नर्सले कहिलेसम्म भोको पेट र नाङ्गो छातीले बिरामीको सेवा गर्नु पर्ने ?
नर्सिङ सेवालाई तेस्रो दर्जाको काम ठानिन्छ
कोरोनाको उपचारमा फ्रन्ट लाइनमा बसेर काम गर्ने भनेका प्रयोगशालाकर्मी र नर्स नै हुन्
डिसेम्बर २०१९ मा एउटा नयाँ जिवाणु, कोरोना भाइरस रोग (कोभिड- १९) चीनको वुहानमा पहिलो पटक देखियो । उक्त जिवाणु अहिले विश्वव्यापी रुपमा फैलिसकेको छ । त्यहि कोरोनाका कारण विश्वमा लाखौं मानिसले ज्यान गुमाइरहेका छन् । सयौं नर्स तथा स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमित भई निधन हुनपुग्यो । पछि उक्त जिवाणुका कारण विश्व स्वास्थ्य संगठनले विश्वभर महामारी घोषणा गर्यो । जनवरी २१, २०२० मा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको जिवाणु देखापर्यो ।
हालसम्म ५२ देशका २२ हजार ७३ जना नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसको जिवाणु देखिएको छ । नर्स, चिकित्सकलगायतका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिनुको मुख्य कारण भनेकै पीपीईको अभाव हुनु हो । हाल नेपालमा कुनैपनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नदेखिएपनि नेपाली स्वास्थ्यकर्मीहरु पनि कोरोना सर्नसक्ने प्रमुख केन्द्रविन्दुमा छन् । नर्सलाई कोरोना सर्न सक्दैन भनेर भन्न सक्ने स्थिति छैन ।
नर्सिङका लागि आठ देखि १० लाख र बिएसी (स्नातक) नर्सिङका लागि १२ देखि १४ लाख रुपियाँसम्म खर्च हुन्छ । तर रोजगारी सम्भावना र पारिश्रमिक हेर्दा कहालिलाग्दो छ
केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई आरडीटी पोजेटिभ देखिसकेको छ । स्वास्थ्यकर्मीलाई पीसीआरमा नेगेटिभ देखिन्छ भन्नसक्ने अवस्था छैन । नेपालका अस्पतालमा काम गर्ने वा गरिरहेका नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले पीपीई पाउन सकिरहेका छैनन् । उनीहरु अहिले ज्यानको बाजी लगाएर सेवामा डटिरहेका छन् । कोरोनाको उपचारमा फ्रन्ट लाइनमा बसेर काम गर्ने भनेका प्रयोगशालाकर्मी र नर्स नै हुन् । डाक्टरको भूमिका प्रयोगशालाकर्मी र नर्सभन्दा पछाडी आउने हुने गर्छ ।
यो स्थितिमा नेपालका नर्सहरुले कसरी काम गर्न सक्दछन ? यो जटिल र गम्भीर विषय हो । नेपालमा अझै पनि कतिपय अस्पतालहरुले नर्सलाई मासिक तीन, चार हजार रुपैयाँमा काम लगाइरहेको खबर बाहिर आएका छन् । त्यतिमात्र होइन, कतिपय अस्पतालहरुले त स्वयमसेवकको रुपमा पनि नर्सलाई काममा लगाइरहेका छन् । यो स्थितिमा नेपाली नर्सहरुले काम गरिरहनुपरेको छ ।
अहिले नर्सिङ सेवालाई तेस्रो दर्जाको काम ठानिन्छ भने तिनका लागि सेवा सुविधामा उपेक्षा गरिएको छ
नेपालमा विसं २०१३ सालमा पहिलोपटक नर्सिङ स्कुल स्थापना भएको हो । नर्सिङ सेवा सुरुवातको करिब ९० वर्षको इतिहासमा दुई दशकभन्दा बढी समय स्वास्थ्य परिचारिकाका रूपमा नर्सहरूले व्यापक चुनौतीहरू सामना गर्नुपरेको छ । नेपालमा पीसीएल (प्रमाणपत्र तह) नर्सिङका लागि आठ देखि १० लाख र बीएसी (स्नातक) नर्सिङका लागि १२ देखि १४ लाख रुपियाँसम्म खर्च हुन्छ । तर रोजगारी सम्भावना र पारिश्रमिक हेर्दा निकै दयनीय छ।
नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर व्यापक ‘श्रमशोषण’ गरिरहेका छन् । ‘स्टाफ नर्स’ भनेको निजामतीतर्फको सुब्बा सरहको जागिर हो । उनीहरूलाई मासिक छ हजार रुपियाँमा काम गराउँदा कस्तो सेवा आउँछ ? यसले जनताको स्वास्थ्यमा कस्तो असर पर्ला ? अहिले नर्सिङ सेवालाई तेस्रो दर्जाको काम ठानिन्छ भने तिनका लागि सेवा सुविधामा उपेक्षा गरिएको छ ।
अहिलेकै अवस्थामा नर्सहरु कोरोनाको उपचारमा खटिरहन सक्लान त ?
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन सरकारद्वारा निर्धारित ‘नर्स–बिरामी अनुपात’ सबै अस्पतालमा लागु गर्न, निजी अस्पतालमा काम गर्ने नर्सहरूको न्यूनतम तलब सरकारी कर्मचारीसरह हुनुपर्ने लगायतका सम्झौता नेपाल नर्सिङ सङ्घ र सरकारबीच भएपनि त्यो कार्यान्वयन गराउन खासै पहल भएको देखिँदैन । राजधानीका ठूला सरकारीदेखि नाम चलेका निजी अस्पतालमा कार्यरत नर्सहरूको कथा भयावह छ । च्याउसरी खुलेका नर्सिङ कलेज बेरोजगार जनशक्ति उत्पादन गर्ने केन्द्र बन्दै गएका छन् ।
नर्सिङ पढाइप्रति बढ्दो आकर्षणका कारण कलेजको संख्या बढे पनि त्यसको सही व्यवस्थापन हुन नसक्नु, योग्यताका आधारमा काम नपाउनु, सरकारी सेवामा पदपूर्ति र नयाँ दरबन्दी सिर्जना हुन नसक्नु, आकर्षक तलब नहुनुजस्ता कारण नर्सहरू आर्थिक तथा मानसिक रूपमा शोषणमा परिरहेका छन् । कतिपय संस्थाले आफैँले उत्पादन गरेका जनशक्तिलाई भोलेन्टियर बनाएर शोषण गरिरहेका छन् । विना तलब काम गर्न बाध्य नेपाली नर्सले कहिलेसम्म भोको पेट र नाङ्गो छातीले बिरामीको सेवा गर्नु पर्ने हो ? अहिलेकै अवस्थामा नर्सहरु कोरोनाको उपचारमा खटिरहन सक्लान त ? आज अन्तराष्ट्रिय नर्सिङ दिवस सम्पूर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा हार्दिक शुभकामना !
(लेखक काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस्मा बीएसी नर्सिङ र्चौथो बर्षमा अध्यनरत हुनुहुन्छ ।)
तपाईँको अभिमत