नकारात्मक दृष्टिकोणलाई चिर्ने अभियानमा लाग्ने अठोट उहाँले लिनुभएको छ । हेल्थपाटीका लागि तुलसा घिमिरेले गाउँपालिका अध्यक्ष पोखरेलसँग गर्नुभएको कुराकानी उहाँकै शब्दमा ।
मेरो मात्रै रिपोर्ट पोजेटिभ
छिमेकी गाउँपालिकामा संक्रमण देखिएका कारण जेठ १० गते धुर्काेट गाउँपालिका भित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानीय प्रहरीको आरडिटी टेस्ट गर्यौं । जसमा एकजनाको रिपोर्ट एन्टीबडी पोजेटिभ देखियो । त्यसपछि उहाँको र मेरो स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भैरहवा पठाइएकोमा मेरो रिपोर्ट पोजेटिभ आयो उहाँको नेगेटिभ।
यस्तै धुर्काेट गाउँपालिका वडा नम्वर ४ मा एकजनालाई संक्रमण पुष्टि भएको छ । भारतबाट आई पाञ्चायन माविको क्वारेन्टाइनमा बस्नुभएका उहाँ दीर्घ रोगी समेत हुनुहुन्छ । मेरो र उहाँको भेट भएको छैन । अर्थात् आफूलाई संक्रमण पुष्टि हुनुअगाडि म कोही संक्रमितको सम्पर्कमा रहेको थिइँन।
यसबीचमा म गाउँपालिका भन्दा बाहिर सदरमुकाम तम्घास मात्रै गएको छु । लकडाउन सुरुभएदेखि म क्वारेन्टाइन व्यवस्थापन, अनुगमनमा व्यस्त भएँ । जिल्लाको बैठकमा सहभागी भएको छु । मलाई कोरोना पुष्टि भएपछि मेरो सम्पर्कमा आएका गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कर्मचारीलगायत करिब ६० जनाजति क्वारेन्टाइनमा बसिसक्नुभएको छ ।
३ जना जिल्ला स्थित बैठकमा सहभागी हुँदा सम्पर्कमा आएका व्यक्तिहरु हुनुहुन्छ । मेरी श्रीमती र छोराको स्वाब संकलन गरी पठाइएको छ । म घरमा १०/१२ दिनदेखि नगएकाले बुवा आमाको स्वाब संकलन पछि गर्ने भनिएको छ ।
संक्रमितहरु लुकेर बस्नुपर्ने अवस्था छ
कोरोना संक्रमण भएको भन्दै भाडामा बस्नेहरुलाई निष्कासन गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिलाई अपराध नै गरेको जसरी व्यवहार गर्ने र संक्रमितहरु पनि समाजमा लुकेर बस्नुपर्ने अवस्था देखिरहेको छु । यसलाई चिर्न मैले आफ्नो परिचय खुलाएको हुँ । मैले आफूलाई कोरोना पोजेटिभ देखिएको थाहा पाएपछि सबैले जानकारी पाउनुपर्छ भनी विज्ञप्ति नै निकालेर आफ्नो अवस्थाबारे अवगत गराएँ । आफ्नो परिचय लुकाएर, फोटो नदेखाएर बस्नुपर्ने हामीले के गरेका छौँ र ?
मलाई कोरोना भयो भनेर पीर लागेको छैन
स्वास्थ्यकर्मीहरु कसैलाई बचाउन खोज्दा संक्रमित भएका छन्, सुरक्षाका लागि अहोरात्र खटिरहेका सुरक्षाकर्मीलाई संक्रमण भएको छ। आज म पनि संक्रमित भएँ । कोरोनाविरुद्धको अभियानमा खटिँदा, क्वारेन्टाइनको व्यवस्थापन गर्दा, अनुगमन गर्दैगर्दा म संक्रमित भएँ । कोरोनाबाट जोगाउनका लागि रातदिन नभनी खट्दा उनीहरुसहित संक्रमितको संख्या बढिरहेको छ । संक्रमण देखिएपछि गरिने फरक व्यवहारले उनीहरुलाइ निकै मानसिक तनाव हुने र झनै बिरामी बनाउन मद्दत पुगेको देखिन्छ।
नकारात्मक दृष्टिकोणले हेरिने गरेको छ भने संक्रमितहरु यही नकारात्मक सोच हाबी हुँदा संक्रमितहरु लुकेर बस्नपर्ने अवस्था छ । यसले झनै कमजोर बनाउँछ । संक्रमितहरुले परिचय लुकाएर होइन, फोटो नदेखाएर होइन, म संक्रमित छु, मेरो नजिक नआउनुहोस्, मसँग सामाजिक दूरी कायम राख्नुहोस् भन्ने कुरा अन्य व्यक्तिलाई थाहा हुन जरुरी छ ।
विवरण खुलाउँदा कन्ट्याक्ट ट्रेसिङलाई सहज
मेरो विचारमा परिचय र आफू कार्यरत संस्थाका बारेमा जानकारी गराउँदा कन्ट्याक्ट ट्रेसिङमा सहज हुन्छ । स्पष्ट विवरण सार्वजनिक हुँदा सरकारले खोजेर भन्दा पनि संक्रमितको सम्पर्कमा आएका व्यक्तिले थाहा पाएर आफैँ कन्ट्याक्ट ट्रेसिङमा आउछन् र कोरोना संक्रमण रोकथाममा टेवा पुग्छ जस्तो मलाई लाग्छ ।
मनोबल बढाउनुपर्छ
मलाई कोरोना भयो भनेर पीर लागेको छैन किनभने अब अहिलेको अवस्थालाई सामान्य रुपमा लिँदै आफ्नो व्यवहार परिवर्तन गर्नु आवश्यक छ । सावधानी अपनाएर भाइरसलाई शरीरमा प्रवेश गर्न नदिनेतर्फ लाग्नुपर्छ यसको अचुक उपाय भनेको सामाजिक दूरी कायम राख्नु हो । वृद्ध–वृद्धा तथा दीर्घरोगीलाई आइसोलेट गरी राख्नुहुन मेरो विशेष अनुरोध छ । खान, बस्न, शौचालयको छुट्टै व्यवस्था गर्नुपर्छ । मेरो आफ्नै कुरा गर्ने हो भने मेरो बुवा ७६ र आमा ७१ वर्षको हुनुहुन्छ । म यो २ महिनाको बीचमा घरमा १ पटक मात्रै गएकाले उहाँहरुलाई जोखिम छैन भन्ने विश्वासमा छु ।
चुनौती र अवसर
मसँग यो रोगसंग जितेर जाने चुनौती छ । यो चुनौतीको सामना गर्दै एकान्तबासमा थप अध्ययनका लागि गाउँपालिकाको कोठामै छु । मलाई अस्पताल आउँदा हुन्छ भनिरहनु भएको छु । ज्वरो आफैं नापिरहेको छु । मलाई कुनै लक्षण छैन । ब्लड प्रेसर नाप्नको लागि डिजिटल मेशिन हुँदोरहेछ मैले त्यो मेशिन मगाएको छु । म सामान्य अवस्थामा छु त्यसैले जहाँँ बसिरहेको छु, त्यही नै बस्नेछु । अर्थात कोरोना लाग्नेबित्तिकै आत्तिएर डाक्टर तथा स्वास्थ्यकर्मी समक्ष नपुगे कोरोना निको हुँदैन भन्ने जुन सोच छ त्यसलाई चिर्न म कोठामा नै आइसोलेट भएर बस्नेछु । स्वास्थ्यकर्मीद्वारा निर्देशित सावधानी अपनाउनेछु ।
म एकान्तबासको समय अध्ययनमा बिताउने योजना छ । संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले गर्नुपर्ने कामका विषयमा सोच्नेछु र योजना बनाउनेछु । निको भएर यहाँबाट निस्किएपछि गाउँपालिकालाई संक्रमणबाट जोगाउन खाका कोर्ने अवसर मिलेको छ । म लडाँइ जितेर जानेछु ।
धुर्काेटका क्वारेन्टाइन गुणस्तरीय
मापदण्डअनुसार क्वारेन्टाइनको व्यवस्था गर्न हामीसँग स्रोत र साधन छैन । हामीले क्वारेन्टाइन सम्बन्धी मापदण्ड कार्यविधि बनाएका छौँ । सोहीअनुसार क्वारेन्टाइनमा बस्ने आफैँले घरबाट कपडा, ओढ्ने ओछ्यान ल्याउने नियम बनाएका छौँ । सरसफाइमा उचित ध्यान दिएका छौँ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । हामीले आफ्नो स्रोत र साधन अनुसार गुणस्तरीय सेवा दिएका छौँ । अहिले धुर्काेटमा २०० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत